ध्यानको अर्थतन्त्र के हो ?
‘ध्यानको अर्थतन्त्र’ भनेको यस्तो आर्थिक मोडल हो जसमा मानिशहरूको ध्यान नै सबैभन्दा मूल्यवान् संसाधन मानिन्छ । यस अर्थतन्त्रमा कम्पनीहरू, मिडिया र सामाजिक सञ्जालले उपभोक्ताको ध्यान आकर्षित गर्न प्रतिस्पर्धा गर्छन् किनभने ध्यान नै राजस्व, प्रभाव र बजार नियन्त्रणको आधार हो । आजको समयमा हाम्रो ध्यान सबैभन्दा महत्त्वपूर्ण ‘करेन्सी’ बनेको छ । फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्मले हाम्रा आँखामा जति लामो समयसम्म आफूलाई राख्न सकिन्छ त्यति नै धेरै विज्ञापन देखाउन सक्छन् र राजस्व कमाउन सक्छन् । ध्यानको अर्थतन्त्रले हाम्रो समय र ध्यानको मूल्यांकन नगद जत्तिकै गरिरहेको छ ।
हामी सजग नहुन्जेलसम्म, हाम्रै ध्यानको प्रयोग गरेर हामीमाथि नै असर पार्ने सामग्री हाम्रै आँखासामु आइरहन्छ । हाम्रो ध्यान हामीले नियन्त्रण नगर्दासम्म अरूले त्यसबाट पैसा बनाइरहन्छन् ।
ध्यानको अर्थतन्त्रका प्रमुख विशेषता
ध्यानको अर्थतन्त्रका प्रमुख विशेषताहरूमा ध्यान नै प्रमुख मुद्रा बन्नु हो जहाँ ‘लाइक’, ‘शेयर’, ‘क्लिक’ र ‘भ्यू’ जस्ता क्रियाकलापले मूल्य निर्धारण गर्छन् । इन्टरनेटको विस्तारसँगै सूचनाको बाढी आएपछि ध्यान पाउन कठिन भएको छ जसले प्रतिस्पर्धा बढाएको छ । कम्पनीहरू, समाचार माध्यमहरू र विज्ञापनदाताहरू उपभोक्ताको ध्यान तान्न आपसमा होडबाजी गर्छन् । यस प्रक्रियामा सोसल मिडिया प्लेटफर्महरूले प्रयोगकर्तालाई धेरै समयसम्म बाँध्न डिजाइन र एल्गोरिदमको सहारा लिन्छन् । ध्यान खिच्न ‘क्लिकबेट’ शैलीका झूटा वा अतिशयोक्तिपूर्ण सामग्रीको प्रयोगसमेत व्यापक छ । विकल्पहरूको अत्यधिक उपस्थितिले गर्दा मानिशहरूको ध्यान केन्द्रित गर्ने क्षमता घट्दै गएको छ जसले एकाग्रताको अवधि छोट्याउँदै लगेको छ ।
ध्यानको अर्थतन्त्रसँग सम्बद्ध अध्ययन/अनुसन्धान तथा तिनका निष्कर्ष
आजको डिजिटल युगमा ध्यान सबैभन्दा महत्त्वपूर्ण सम्पत्ति बनेको छ जहाँ सामाजिक सञ्जाल र प्रविधि कम्पनीहरू हाम्रो ध्यान कब्जा गर्न होडबाजीमा छन् । स्ट्यान्फोर्ड विश्वविद्यालय, अमेरिका (२०१८) को अध्ययनले डिजिटल प्लेटफर्महरूले कसरी मानव मनोविज्ञानको प्रयोग गरेर मानिशहरूको ध्यान बेचिरहेका छन् भन्ने विषयमा प्रकाश पारेको छ । अध्ययनअनुसार फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जालहरूले डोपामिनलाई प्रभावित गर्ने खालका एल्गोरिदम प्रयोग गर्छन् जसले प्रयोगकर्तामा लतजस्तो व्यवहार उत्पन्न गर्छ । यसको प्रभावस्वरूप, एक साधारण व्यक्ति दिनमा औसत १५० पटकसम्म आफ्नो फोन अनलक गर्छ । यसले देखाउँछ कि मानिशहरूको ध्यान नै डिजिटल अर्थतन्त्रको व्यापारिक साधन बन्दै गएको छ ।
