काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेड स्थापनाको २७औं वर्षमा प्रवेश गरेको छ । बैंकले आइतवार विज्ञप्ति जारी गर्दै ग्राहक, नियामक निकाय, शेयरधनी, कर्मचारी लगायत सरोकारवालाप्रति अत्यन्त अनुग्रहित रहेको बताएको छ । ‘आगामी दिनमा थप विश्वस्तरीय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभव सहितको बैंकिङ सेवा एवम् सुविधा प्रदान गर्दै सबै सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ ।
मुलुकभर ३६० शाखा, ६७० एटीएम, ११८ विस्तारित काउन्टर एवं ५१ शाखारहित शाखामार्फत २० देखि ५० वर्ष उमेर समूहका आर्थिक रूपमा सक्रिय जनसंख्याको २५ प्रतिशत जनतालाई सेवा दिँदै आएको बैंकको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाको उपस्थिति न्यून रहेका दुर्गम जिल्ला तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेका ३४ भन्दा बढी स्थानीय तहमा शाखा विस्तार गरी निर्बाध रूपमा बैंकिङ सेवा पुर्याउन सफल भएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।
देशको अर्थतन्त्रको सबलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी रू. २६ अर्ब ५९ करोडभन्दा बढी राजस्व भुक्तानी गरेको बैंकको दाबी छ । गत आर्थिक वर्ष २०८०/८१ मा मात्रै रू. २ अर्ब ८९ करोडभन्दा बढी राजस्व बुझाएको बैंकले जानकारी दिएको छ ।