काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको ३०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतवार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा सभा सम्पन्न भएको हो ।
सभामा बैंकले १० प्रतिशत बोनस सेयर र ५ दशमलव ५३ प्रतिशत नगद गरी कुल १५ दशमलव ५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा भएको बैंकले जनाएको छ ।
साथै सभाले बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । साथै यस सभाले बैंकको सञ्चालक समितिमा सर्वसाधारण शेयरधनीहरूका तर्फबाट नवीन भक्त श्रेष्ठ र उर्मिला श्रेष्ठलाई आगामी ४ वर्षका लागि पुनः निर्विरोध निर्वाचित गरेको छ ।
सभा प्रयोजनका लागि बैंकले असोज ८ गते बुक क्लोज गरेको हुँदा असोज ७ गतेसम्म कायम रहेका शेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।