युनिभर्सिटी अफ क्यालिफोर्निया, स्यान डिएगो (२०२०) को एक अध्ययनले डिजिटल युगमा मानिशहरूको ध्यान केन्द्रित गर्ने क्षमता (एकाग्रता अवधि) मा आएको गिरावट देखाएको छ । ‘डिजिटल युगमा ध्यान क्षमताको ह्रास’ शीर्षकको यस अध्ययनअनुसार सन् २००० मा औसत एकाग्रता अवधि १२ सेकेन्ड थियो भने सन् २०२० सम्म आइपुग्दा त्यो घटेर ८ सेकेन्डमा झरेको छ जुन सुन माछाको ध्यान क्षमताभन्दा पनि कम हो । साथै, एउटै समयमा धेरै काम (बहुकार्य प्रणाली) गर्न खोज्दा मानिसको उत्पादकता झन्डै ४० प्रतिशतले घट्ने निष्कर्ष पनि दिइएको छ । यसबाट स्पष्ट हुन्छ कि अत्यधिक डिजिटल सूचना र विचलनले हाम्रो मानसिक क्षमतामा नकारात्मक असर पारिरहेको छ ।
- फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्रामजस्ता प्लेटफर्महरूले हाम्रा आँखामा जति लामो समयसम्म आफूलाई राख्न सकिन्छ त्यति नै धेरै विज्ञापन देखाउन सक्छन् र राजस्व कमाउन सक्छन् ।
- व्यक्तिगत पहिचान निर्माण र सशक्तीकरणमा, साना व्यवसाय र व्यक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गरी आफ्ना विचार, शीप र उत्पादनलाई चिनाउन सक्षम भएका छन् ।
- सामाजिक/सामुदायिक तहमा मोबाइल–फ्री कार्यक्रम, डिजिटल थकानबारे बहस, स्लो कन्टेन्ट मुभमेन्ट प्रवर्द्धनजस्ता पहलले सामूहिक सचेतना बढाउँछ ।
हार्वर्ड बिजनेश रिभ्यु (२०२१) ले ‘ध्यानलाई मौद्रिक बनाउन : सामाजिक मिडियाको व्यापार मोडेल’ शीर्षकमा गरेको अध्ययनमा केही रोचक निष्कर्षहरू प्रस्तुत गरिएको छ । यस अध्ययनका अनुसार, गुगल र मेटाजस्ता कम्पनीहरूले प्रत्येक व्यक्तिको ध्यानबाट प्रतिवर्ष अर्बौं डलर कमाउँछन् जसको प्रमुख स्रोत विज्ञापन र डेटा विक्री हो । यसैगरी, ‘क्लिकबेट’ शीर्षकहरूले पाठकको ध्यान ५ गुणा बढाउँछन् तर यसको प्रभाव भने सकारात्मक नहुनुका कारण सन्तुष्टि घटाउँछ । यसबाट प्रकट हुन्छ कि सोसल मिडिया प्लेटफर्महरूले मानिशहरूको ध्यानलाई व्यावसायिक लाभका रूपमा प्रयोग गर्दै छन् जसले दीर्घकालीन मानसिक स्वास्थ्य र प्रयोगकर्ताको सन्तुष्टिमा नकारात्मक असर पार्न सक्छ ।
