काठमाडौं । पूर्वी नवलपरासीमा रहेको धौवादी फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्पादन गर्न ५५ अर्ब रुपैयाँ लगानी चाहिने अध्ययनले देखाएको छ । निजीक्षेत्रको समेत २५ प्रतिशत शेयर लगानी हुने धौवादी फलाम कम्पनी लिमिटेडले हालै सम्पन्न गरेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनले खानीको फलाम उत्पादनका लागि ४ वर्षमा उक्त लगानी गर्नुपर्ने देखाएको हो ।
सरकारले वार्षिक बजेटमा धौवादी फलाम कम्पनीबाट व्यावसायिक उत्पादन गर्ने घोषणा गर्दै आएको छ । उक्त फलाम उत्खननका लागि थप अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउन भने अझै बाँकी रहेको धौवादी फलाम कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनकबहादुर चन्दले जानकारी दिए । उनका अनुसार उक्त खानी २०८४ को अन्तिमसम्ममा सञ्चालनमा आउनेछ । ‘विस्तृत सम्भाव्यता अध्ययनले आर्थिक र प्राविधिक रूपमै धौवादीको फलाम उत्खनन गर्न सकिने पुष्टि गरिसकेको छ,’ चन्दले भने, ‘अब उत्पादनका लागि काम गर्ने हो ।’
सम्भाव्यता अध्ययनले दैनिक १ हजार ५०० मेट्रिक टन फलाम निकाल्न सकिने देखाएको उनको भनाइ छ । उनका अनुसार सम्भाव्यता अध्ययनले उक्त खानीमा ९ करोड ६० लाख मेट्रिक टन कच्चा फलामको भण्डार रहेको देखाएको छ । नेपालले आयात गर्ने प्रमुख वस्तुमा पेट्रोलियम पदार्थपछि फलाम तथा फलामजन्य वस्तुपर्छ । ‘यसले नेपालको १० प्रतिशत आयात प्रतिस्थापन गर्नेछ । फलाम र फलामजन्य वस्तुको आयात आधा नै प्रतिस्थापन हुनेछ,’ चन्दले भने, ‘व्यावसायिक उत्पादनका लागि अनुमानित ५५ अर्ब रुपैयाँ लगानी आवश्यक हुनेछ । सरकारले यो लगानी ४ वर्षमा गरिसक्नुपर्छ । उत्पादन शुरू भएको ७ वर्षमा लगानी फिर्ता भइसक्छ ।’
उद्योगमा सरकारका विभिन्न निकायको शेयर लगानी छ । २५ प्रतिशत शेयर लगानी निजीक्षेत्रको हुनेछ । यो फलाम खानीका लागि लगानीकर्ता खोज्न कम्पनीले गत वैशाखमा सम्पन्न भएको तेस्रो लगानी सम्मेलनमा धौवादी फलाम खानीलाई प्रदर्शनीमा राखेको थियो ।
- उद्योगको तापबाटै ७० मेगावाट बिजुली उत्पादन
- दैनिक १ हजार ५०० मेट्रिक टन फलाम निकाल्न सकिने
- खानीमा कच्चा फलामको रिजर्भ ९ करोड ६० लाख मेट्रिक टन रहेको पुष्टि
- खानी सञ्चालन हुँदा २५ सयलाई प्रत्यक्ष र २० हजारलाई अप्रत्यक्ष रोजगारी
अब खानीको जोखिम मूल्यांकन र विश्लेषणका साथै डीपीआरको काम हुने उनको भनाइ छ । ‘यो खानी गेमचेन्जर हुनुका साथै खानी सञ्चालनमा आउँदा २५ सय जतिले प्रत्यक्ष र करीब २० हजारले अप्रत्यक्ष रोजगारी पाउने अनुमान छ,’ उनले भने । यसैगरी कम्पनीले खानी तथा भूगर्भ विभागमा उक्त खानी उत्खननको इजाजतपत्रका लागि प्रस्ताव पेश गरिसकेको छ । खानी सञ्चालनका लागि बिजुलीको २२० केभीएको प्रसारण लाइन निर्माणको प्रारम्भिक प्रक्रिया सम्पन्न गरिएको पनि उनले जानकारी दिए । सीईओ चन्दका अनुसार खानीमा प्रतिदिन ९६ मेगावाट बिजुली आवश्यक हुनेछ भने उत्पादनका क्रममा उद्योगबाटै सृजना हुने तापबाट ७० मेगावाट बिजुली उत्पादन हुनेछ ।
आर्थिक वर्ष २०६७/६८ मा उक्त खानीको अन्वेषण शुरू गरिएको थियो अन्वेषण क्रममा फलाम भण्डार १० करोड मेट्रिक टनको रहेको पुष्टि भएको थियो । यस्तै धौवादी फलाम कम्पनी लिमिटेडले आफू मातहतका वरिष्ठ भूगर्भविद्को संलग्नतामा गरेको अध्ययनले भने उक्त खानीमा १५ करोड मेट्रिक टनभन्दा बढी कच्चा फलाम रिजर्भ रहेको देखाएको थियो । पछिल्लो विस्तृत सम्भाव्यता अध्ययनले कच्चा फलाम रिजर्भ ९ करोड ६० लाख मेट्रिक टन रहेको पुष्टि गरेको छ ।