logo
धितोपत्र बोर्ड अध्यक्षका लागि छनोटमा परेका पाँच जनाले बिहीवार कार्ययोजना पेस गर्ने
धितोपत्र बोर्ड अध्यक्षका लागि छनोटमा परेका पाँच जनाले बिहीवार कार्ययोजना पेस गर्ने
२७ चैत्र २०८०

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि छनोटमा परेका पाँच जनाले आगामी बिहीवार कार्ययोजना पेस गर्ने भएका छन् । अध्यक्ष छनोटका लागि गठित सिफारिस समितिले बिहीवार कार्ययोजना पेस गर्न छनोटमा परेका पाँच जनालाई नै बोलाएको हो । 

बोर्ड अध्यक्षका लागि छनोटमा परेका पाँचजनामा बोर्डका कार्यकारी निर्देशकद्वय डा. नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ, नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की, साविक बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाई र सन्तोष श्रेष्ठ छन् ।

पाँच जना प्रतिस्पर्धीले पेस गरेको कार्ययोजनाका आधारमा सिफारिस समितिले मूल्याङ्कन गरी तीन जना छनोट गर्नेछ । समितिले सिफारिस गरेको तीन जनामध्येबाट मन्त्रिपरिषदको बैठकले एक जनालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गर्नेछ । बोर्ड अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ ।

सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ५ मा रहेको व्यवस्थाबमोजिम तयार गरेको कार्यविधिमा उम्मेदवारको मूल्याङ्कनसम्बन्धी अंकभार चार शीर्षकमा विभाजन गरिएको छ । व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंक गरी १०० अंकको मूल्याङ्कनसम्बन्धी अंकभार कायम गरिएको छ ।

३२ खर्बभन्दा बढी पूँजीकरण रहेको नेपालको धितोपत्र बजारलाई नियमन गर्ने प्रमुख निकायको रूपमा नेपाल धितोपत्र बोर्ड रहेको छ । देशको अर्थतन्त्रको ऐनाको रूपमा रहेको धितोपत्र बजारको नियमन गर्ने निकायमा नेतृत्व गर्ने व्यक्ति शैक्षिक तथा अनुभवका आधारमा समेत पोख्त हुनुपर्ने माग सरोकारवालाको छ । १९ जना आवेदकमध्येबाट छानिएर जाने एक जना आवेदक धितोपत्र बजारको नियमनका लागि योग्य व्यक्ति हुनेमा समेत सरोकारवाला आशावादी छन् । 

छोटो सूचीमा परेका आवेदकमा अधिकांश धितोपत्र बजारसँगै जोडिएका व्यक्तिहरू रहेकाले बजारको विकास र विस्तारका आवश्यक नीति तर्जुमा गर्न सक्ने व्यक्ति छानिनेमा सरोकारवाला विश्वस्त छन् । 

गत पुस २० गतेपछि रिक्त रहेको बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । अर्थमन्त्रालयका अर्थसचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला सदस्य रहेको उक्त समितिले बोर्ड अध्यक्ष नियुक्तिका लागि कार्यविधि नै तयार गरेर काम अघि बढाएको हो । 

गत फागुन १६ देखि ३० गतेसम्म आवेदन संकलन गरेको सिफारिस समितिले तोकिएको अवधिभित्र आवेदन दिएका १९ आवेदकमध्ये ५ जनाको नाम चैत २५ गतेको बैठकबाट छनोट गरेको थियो । नियामक निकाय लामो समय नेतृत्वविहीन अवस्थामा रहन नहुने मान्यताका साथ सिफारिस समितिले जतिसक्दो चाडो यो प्रक्रिया टुङ्ग्याउने अभिप्रायका साथ अघि बढेको बताएको छ ।
 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.