यूरोपेली संघ (२०२२) द्वारा गरिएको अध्ययन ‘डिजिटल वेलबिइङ र ध्यानको अर्थतन्त्रको नियमन’ शीर्षकमा आधारित छ । यस अध्ययनका अनुसार, जीडिपीआरजस्ता कानूनहरूले डेटा सुरक्षा सुनिश्चित गर्न मद्दत गरेका छन्, तर ‘डिजाइन टु डिस्ट्र्ययक्ट’ (विचलन गराउने उद्देश्यले बनेका एप्स) जस्ता एप्लिकेशनहरूको नियन्त्रणमा अझै कमी रहेको छ । यसले डिजिटल माध्यममा मानिशहरूको ध्यानलाई आकर्षित गर्ने तरीका र यसको प्रभावलाई कम गर्न थप कदम चाल्नु आवश्यक बनाउँछ । अध्ययनले यो पनि देखाएको छ कि ७० प्रतिशत युवाहरू ‘डिजिटल डिटक्स’ (डिजिटल माध्यमबाट ब्रेक लिने) गर्न चाहन्छन्, तर उनीहरूको पुरानो आदतलाई छोड्न सक्ने अवस्था छैन । यसले ध्यानको अर्थतन्त्रमा मानिशहरूको मानसिक स्वास्थ्यमा परेको नकारात्मक प्रभावलाई स्पष्ट बनाउँछ ।
चाइना एकेडमी अफ साइन्स (२०२३) द्वारा गरिएको अध्ययन ‘टिकटकको एल्गोरिदम र जनरेशन–जेडमा मानसिक स्वास्थ्य’ शीर्षकमा आधारित छ । यस अध्ययनले टिकटकको ‘अनलिमिटेड स्क्रोल’ फिचरले मस्तिष्कमा ‘सेमी–हाइप्नोटिक’ अवस्था सृजना गर्छ, जसको परिणामस्वरूप मानिशहरूले समयको ध्यान गुमाउँछन् । यसले प्रयोगकर्तालाई लगातार स्क्रोल गर्दै राख्ने प्रवृत्तिलाई बढाउँछ, जसले उनीहरूको मानसिक स्वास्थ्यमा असर पुर्याउन सक्छ । यस अध्ययनले यो पनि देखाएको छ कि यस प्रकारको व्यवहारले ‘ध्यानाभाव र अति सक्रियता विकार’ जस्ता मानसिक समस्याहरूलाई बढाउँदै गरेको छ । यसले डिजिटल प्लेटफर्महरूको दीर्घकालीन प्रयोग र यसका प्रभावहरूका बारेमा चेतावनी दिन्छ ।
ध्यानको अर्थतन्त्रबाट पैसा कमाउने उपायहरू
ध्यानको अर्थतन्त्रबाट पैसा कमाउने व्यावहारिक उपायहरूमा विभिन्न डिजिटल प्लेटफर्म र सेवाहरू प्रयोग गरेर आफ्नो ध्यान आकर्षित गर्ने र त्यसका माध्यमबाट आम्दानी गर्न सकिन्छ । पहिलो उपायका रूपमा सामाजिक सञ्जाल मार्केटिङअन्तर्गत युट्युब, टिकटक, इन्स्टाग्राम र फेसबुकमा विज्ञापन, स्पोन्सरशिप र इन्फ्लुएन्सर मार्केटिङजस्ता गतिविधिहरूबाट पैसा कमाउन सकिन्छ । दोस्रो उपाय ब्लगिङ र एफिलिएट मार्केटिङमा आधारित छ जहाँ सीईओ अनुकूल लेख लेखेर गूगल एडसेन्स र एफिलिएट लिंकहरूबाट कमिशन प्राप्त गर्न सकिन्छ । थप रूपमा, ई–बुक र डिजिटल उत्पादनजस्ता उपाय, पोडकास्टिङ र भ्वाइस कन्टेन्टबाट पनि आय प्राप्त गर्न सम्भव छ ।
