काठमाडौं । सिईडिबि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरियन्टल होटल्सले प्रस्ताव गरेको यस वर्षको लाभांश असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र प्राप्त गर्नेछन् । यी दुई कम्पनीहरूले प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आह्ववान गरिसकेका छन् ।
साधारण सभा प्रयोजनका लागि सिईडिबि हाइड्रोपावरले असोज ७ गते एक दिन र ओरियन्टल होटल्स्ले असोज ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्न लागेकाले असोज ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।
सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले यस वर्ष ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बोनस शेयर मात्र प्रस्ताव गरेको कम्पनीले करबापत्को रकम कम्पनीले नै तिर्ने जानकारी दिएको छ । बोनसपछि ५४ दशमलव ५ प्रतिशत हकप्रद शेयर विक्री गर्ने प्रस्तावसमेत कम्पनीले गरेको छ ।
कम्पनीले अघिल्ला दुई आर्थिक वर्ष ०७९/८० र ०८०/८१ को लागि करबाहेक ११ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले काठमाडौंको कालीमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा असोज २१ गते बिहान १० बजे वार्षिक साधारण सभा गर्ने तयारी गरेको छ ।
त्यस्तै ओरियण्टल होटल्स् लिमिटेडले गत आर्थिक वर्ष ०८०/८१ को मुनाफाबाट कुल ५ दशमलव २६ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यी प्रस्ताव कम्पनीले असोज २० गते गर्न लागेको वार्षिक साधारण सभामार्फत पारित गर्ने तयारी गरेको छ ।
सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बिहान ११ बजे शुरु हुनेछ ।