काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति दशैंअघि हुने सम्भावना न्यून रहेको सरकारी स्रोतहरूले बताएका छन् ।
बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिश समितिका संयोजक तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. शिवराज अधिकारी डेंगी संक्रमणका कारण हस्पिटल भर्ना भएसँगै असोज १८ गतेका लागि तय भएको अन्तरवार्ता अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।
अब दशैंलगत्तै पुन: सूचना जारी गरी अन्तरवार्ताको कार्य सम्पन्न गर्ने मन्त्रालय स्रोतले बतायो । गत असार १४ गतेदेखि रोकिएको बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया पुन: अघि बढेको बेला फेरि स्थगित भएको हो ।
यसअघि व्यावसायिक घरानाहरूको स्वार्थअनुरूप बोर्ड अध्यक्ष नियुक्त गर्न लागिएको आरोपबीच नियुक्ति प्रक्रिया विवादमा फसेको थियो ।
अघिल्लोपल्ट संक्षिप्त सूचीमा परेको पाँच जनामध्ये सन्तोष श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र अन्तरवार्तामा सहभागी भएका थिए । डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागार्इं पटक–पटक बोलाउँदा पनि अन्तरवार्तामा सहभागी भएका थिएनन् ।
जसले गर्दा अध्यक्ष नियुक्त गर्न बनेको अघिल्लो सिफारिश समितिको बैठकले असार १४ नियुक्ति प्रक्रिया रद्द गर्ने निर्णय गरेको थियो ।
तर, उक्त प्रक्रिया रद्द गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश र महान्यायाधिवक्ताको कार्यालयले पुरानो नियुक्ति प्रक्रिया ब्यूँताउन सकिने राय दिएपछि सरकार पुन: पुरानै नियुक्ति प्रक्रियाअनुसार अध्यक्ष नियुक्त गर्न अघि बढेको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दशैंअघि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया टुङ्ग्याउने तयारीमा थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार असोज १८ गते यसअघि गयल भएका आवेदकहरूलाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्तामा सहभागी गराई सिफारिश समितिबाट तीन जनाको नाम सिफारिश गर्ने र आगामी सोमवारको मन्त्रिपरिषद् बैठकबाट एक जनाको नाम टुंगो लगाउने तयारी भएको थियो ।
यसअघि गयल भएका बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्की असोज १८ गते अन्तरवार्ताका लागि बिहानै अर्थ मन्त्रालय पुगेका थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार यसअघि गयल भएका तीन जना आवेदकमध्ये चिरञ्जीवी चापागार्इं भने उपस्थित भएका थिएनन् ।
पुस २० गतेपछि रिक्त रहेको पूँजीबजारको नियामक निकाय बोर्ड अध्यक्ष पदका लागि गत फागुन १६ गतेदेखि ३० गतेसम्म आवेदन माग गर्दा १९ जनाको आवेदन प्राप्त भएको थियो । यीमध्ये संक्षिप्त सूचीमा परेका पाँच जनालाई अन्तिम छनोट प्रक्रियामा सहभागी गराउने पहल सिफारिश समितिले गरेको हो ।
संक्षिप्त सूचीमा छानिएका पाँच जना आवेदकमध्येबाट सिफारिश समितिले तीन जनाको नाम दोस्रो चरणमा छनोट गर्नेछ । सिफारिश समितिले गरेको सिफारिशका आधारमा मन्त्रिपरिषद् बैठकले एक जनालाई बोर्ड अध्यक्ष नियुक्त गर्छ । करीब ९ महीनादेखि रिक्त बोर्डमा नेतृत्वदायी भूमिका यति बेला अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालकले निर्वाह गर्दै आएका छन् । गत चैतमा धितोपत्र ऐन संशोधन भएपछिको नयाँ व्यवस्थाअनुसार अर्थ मन्त्रालयबाट बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने अर्थ मन्त्रालयका सहसचिवले नै बोर्ड अध्यक्षको जिम्मेवारी पाएका हुन् । बोर्डमा अध्यक्ष पद रिक्त भएसँगै अर्थ मन्त्रालयका प्रतिनिधि तीनपटक फेरिइसकेका छन् । बोर्ड अध्यक्ष नियुक्त नहुँदा शेयरको सार्वजनिक निष्कासन अनुमति प्रक्रिया धेरै हदसम्म अवरुद्ध भएको छ ।