त्यसैगरी, फ्रीलान्सिङ र अनलाइन सेवाहरू, मोबाइल एप्सको विकास, डिजिटल कला र एनएफटी, वेबिनार र लाइभ सेल्सजस्ता अन्य उपायहरूसँग पनि ध्यानको अर्थतन्त्रबाट पैसा कमाउन सकिन्छ । यसमा डेटा बेच्ने, क्रिप्टो ट्रेडिङ र प्ले–टु–अर्न गेम्सको माध्यमबाट पनि आम्दानी गर्न सकिन्छ । यसरी, ध्यान आकर्षित गर्ने र त्यसलाई मुद्रीकरण गर्ने विविध उपाय छन् र ध्यान दिनुपर्ने कुरा भनेको निरन्तरता र गुणस्तरीय सामग्रीको महत्त्व हो । ‘अब बजारमा पैसा छैन, ध्यान छ । जसले ध्यान लिन्छ, उसले पैसा कमाउँछ ।’
ध्यानको अर्थतन्त्रको सैद्धान्तिक आधार
ध्यानको अर्थतन्त्रको सैद्धान्तिक आधारले हामीलाई बताउँछ कि मानवीय ध्यान एक दुर्लभ स्रोत हो र यसको आपूर्ति सीमित छ । अर्थशास्त्री हर्बर्ट ए. साइमन (१९७१) का अनुसार, ‘जानकारीले ध्यान खाइराख्छ । त्यसैले, जानकारीको अधिकताले ध्यानको अभाव सृजना गर्छ ।’ यस सिद्धान्तअनुसार, ध्यानको आपूर्ति सीमित र माग अत्यधिक छ जसले गर्दा कम्पनीहरू मानिशहरूको ध्यान आकर्षित गर्न प्रतिस्पर्धा गर्छन् । यसमा मुख्य चार सैद्धान्तिक आधार छन् : अभाव सिद्धान्त, डोपामाइन प्रणाली, जानकारीको अधिकता र एल्गोरिदमद्वारा अनुकूलन ।
अर्थतन्त्रका मोडेलहरू जस्तै एआईडीए मोडेल र ओओडीए लूप पनि ध्यानको अर्थतन्त्रमा महत्त्वपूर्ण छन् जहाँ पहिले ध्यान आकर्षित गर्नुपर्छ र त्यसपछि मात्र कारवाही गर्न सकिन्छ । यसमा, वेब ट्राफिकको अर्थतन्त्रमा ध्यानलाई ‘क्लिक’ मा रूपान्तरण गरेर आम्दानी गर्न खोजिन्छ । आलोचनात्मक दृष्टिकोणमा, ‘ध्यान शोषण’ र ‘डिजिटल दासता’ जस्ता अवधारणाहरूले सामाजिक सञ्जालका मानसिक प्रभाव र डेटा शोषणका पक्षलाई उजागर गर्छ । भविष्यमा, वेब३ र समय बैंकिङ जस्ता अवधारणाले ध्यानको स्वामित्व र मापनका नयाँ उपायहरू ल्याउन सक्छन् । यसरी, ध्यानको अर्थतन्त्र एक प्रकारको मनोविज्ञान र डेटा शोषणको मिश्रण हो जसले ‘यदि तपाईं नि:शुल्क सेवा लिइरहनु भएको छ भने, तपाईं उत्पादित हुँदै छन्,’ भन्ने विचारलाई प्रमाणित गर्छ । आजको डिजिटल युगमा, ध्यान सबैभन्दा शक्तिशाली मुद्रा बनिसकेको छ । ‘२१औं शताब्दीको युद्धभूमि मानिशहरूको मस्तिष्क हो र ध्यान नै प्रमुख हतियार हो ।’ युभनल नोआ हरारी, इतिहासकारले बताएका छन् ।
ध्यान अर्थतन्त्रको कार्यप्रणाली
