विन्जाओ (चीन) । राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे) नेपाल र चीनको सान्तोङ प्रान्तमा रहेको विन्जाओ मिडिया ग्रुपबीच समझदारी गरिएको छ ।
एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्त र विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओ जिङ्युआन विन्जाओमा सांस्कृतिक तथा व्यवसायिक फोटो पत्रकारितामा दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध विस्तार गर्नका लागि समझदारीपत्र आदानप्रदान गरिएको हो ।
उक्त समझदारीले एनएफपिजे र विन्जाओ मिडिया ग्रुपबीच फोटो, भिडियो, समाचार आदानप्रदान गर्ने र व्यवसायीक क्षमता विकासमा लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ ।
सो अवसरमा विन्जाओका मिडिया ग्रुपका निर्देशकले यस्तो समझदारीले समाचारका माध्यमबाट सांस्कृतिक तथा पर्यटनलाई टेवा पुर्याउनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।
एनएफपिजेका अध्यक्ष वन्तले सांस्कृतिक तथा प्राकृतिक दृष्टिले महत्त्वपूर्ण रहेको विन्जाओको मिडिया ग्रुपसँग गरिएको समभदारीले फोटो तथा समाचारहरूको माध्यमबाट दुई संस्थाको मित्रतालाई थप स्थापित गर्न सहयोग पुग्ने र दुई देशबीचको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उक्त कार्यक्रममा विन्जाओ फोटोग्राफर एसोसियसनका अध्यक्ष लिइ जनपिङ, उपाध्यक्ष तथा सिनियर फोटोग्राफर सु सोय र एनएफपिजेका उपाध्यक्ष सुनिल शर्मा लगायत नेपालबाट चीन भ्रमणमा रहेका फोटो पत्रकारहरूको पनि उपस्थिति रहेको थियो ।
राष्ट्रिय फोटोपत्रकार समूहको टोलीलाई विन्जाओ मिडिया ग्रुपका निर्देशक चाओले रेडियो संग्राहालय र टेलिभिजन प्रसारणको पनि अवलोकन गराएका थिए ।
विन्जाओ मिडिया ग्रुप विन्जाओकै सबैभन्दा ठूलो मिडिया हाउस हो । यसले शहरमा पत्रिका, रेडियो, टेलिभिजन, वेबसाइट र मोबाइल एप मार्फत समाचार संकलन, वितरण तथा प्रसारण गर्दै आएको छ ।