एग्रो इक्विपमेण्ट :कृषिको यान्त्रीकरण
अभियान संवाददाता
सानहरू आधुनिक खेती प्रणालीतर्फ आकर्षित हुन थालेपछि त्यसमा प्रयोग हुने औजारमा समेत आधुनिकीकरण हुँदै गएको छ । आधुनिक उपकरणको प्रयोग गर्दा लगात कम पर्नुका साथै उत्पादनमा समेत वृद्धि हुने भएपछि कृषकहरू त्यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय ग्राहकको मागलाई ध्यानमा राखेर विभिन्न कम्पनीले जोत्नेदेखि बाली भित्र्याउनेसम्मका उपकरण उपलब्ध गराउन थालेका छन् । माग बढ्न थालेपछि केही स्वदेशी कम्पनीसमेत आधुनिक कृषि उपकरण निर्माणमा केन्द्रित भएका छन् । ललितपुरको सातदोबाटोस्थित जनरल इञ्जिनीयरिङ वक्र्सले नेपालमै पहिलोपटक स्वचालित ‘हार्भेष्टिङ’ मेशिन बनाएको सञ्चालक श्यामकृष्ण नकर्मीले बताए । हार्भेष्टिङ मेशिन बाली काट्न तथा टिप्न प्रयोग हुन्छ ।
कम्पनीले यसअघि फलफूल टिप्ने सेमिअटोमेटिक तथा म्यानुअल मेशिन, जमीन सम्याउने, ड्याङ बनाउने तथा आलु रोप्नेजस्ता मेशिन निर्माण गरिसकेको छ । त्यस्तै, अहिले अन्नबाली सुकाउने सोलार ड्रायरको निर्माण पनि स्वदेशमै हुन थालेको छ । यस्ता सामानको उत्पादनमा सरकारले ५० देखि ७० प्रतिशतसम्म अनुदान सहयोग उपलब्ध गराउँछ । अनुदान सहयोग लिनका लागि किसानहरू समूहगत रूपमा आउनुपर्ने सनवक्र्स नेपालका प्राविधिक व्यवस्थापक नीरज श्रेष्ठले बताए । सनवक्र्सले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र खुमलटारको सहकार्यमा घरायसी तथा औद्योगिक प्रयोजनका सोलार ड्रायर उत्पादन गरी विक्री गर्दै आएको छ ।
आधुनिक कृषि उपकरणको प्रयोग तुलनात्मक रूपमा तराईक्षेत्रमा बढी हुने गरेको छ । भौगोलिक बनोटका कारण तराईका जिल्लामा यस्ता उपकरणको प्रयोग सहज हुन्छ । तर, ग्रामीणस्तरमा समेत सडक सञ्जाल विस्तार हुन थालेपछि पावर टिलर र ट्र्याक्टरजस्ता उपकरणको प्रयोग देशका अन्य भागमा पनि बढ्दै गएको छ । कृषि कार्यमा सबैभन्दा बढी ट्र्याक्टरको प्रयोग हुन्छ । खनजोत गर्नेदेखि बाली काट्नेसम्मका उपकरण ट्र्याक्टरमै जडान गरिने भएकाले समेत प्रयोग बढेको अग्नि इन्कर्पोरेटेड प्रालिका वरिष्ठ विक्री प्रबन्धक रुद्र केसीको भनाइ छ । अग्निले भारतीय कम्पनी महिन्द्राका कृषि औजारलाई नेपालमा बजार व्यवस्थापन गर्छ । आधुनिक कृषि औजारको प्रयोग बढ्दै गएपछि परम्परागत हलो, कोदालोलगायत सामग्री लोप हुने अवस्थामा पुगेका छन् ।
नेपालीहरू हरेक वर्ष ठूलो सङ्ख्यामा रोजगारीका लागि विदेशिने गर्छन् । यसले पनि देशमा दक्ष कृषि मजदूरको अभाव हुन पुगेको छ । त्यसकारण धेरै काम लिन आधुनिक कृषि औजार आवश्यक भएको व्यवसायीहरू बताउँछन् । खासगरी विदेशबाट आधुनिक खेती प्रणाली सिकेर आएकाहरूले कृषि औजारको बढी माग गर्ने दाहाल ट्रेडिङ कन्सर्नका सञ्चालक दुर्गा दाहालले बताए । सोहीकारण हरेक वर्ष कृषि औजारको माग १० देखि १५ प्रतिशतसम्मले बढेको उनको भनाइ छ । नेपालको जनसङ्ख्या ३ करोडको हाराहारीमा छ । अर्थतन्त्रलाई सबल र आत्मनिर्भर बनाउन किसान तथा कृषिक्षेत्रको विकासका लागि आधुनिक खेती प्रणाली उपयुक्त विकल्प भएको विज्ञहरू बताउँछन् ।
