काठमाडौं । सरकारले जग्गा अधिग्रहण, वन तथा वातावरणीय अनुमतिमा सहजीकरणजस्ता उपायबाट निर्माणस्थलमा काम गर्ने वातावरण बनाउन नसकेका बेला प्राथमिकता प्राप्त आयोजनामा दुई कार्य समय (दुई सिफ्ट) मा काम गराउने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमार्फत यस्तो घोषणा गरिएको हो । निर्माण व्यवसायी र सरोकारवाला भने बजेटमा घोषणा गर्नुभन्दा काम गर्ने वातावरण बनाउनु जरूरी रहेको बताउँछन् ।
उनीहरूका अनुसार समयमै भुक्तानी नहुनु, निर्माणस्थल क्लियर नहुँदै ठेक्का लगाउने चलन आदि कारण सानाठूला दुवै परियोजना तोकिएको समयमा सम्पन्न नहुने स्थिति छ । यी समस्या समाधान भए सरकारले बजेटमा उल्लेख नगरे पनि सम्बद्ध कार्यालयले आफै निर्माण व्यवसायीलाई दुई सिफ्टमा काम गराउन सक्ने उनीहरूको तर्क छ ।
बजेटमा घोषणा अहिले भए पनि कतिपय आयोजनामा दुई कार्यसमयमै काम भइरहेको छ । यसको एउटा उदाहरण नागढुंगा शुरूङमार्ग पनि हो ।
सडक विभागका महानिर्देशक सुशीलबाबु ढकालले दुई सिफ्टमा काम गर्न आवश्यक परे गर्न सकिने र अहिले पनि कतिपय स्थानमा यसरी नै काम भइरहेको बताए । राष्ट्रिय राजमार्गमा प्राय:जसो दिउँसोमै काम हुन्छ । सुरक्षाको दृष्टिकोणले पनि दिउँसो काम गरिँदै आएको उनले बताए । ‘काठमाडौं उपत्यकामा दिउँसोमा बढी ट्राफिक हुने भएकाले रातिमा काम गरिँदै आएको छ,’ ढकालले भने । हाल निर्माण व्यवसायीले दुई सिफ्टमा काम गर्नैपर्छ भन्ने छैन । ‘ठेक्का सम्झौतामै दुई सिफ्टमा काम गर्नुपर्ने उल्लेख नभएकाले दुईपक्षीय समझदारीमै काम गर्नुपर्ने हुन्छ,’ उनले भने । निर्माण व्यवसायीका अनुसार विभिन्न प्राथमिकताप्राप्त आयोजनामा अहिले पनि १२ देखि १६ घण्टासम्म काम भइरहेको छ ।
चालू ठेक्कामा पनि दुई सिफ्टमा काम गराउन प्रयत्न गर्छौं : सडक विभाग
‘सरकारले समयमै भुक्तानी नदिने, गिट्टी–बालुवाजस्ता निर्माण सामग्री नपाइने, असारदेखि बालुवा–गिट्टी निकाल्नै बन्द गरिनेलगायत कारण एक सिफ्टमै काम गर्न गाह्रो भइरहेको छ,’ शर्मा एन्ड कम्पनीका रमेश शर्माले आर्थिक अभियानसँग भने । आयोजनास्थलमा जग्गा अधिग्रहण तथा मुआब्जाको समस्या नसल्टेको स्थितिमा दुई सिफ्टमा गर्ने भन्दैमा काम नहुने उनको भनाइ छ । ‘समयमै बाटोका रूख र बिजुलीको पोल हटाउने काम भएन भने के गर्ने ?’ उनले प्रश्न गरे ।
सरोकारवालाका अनुसार ८/१० घण्टा ड्युटी ठान्ने परिपाटीमा अभ्यस्त सरकारी इन्जिनीयर, सुपरभाइजर र परामर्शदाताहरूमा बजेटमै उल्लेख भएपछि केही दबाब पर्न भने सक्छ । ‘सरकारी निकायका तर्फबाट आयोजना प्रमुख, दातृ निकायबाट हुने काममा परामर्शदाता होलान्, सरकारका इन्जिनीयर तथा सुपरभाइजर हुन्छन् । उनीहरूको व्यवस्थापन सरकारले प्रभावकारी रूपमा गर्न पर्यो । निर्माण व्यवसायीले दुई सिफ्टमा काम गर्छाैं भन्दा नियामक निकायका अधिकारीको उपस्थिति तुरुन्त हुने व्यवस्था पनि हुनुपर्छ,’ निर्माण व्यवसायी शर्मा भन्छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसहसचिव राजेन्द्रराज शर्मा सरकारले पहिला पनि यस्तो योजना घोषणा गरेकाले अहिले घोषणा गर्न आवश्यक नै नभएको बताउँछन् । ‘सरकारले दुई सिफ्टमा काम गराउनेभन्दा पनि निश्चित समय दिएर काम पूरा गर्न निर्देशन दिनुपर्छ,’ शर्माले भने, ‘जस्तै १० दिनमा सक्नुुपर्ने काम ५ दिनमा सम्पन्न गर भन्नेसम्मको हुन्छ ।’ दिउँसो राति दुवै समय कामदार खटाएर काम छिट्टै सकिए राम्रै हुने उनको भनाइ छ ।
सरकारले बजेटमै व्यवस्था गरेको सन्दर्भमा सडक विभागले त्यसको कार्यान्वयन गर्न आवश्यक कदम चाल्ने ढकालले बताए । ‘आगामी दिनमा ठेक्काका प्रावधानहरूलाई कहाँ–कहाँ सम्बोधन गर्नुपर्ने हो गर्छाैं । अहिले चालू भएका ठेक्कामा पनि दुई सिफ्टमा काम गराउने प्रयत्न गर्नेछौं,’ उनले भने, ‘अहिले कसरी काम गर्ने भन्ने विषयमा कार्यविधि तथा मापदण्ड बनिसकेको छैन, जुन बनाउन सकिन्छ ।’