ध्यान अर्थतन्त्रको कार्यप्रणाली सरल तर प्रभावशाली छ जसमा डिजिटल प्लेटफर्महरूले तपाईंको ध्यान कब्जा गर्न विभिन्न तरीका अपनाउँछन् । पहिलो, तपाईं फेसबुक, इन्स्टाग्राम, युट्युब वा टिकटकजस्ता नि:शुल्क सेवाहरू प्रयोग गर्नुहुन्छ तर तपाईंले तिर्नुभएको मूल्य तपाईंको समय र ध्यान हो । यी प्लेटफर्महरूले तपाईंको गतिविधि ट्र्याक गर्छन् र तपाईंलाई थप त्यस्तै सामग्री देखाउँछन् जसले तपाईंलाई रोक्न नसकिने बनाउँछ । दोस्रो, लक्षित विज्ञापन प्रणालीद्वारा, तपाईंले कुनै विशेष सामग्री हेरेपछि त्यही ब्रान्डका विज्ञापन अन्य प्लेटफर्महरूमा देखिन्छ । तेस्रो, नोटिफिकेसन र एल्गोरिदमको माध्यमले तपाईंलाई बारम्बार प्लेटफर्ममा फर्काउन ‘डोपामिन हिट’ जस्ता प्रतिक्रियाहरू उत्पन्न गरिन्छ । अन्तिममा, अनुशंसा प्रणालीको मद्दतले तपाईंलाई एउटै चक्रमा राखिन्छ जसले तपाईंको रूचि बढाउँछ र ध्यानलाई अझ बढी केन्द्रित बनाउँछ । यसरी, ध्यान अर्थतन्त्रमा तपाईंको ध्यान र डेटा सबैभन्दा मूल्यवान् संसाधन मानिन्छ र यसको प्रभावशाली प्रयोगले कम्पनीहरूको आम्दानी बढाउँछ ।
ध्यान अर्थतन्त्रका प्रभाव
ध्यान अर्थतन्त्रका सकारात्मक प्रभावहरू विभिन्न तहमा देखिन्छन् जसले व्यक्तिहरू, समाज र व्यवसायलाई नयाँ अवसरहरू सृजना गरेको छ । पहिलो प्रभाव भनेको सूचना र शिक्षाको सहज पहुँच हो जसले युट्युब, कोर्सेरा, खान एकेडेमीजस्ता प्लेटफर्महरूबाट नि:शुल्क वा सस्तो शिक्षासामग्री प्राप्त गर्न सहज बनाएको छ । दोस्रो, रोजगारी र आर्थिक अवसरको सृजना हो जसले सामग्री निर्माता, प्रभावक र डिजिटल प्रचारकजस्ता नयाँ पेशाहरूको विकास गरेको छ । यसले अपवर्क, फाइभरजस्ता स्वतन्त्र रोजगारी सञ्जालमार्फत विश्वव्यापी कामको पहुँच उपलब्ध गराएको छ ।
तेस्रो, नवीनता र प्रतिस्पर्धा बढाउने प्रक्रियाले उत्पादन र सेवाको गुणस्तर सुधार गरेको छ र कृत्रिम बुद्धिमत्ता, वैयक्तीकरण तथा अन्तरक्रियात्मक उपकरणहरूले उपभोक्ताको अनुभवलाई थप सहज र प्रभावकारी बनाएका छन् । चौथो, सामाजिक चेतना र एकताको माध्यमका रूपमा सामाजिक सञ्जालले विभिन्न विषयमा जनचेतना फैलाउन भूमिका खेलेको छ, जस्तै : वातावरण संरक्षण, स्वास्थ्य सचेतना र मानव अधिकारको क्षेत्रमा । त्यस्तै, ‘सामूहिक वित्तीय सहायता’ प्लेटफर्महरूले सामाजिक कार्यमा आर्थिक सहयोग जुटाउने माध्यम बनेका छन् ।
पाँचौं, व्यक्तिगत पहिचान निर्माण र सशक्तीकरणमा, साना व्यवसाय र व्यक्तिहरूले सामाजिक सञ्जाल प्रयोग गरी आफ्ना विचार, शीप र उत्पादनलाई चिनाउन सक्षम भएका छन् । लिङ्कडइन, ट्विटर जस्ता व्यावसायिक सञ्जालहरूले पेशागत सम्पर्क विस्तार गर्न सहयोग पुर्याएका छन् । अन्तत:, प्रविधिको विकास र नवप्रवर्तनतर्फ ध्यान केन्द्रित हुँदा कृत्रिम बुद्धिमत्ता, भर्चुअल यथार्थता, वृद्धित यथार्थता जस्ता प्रविधिको विकास तीव्र भएको छ । साथै, डेटा विश्लेषण प्रविधिबाट व्यवसायहरूले उपभोक्ताको आवश्यकता चाँडै बुझ्न थालेका छन् ।