हाल प्रयोगमा रहेका ५० प्रतिशत साना कृषि औजार स्वदेशमै निर्माण हुने गर्छन् । बाँकी औजार विभिन्न देशबाट आयात हुने गरेका छन् । नेपालमा वार्षिक ३ हजार कल्टिभेटर, १ हजार ≈यारो तथा १ हजार रोटाभेटर माग रहेको केसीको भनाइ छ । अहिले ट्र्याक्टरबाहेक सानाठूला गरी वार्षिक ३५ करोड रुपैयाँबराबरको कृषि औजार भित्रिने गर्छ । अन्य कृषि सामग्रीको विक्री बढे पनि ट्र्याक्टरको आयात बढेको छैन । यातायात व्यवस्था विभागको तथ्याङ्कमा आर्थिक वर्ष २०६७/०६८ मा ८ हजार थान ट्र्याक्टर तथा पावर टिलर आयात भएको छ । यद्यपि, कृषि औजारमा सबैभन्दा बढी ट्र्याक्टरको आयात हुने गरेको व्यवसायीहरू बताउँछन् । ट्र्याक्टरपछि पानी तान्ने पम्प र एग्रीकल्चर स्प्रे (कीटनाशक स्प्रे)को प्रयोग बढी हुन्छ । केही कम्पनीले थोपा सिँचाइ प्रविधिको समेत विक्री शुरू गरेका छन् । यस्तो प्रविधिको प्रयोगबाट एकतिहाइसम्म उत्पादन बढ्न सक्ने नेशनल एग्रीकल्चर एण्ड फरेष्ट्रीका प्रबन्ध निर्देशक गौतम महर्जनले बताए । यो प्रविधिअनुसार ट्याङ्कीमा जम्मा गरिएको पानी पाइपको माध्यमबाट बिरुवासम्म पुर्याइन्छ । पाइपमा रहेका ससाना प्वालबाट पानी बाहिर आउँछ । यस्तो प्रविधिबाट सिँचाइ गर्दा पानी बिरुवामा मात्र पुग्ने तथा थोरै पानीले धेरै सिँचाइ गर्न सकिने उनको भनाइ छ । यो प्रविधिबाट मल पानीमा घोलेर पनि बिरुवासम्म पुर्याउन सकिन्छ ।
सरकारी पहल
विद्यमान कृषि प्रणालीमा सुधार ल्याउन सरकारी निकायबाट पनि विभिन्न पहल भएका छन् । चालू आर्थिक वर्षको बजेटले साना किसान सहकारी संस्थालाई अलैंची, चिया, कफी, अदुवा, सुपारी तथा मह प्रशोधन गर्ने औजारको खरीदमा पूँजीगत खर्चको ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको छ । सहकारी संस्थाहरूले दुग्धजन्य पदार्थको चिस्यान केन्द्र र प्रशोधन गर्ने, खाद्य, तरकारी तथा फलफूल प्रशोधन गर्ने मेशिन तथा औजारको खरीदमा भन्सार छूट दिने उल्लेख छ । ससाना टुक्रा जमीन भएका किसानको समूहले सहकारी प्रणालीमा खेती गरेमा ट्र्याक्टर, पावर टिलर, थ्रेसर, धान कुट्ने मिल र आवश्यक मेशिन तथा उपकरणको पैठारीमा समेत भन्सार छूट दिने उल्लेख गरिएको छ ।
समस्या उस्तै
प्लाष्टिकका कतिपय कृषि औजारमा १० देखि ३० प्रतिशतसम्म भन्सार शुल्क लगाइएको छ । त्यस्ता औजारमा सरकारले १ प्रतिशत भन्सार शुल्क लगाउने भने पनि पूर्णरूपमा कार्यान्वयन नभएको महर्जनले बताए । सोहीकारण भन्सार शुल्क बढी लगाइएका सामग्री महँगोमा विक्री गर्नुपरेको व्यवसायीहरू बताउँछन् । पछिल्लो समय व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको छ । तर, अझै पनि आधुनिक कृषि प्रणालीबारे व्यापक प्रचारप्रसारको खाँचो छ ।
पछिल्ला वर्षहरूमा कृषि औजारको व्यवसायमा समेत अस्वस्थ प्रतिस्पर्धा बढ्न थालेको केसीले बताए । नेपालका अधिकांश किसानको आयस्तर कमजोर रहेको तथा उनीहरू कम साक्षर रहेकाले पनि बिचौलियाहरूले पैसाको कम गुणस्तरका सामान विक्री गरिरहेको महर्जनको भनाइ छ । कम्पनीहरूले पनि बिचौलियाहरूलाई आकर्षित गर्न छूटका विभिन्न योजना ल्याउने गरेका छन् । बिचौलियालाई कमिशन दिने प्रतिस्पर्धाले कम्पनी र किसान दुवैलाई हानी पुर्याएको हो । त्यस्तै, ट्र्याक्टरको खरीद तथा विक्रीमा पनि बैङ्क तथा वित्तीय संस्थाले अप्ठ्यारो पारेका छन् । ट्र्याक्टर खरीद गर्न किसानसँग एकमुष्ट रकम हुँदैन । यस्तो अवस्थामा बैङ्क तथा वित्तीय संस्थामै भर पर्नुको विकल्प छैन । वित्तीय संस्थाले भने ट्र्याक्टरमा लगानी गर्न रुचि देखाएका छैनन् ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.