भारत सरकारले धान चामल निर्यातमा कोटा प्रणाली हटाएर थप २० प्रतिशत कर लाग्ने व्यवस्था गरेपछि वीरगञ्ज भन्सार कार्यालयबाट यसको आयात घटेको छ । मुलुकमा उत्पादित धानले चामलका माग धान्न नसकेपछि भारतलगायत मुलुकबाट आयात गर्नुपर्ने बाध्यता छ । धानचामल मुख्य रूपमा भारतबाट आयात हुने गरेको छ । भारतले चामल निर्यातमा कडाइ गर्नेबित्तिकै नेपालमा चामलको मूल्य बढ्ने गरेको छ । नेपालमा धानको खेतीको क्षेत्र घट्दै गइरहेको छ भने उत्पादन र उत्पादकत्व केही मात्रामा बढेको छ । यद्यपि सरकारले समयमा नै मल उपलब्ध गराउन नसक्दा त्यसको उत्पादकत्व प्रभावित हुने गरेको छ ।
अहिले युवाहरू वैदेशिक रोजगारीमा जान थालेसँगै पहाडका धेरै खेतमा घाँस उम्रिरहेका छन् । कतिपय खेत त जंगलमा परिणत भइसकेका छन् । तराईतिर पनि धानखेतीको क्षेत्र प्रभावित भएको छ । यस्तोमा सरकारले कृषि उत्पादनमा आत्मनिर्भरताको नारा ल्याए पनि व्यवहारत: आत्मनिर्भर हुन त्यति सजिलो देखिएको छैन । कृषिलाई व्यावसायिक बनाउन यन्त्र उपकरणहरूको प्रयोग व्यापक बनाउन आवश्यक छ ।
त्यस्तै खण्डीकरणका कारण ससानो टुक्रामा टुक्रिएका जग्गामा व्यावसायिक खेती गर्न कठिन देखिन्छ । सिँचाइको पर्याप्त सुविधा नहुँदा आकाशे पानीमा निर्भर हुनु परेको छ । राम्रो वर्षा भयो भने धान उत्पादन बढ्ने र धान उत्पादन बढेको वर्ष कुल गार्हस्थ्य उत्पादन पनि राम्रोसँग बढ्ने गरेको देखिन्छ । सरकारले सिँचाइको सुविधा पर्याप्त दिन सकेको भए धानको उत्पादन बढी हुन सक्थ्यो र धान आयात कम गरे पनि पुग्थ्यो । तर, धान आयातको परिमाण प्रत्येक वर्ष बढिरहेको छ ।
नेपालको सबै भूगोमा धानखेती भए पनि उत्पादकत्व भने समान छैन । लेकाली क्षेत्रमा धानको खेती नाममात्रको हुन्छ भने तराईमा प्रशस्त उत्पादन हुन्छ । नेपालमा केही दशकअघिसम्म धान चामल निर्यात कम्पनी भएको र ती कम्पनीले धान निर्यात गर्ने गरेको इतिहास छ । यही तथ्यलाई समातेर कसैकसैले नेपालमा कृषि बिग्रिएको र सरकार असफल भएको भनी विश्लेषण गरेको समेत पाइन्छ । तर, त्यति बेला धान निर्यात हुनुमा नेपाललाई बढी भएर होइन । त्यति बेला चामल किनेर खानुलाई लाजको विषय मानिन्थ्यो । चामल बेसाउनु परेर लुकेर किन्ने जमानासमेत थियो ।
त्यसको अर्थ आफ्नो धान उत्पादनले खान पुग्थ्यो भन्ने होइन । पहाड र उपत्यकामा ठूलो जनसंख्याले भात कम खान्थ्यो र मकै, गहुँ, कोदो, फापरलगायत विभिन्न अन्न खाने गथ्र्यो । पेटभरि चामल खानाका लागि चाडपर्व कुर्नुपर्ने अवस्था थियो । चामल किन्न पैसा पनि प्राय:सँग हुँदैनथ्यो भने किन्न पनि पाइँदैनथ्यो । तर, सरकारले अनुदान दिई चामल गाउँगाउँमा पुर्याउन थालेपछि मानिशहरू बिस्तारै अन्य खाद्यान्न खान छाडेको र खाना खानु भनेको भात खानु हो भन्ने बुझाइ बन्दै गएको देखिन्छ । यसलाई कतिपयले भाते संस्कृतिको नाम पनि
दिएका छन् । नेपालमा अहिले धानचामल आयात गर्नुपर्ने कारण भाते संस्कृतिको विस्तार नै हो भन्न सकिन्छ । त्यसैले अब भाते संस्कृतिमा परिवर्तन ल्याउनु जरुरी छ । गहुँ, मकै, फापर, आलुजस्ता खाद्यवस्तु खाँदा पाइने पोषणमा खासै फरक नभएकाले भातै खानुपर्छ भन्ने छैन । अहिले शहरी क्षेत्रमा मधुमेह रोगका कारण भात खाने प्रवृत्तिमा कमी आइरहेको छ ।
नेपालले खानामा कोदोको परिकार बढाउन प्रोत्साहन गर्नुपर्ने देखिन्छ । चामलको भाउ अत्यधिक बढ्दा विभिन्न देशले भात काम खान र त्यसको विकल्पमा स्थानीय रूपमा उपलब्ध अन्य खाद्य वस्तु खान प्रोत्साहित गरेका थिए । भारतको हरियाणा सरकारले चामल कम खाऊ र निर्यात गर भनेर समेत किसानलाई प्रोत्साहित गरेको थियो ।
नेपालको अर्थतन्त्रलाई बलियो बनाउन भातको विकल्पमा जहाँ जहाँ जेजे खाद्यबाली बढी हुन्छ ती ठाउँमा ती खाद्यबाली प्रयोग गर्न प्रोत्साहित गर्नुपर्ने देखिन्छ । त्यस्तै जौ, उवा, कोदो, आलु आदि खेती हुने उत्तरी भूभागमा यिनको खेती व्यापक विस्तार गरी तिनलाई दैनिक खाद्यवस्तुमा समावेश गर्न प्रोत्साहित गर्नुपर्छ । परिकार बनाएर पकाउन जाने यी खाद्यवस्तुबाट विभिन्न परिकार बन्छन् जुन नयाँ पुस्ताले पनि मन पराउँछन् । त्यसरी भाते संस्कृतिलाई कम गर्ने हो भने भारतले चामल रोक्यो भनेर चिन्ता लिनु पर्दैन । चामलमा आत्मनिर्भर नभए पनि अन्य खाद्यवस्तुको उपलब्धताले गर्दा खाद्य सुरक्षा सहज हुन जान्छ । त्यसैले खाना खाने बानीमा परिवर्तन ल्याउन पनि प्रोत्साहन गर्नुपर्ने देखिन्छ ।
जैविक विविधतामा धनी मुलुकमा कहिल्यै पनि खाद्य सुरक्षामा चुनौती नआउनुपर्ने हो । एकथोक नभए अर्को खेती हुन्छ । तरकारी पनि विविध किसिमका हुन्छन् । तिनलाई पकाइ खाने परम्परागत प्रविधि हस्तान्तरण हुन सकेको छैन भने नयाँ परिकार बनाउनेतर्फ पनि प्रोत्साहन र प्रयास छैन । त्यसैले धानचामल आयात गर्न पाइएन भन्ने होइन, आयात घटोस् र हाम्रो खाने बानीमा परिवर्तन आओस् भन्नेतिर ध्यान जानु आवश्यक छ ।