ध्यान अर्थतन्त्रका नकारात्मक प्रभावहरू मानसिक, सामाजिक, आर्थिक, नैतिक र सांस्कृतिक पक्षमा गहिरो रूपमा देखिन्छन् । लगातार स्क्रिनमा ध्यान केन्द्रित गर्दा एकाग्रता कमजोर हुने, तनाव, आत्मसम्मानको कमी र डिजिटल थकानजस्ता मानसिक समस्या देखिन्छन् । सामाजिक सञ्जालको अत्यधिक प्रयोगले वास्तविक सम्बन्ध कमजोर बनाउँदै झूटा समाचार र ध्रुवीकरणलाई बढावा दिएको छ । आर्थिक रूपमा ध्यान बेच्ने ठूला प्रविधि कम्पनीहरूले एकाधिकार कायम गरेर उपभोक्ताबाट लाभ उठाइरहेका छन् जबकि साना सृजनाकर्ताहरू अस्थिर आयको जोखिममा छन् । साथै, प्रयोगकर्ताको व्यक्तिगत जानकारीको दुरुपयोग, भ्रम फैलाउने शीर्षक (क्लिक लोभ्याउने शैली) र नैतिक प्रश्नहरू पनि बढ्दा छन् । सांस्कृतिक रूपमा, छोटा र सतही सामग्रीले गहिरो सोच र सृजनशीलता घटाइरहेको छ, साथै स्थानीय भाषा र परम्परालाई ग्लोबल प्रवृत्तिले विस्थापित गर्ने खतरा पनि बढेको छ । यी सबै समस्या समाधान गर्न नीतिगत हस्तक्षेप, डिजिटल साक्षरता र व्यक्तिगत सचेतनता अत्यावश्यक छ ।
ध्यान अर्थतन्त्रका समस्या
ध्यान अर्थतन्त्रका समस्याहरू विभिन्न स्तरमा देखिन्छन् जसले मानसिक, सामाजिक, नैतिक र दीर्घकालीन असर पार्छ । पहिलो, मानसिक स्वास्थ्यमा नकारात्मक असर प्रमुख समस्या हो । ‘केही छुट्यो कि?’ भन्ने डर, निरन्तर स्क्रिन प्रयोगबाट हुने थकान, चिन्ता, आत्मग्लानि र निद्राको समस्याजस्ता लक्षणले मानिशहरूलाई प्रभावित पार्दै गएका छन् । दोस्रो, ध्यानको दोहन र सूचना अधिभार पनि चिन्ताजनक छ । डिजिटल प्लेटफर्महरू प्रयोगकर्ताको ध्यान बाँधिराख्न डोपामिन हुक र अन्तहीन स्क्रोलजस्ता प्रविधिको प्रयोग गर्छन् जसले निर्णय क्षमता कमजोर बनाउने र सतही सोचको विकास गराउने प्रवृत्तिलाई बढावा दिएको छ । तेस्रो, डेटा गोपनीयता उल्लंघन, बालबालिकामा दीर्घकालीन असर, सामाजिक सम्बन्धको खाडल, अतिवादी विचारको प्रचार र रचनात्मक क्षमतामा अवरोध ध्यान अर्थतन्त्रका थप गम्भीर समस्या हुन् । प्लेटफर्महरूले प्रयोगकर्ताको जानकारी संकलन गरी अनुमति बिना प्रयोग गर्ने, बालबालिकालाई सानै उमेरदेखि डिजिटल लतमा पार्ने, सामाजिक सम्बन्धमा दूरी ल्याउने, झूटो समाचार फैलाउने र गम्भीर चिन्तन क्षमतामा अवरोध ल्याउने काम गरिरहेका छन् । यी सबै समस्याले देखाउँछन् कि ध्यान अर्थतन्त्र केवल प्रविधिको विकास मात्र होइन, सोच, सम्बन्ध र समाजकै स्वरूपमा असर पार्ने चुनौती बनेको छ ।
