वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय, पर्सामा बसेको सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सदभाव कायम गर्न सहकार्यको निर्णय गरेको छ ।
मंगलवार बसेको बैठकले यस्तो निर्णय गरेको हो । उता जिल्ला प्रशासन कार्यालय बाराको पहलमा भएको सर्वदलीय बैठकले पनि यस्तै निर्णय गरेको छ ।
गत फागुन ३ गते रौतहटको इशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच भएको झडपको विरोधमा सोमवार वीरगञ्जमा विरोध जुलुश निकालिएको थियो । सो जुलुशको प्रतिकारमा अर्को पक्षले जुलुश निकालेपछि तनाव बढेको हो ।
तनाव नियन्त्रणमा लिन लगाइएको कर्फ्यूकै बीच वीरगञ्जमा सर्वपक्षीय बैठक बसेको हो । वीरगञ्जमा कर्फ्यूलाई निरन्तरता दिएको छ । मंगलवार बिहान ६ बजे खोलिएको कर्फ्यू १० बजेपछि पुनः लगाइएको हो ।
प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि स्थानीय प्रशासनले सोमबार साँझदेखि कर्फ्यू लगाएको थियो । सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राखेर कर्फ्यूलाई निरन्तरता दिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले सञ्चारकर्मीलाई बताएका छन् ।
वीरगञ्जको पूर्वमा नगवाचोक, पश्चिम तिलावेपुल, उत्तरमा परवानीपुर र दक्षिणमा नेपाल–भारत सिमानामा रहेको मितेरी पुलसम्मको क्षेत्रमा कर्फ्यू लगाइएको छ । कर्फ्यूका कारण उद्योग, व्यापारसँगै आम दैनिकी प्रभावित भएको छ ।
सो सीमाक्षेत्रमा आवतजावत, भेला, हिँडडुल, जुलुश प्रदर्शन, घेराउ, र्यालीलगायतका गतिविधिमा रोक लगाइएको छ । पर्सा प्रशासनले यसअघि विज्ञप्ति निकालेर धार्मिक, सांस्कृतिक र साम्प्रदायिक सद्भाव कायम राख्न आग्रह गरेको थियो । यस्तो सद्भावमा प्रतिकूल प्रभाव पर्ने कुनै पनि गतिविधि नगर्न पनि प्रशासनले सचेत गराएको छ ।