काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले चैत १९ गते (आज) देखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँको आधारमा सोही बराबरको हकप्रद शेयर निष्कासन गरेको हो । शतप्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ कायम हुनेछ । कम्पनीको १ कित्ता शेयर हुने शेयरधनीहरूले एक कित्ता हकप्रद शेयर खरीद गर्न पाउने भएका हुन ।
हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । बुक क्लोजको अघिल्लो दिन महाशिवरात्रिको सार्वजनिक बिदा परेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरू मात्र यो हकप्रद शेयरमा आवेदन दिन योग्य भएका छन् । कम्पनीको हकप्रद शेयरमा २०८२ साल वैशाख ८ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।
विक्री प्रबन्धकसँगै लगानीकर्ताहरूले सानिमा बैंकको विराटनगर, वीरगन्ज, पोखरा, रूपन्देही, बाँके, सुर्खेत, धनगढी र लमजुङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीयसस्थासँगै मेरो शेयर मार्फत समेत आवेदन दिन सकिनेछ । हकप्रद निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्ने इक्रा एपी इस्यूअर बी प्लस रेटिङ्ग प्रदान गरेको छ ।