काठमाडौं । लगातार दुई कारोबार दिन घटेपछि आइतवार नेप्से १३ दशमलव ५१ अंक बढेर बन्द भएको छ । यससँगै परिसूचक २ हजार ८३ दशमलव ०४ विन्दुमा पुगेको हो ।
आइतवारको बजारलाई हेर्दा विस्तारै नेप्से सम्हालिने प्रयासमा लागेको अनुमान गर्न सकिन्छ । यसअघि बजेट सार्वजनिक भएयता केही दिन बजार घटेको थियो ।
तर, अब विस्तारै करेक्सन चक्र पूरा भएको र बजारले पुनः गति लिन सक्ने लगानीकर्ता बताउँछन् । कारोबार रकम पनि केही बढेको छ । अब विस्तारै बजारमा लगानीकर्ता सक्रिय हुन थालेको देखियो ।
यद्यपि बजार घटबढ भइरहन्छ । लगानीकर्ताले लगानी गर्नुपूर्व बजारको अवस्था र कम्पनीको समग्र अवस्थालाई केलाएर लगानी गर्न जानकार बताउँछन् ।
यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ३९ प्रतिशत, फ्लोट इन्डेक्स शून्य दशमलव ८५ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ७३ प्रतिशत वृद्धि भएको छ ।
३२५ धितोपत्रको ९६ लाख ९७ हजार २०६ कित्ता शेयर ६५ हजार ६५४ पटकमा रू. ४ अर्ब ३१ करोड बराबरको कारोबार भएको छ । कारोबारमा आएका धितोपत्रमध्ये दुई धितोपत्रको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
मल्टीपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । मल्टीपर्पस फाइनान्सको शेयर मूल्य रू. ४९८ दशमलव ३० र मकर जितुमाया सुरी हाइड्रोपावरको रू. ४१० दशमलव ३० पुगेको छ ।
आइतवार सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकका शेयरधनीले ग्मुाएका छन् । यस कम्पनीको शेयर मूल्य ९ दशलमव १३ प्रतिशत घटेसँगै धेरै गुमाएका हुन । कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७७ कायम भएको छ । शेयर मूल्य सर्वाधिक घट्ने सूचीमा दोस्रोमा युनिलिभर नेपाल छ । कम्पनीको शेयर मूल्य ७ दशमलव ८८ प्रतिशत घटेर रू. ४३ हजार ६६३ मा झरेको हो ।
सर्वाधिक शेयर खरीदविक्रीको हिस्सा नेपाल फाइनान्स कम्पनीले ओगटेको छ । यस कम्पनीको रू. २२ करोड ६४ लाख बराबरको कारोबार भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५७७ कायम भएको छ । त्यस्तै शेयर सर्वाधिक खरीदविक्री हुने दोस्रोमा पोखरा फाइनान्सको रू. १८ करोड ७० लाख बराबरको भएको छ ।
कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये तीन समूहको सूचक घटेको छ भने बाँकी सबै समूहको सूचक बढेको छ । तीमध्ये व्यापार समूहको सूचक सबैभन्दा बढी ६ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ भने उत्पादन तथा प्रशोधन समूहको सबैभन्दा बढी सूचक २ दशमलव ४० प्रतिशत घटेको छ ।