ध्यान अर्थतन्त्रका समस्या समाधानका उपाय
ध्यान अर्थतन्त्रका समस्या समाधानका उपायहरूलाई प्रभावकारी बनाउन पाँच तहमा सचेत प्रयास गर्नुपर्छ । पहिलो, व्यक्तिगत तहमा स्क्रिन टाइम सीमित गर्ने, नोटिफिकेशन बन्द गर्ने, डिजिटल डिटक्स गर्ने, आवश्यक सामग्री मात्र हेर्ने र डिजिटल मिनिमलिज्म अपनाउनेजस्ता उपायले मानसिक सन्तुलन कायम राख्न सहयोग गर्छ । दोस्रो, पारिवारिक तहमा ‘डिजिटल हाइजीन’ संस्कार बसालेर मोबाइल प्रयोगको समय सीमित गर्नु, खाना खाने बेला मोबाइल प्रयोग नगर्ने र बच्चाहरूलाई बाहिरी क्रियाकलापमा संलग्न गराउने अभ्यासले सकारात्मक वातावरण सृजना गर्छ । तेस्रो, शैक्षिक तहमा डिजिटल साक्षरताको शिक्षा, सूचना विश्लेषण गर्ने सीप सिकाउने र विभिन्न अभ्यासमार्फत विद्यार्थीको ध्यान व्यवस्थापनमा सुधार ल्याउन सकिन्छ । चौथो, सामाजिक/सामुदायिक तहमा मोबाइल–फ्री कार्यक्रम, डिजिटल थकानबारे बहस, स्लो कन्टेन्ट मुभमेन्ट प्रवर्द्धनजस्ता पहलले सामूहिक सचेतना बढाउँछ । पाँचौ, नीतिगत तहमा टेक कम्पनीहरूलाई नैतिक डिजाइन र पारदर्शी एल्गोरिदममा बाध्य पार्ने, डेटा गोपनीयताको कडा नीति बनाउने र क्लिकबेट तथा अत्यधिक विज्ञापन नियमन गर्ने कानूनी संरचना आवश्यक छ ।
निष्कर्षमा, ध्यान अर्थतन्त्रले डिजिटल युगमा सूचना र प्रविधिको प्रयोगमा नयाँ परिप्रेक्ष्य प्रस्तुत गरेको छ । यसले व्यावसायिक अवसरहरूको सृजना गरेको छ भने अर्कोतर्फ मानसिक स्वास्थ्य र गोपनीयताजस्ता चुनौती पनि प्रस्तुत गरेको छ । यसलाई सन्तुलित र सचेत रूपमा व्यवस्थापन गर्न आवश्यक छ, ताकि यसको सकारात्मक पक्षहरूको फाइदा उठाउँदै नकारात्मक प्रभावहरूलाई न्यूनीकरण गर्न सकियोस् । यसका लागि व्यक्तिगत, सामाजिक र संस्थागत स्तरमा सचेतना र प्रयास आवश्यक छन् । ध्यान अर्थतन्त्र हाम्रो समय, सोच र ऊर्जा बेच्ने एउटा प्रणाली हो जुन हाम्रो सहमतिविना पनि सक्रिय छ । यो प्रवृत्ति रोक्न सकिँदैन तर यसप्रति सचेत र सन्तुलित व्यवहार गर्नु आवश्यक छ । यदि हामीले समयमै मानसिक, सामाजिक र वैचारिक क्षतिबाट आफैलाई जोगाउन सकिएन भने भविष्यको पुस्ताले भौतिक गरीबी होइन, भावनात्मक ध्यानसम्बन्धी गरीबी भोग्नुपर्नेछ ।
लेखक आन्तरिक राजस्व विभाग लाजिम्पाटमा शाखा अधिकृत छन् ।