ठूला खेलकुद प्रतियोगिताहरूले मुलुकको अर्थतन्त्रमा निकै सकारात्मक प्रभाव पार्ने भएकाले फुटबल, क्रिकेट खेल र ओलम्पिक खेलको आयोजना गर्न देशहरूबीच प्रतिस्पर्धा नै हुने गरेको छ । नेपालले विश्व खेलकुदमा उच्च स्थान ओगट्न नसके पनि बिस्तारै क्रिकेटको माध्यमबाट अन्तरराष्ट्रिय छवि बनाउन थालेको छ । यसै सन्दर्भमा अहिले नेपालमा नेपाल प्रिमियर लीगको आयोजना हुन लागेको छ जसले नेपालको अर्थतन्त्रमा समेत केही प्रभाव पार्न सक्छ । यद्यपि नेपालमा खेलकूद प्रायोजन गर्न व्यावसायिक कम्पनीहरूबीच उच्च प्रतिस्पर्धा भने कमै हुने गरेको छ ।
अहिले एनपीएल खेलका लागि सुदूरपश्चिम रोयल्स, लुम्बिनी लायन्स, कर्णाली याक्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, विराटनगर किंग्स, काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्ससहित आठओटा टिम भिड्दै छन् । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान)का अनुसार एउटा टोलीले लिगका सातओटा खेल तथा प्लेअफ हुँदै फाइनल खेलमा १० खेल खेल्नुपर्ने भएकाले एउटा खेल खेल्दा करीब १ करोड ३० लाख रुपैयाँसम्म खर्च हुन सक्ने अनुमान गरिएको छ । यी खेलकुदका लागि क्लबहरूले विदेशी खेलाडी अनुबन्ध गरेका छन् । त्यसका लागि केही रकम विदेशिए पनि त्यसले भोलिका दिनमा नेपाली खेलाडीले विदेशी क्लबमा अनुबन्ध हुनका लागि आधार तयार पार्ने देखिन्छ । त्यस्तै विदेशी खेलाडीहरू नेपाली क्लबबाट खेल्दा ती देशका दर्शकले नेपाली खेल हेर्ने र त्यसले नेपालको प्रचार हुने देखिन्छ जसले कुनै न कुनै रूपमा नेपालको अर्थतन्त्रलाई सहयोग गरिरहेको हुन्छ ।
त्यसैले खेलकुद भनेको हारजितको विषयमात्र होइन । त्यससँग मुलुकको प्रतिष्ठा जोडिएको हुन्छ । त्यस्तै खेल कूटनीति यसको अर्को बलियो पक्ष हो । त्यसमा पनि अर्थतन्त्र अझ महत्त्वपूर्ण हुन्छ । एउटा खेल आयोजना हुँदा खेलाडीको बसोवासदेखि दर्शकलाई विक्री गरिने टिकटसम्मको खर्चको कुरा आउँछ । त्यस्तै खेल दर्शकले गर्ने खर्चले पनि अर्थतन्त्रमा प्रभाव पार्छ । अहिले एनपीएल खेलको प्रत्यक्ष प्रसारण स्टारस्पोर्टस च्यानलबाट गर्न सम्झौता भएको छ । अहिले क्यानले समय किन्नु परेको छ तर भारतको आईपीएल जस्तै यसले पनि दर्शकको मन जित्न सक्यो भने भोलिका दिनमा खेल प्रसारणका लागि च्यानलले पैसा तिर्नुपर्ने अवस्था पनि आउन सक्छ ।
नेपाल क्रिकेट खेलका लागि उपयुक्त स्थान हो । यसबाट खेल पर्यटनको सम्भावना उजागर हुन्छ । तर, दुर्भाग्य अहिलेसम्म नेपालमा एउटा पनि अन्तरराष्ट्रिय स्तरको गतिलो क्रिकेट मैदान छैन । निर्माणाधीन मैदानहरू बनिसकेका छैनन् । त्यसैले ठूला क्रिकेट स्टेडियम बन्न सके एनपीएलको प्रचारबाट खेल पर्यटन शुरू गर्न सकिन्छ । भारत र पाकिस्तानबीच विवाद भएर कतिपय खेल हुन नसकिरहेको अवस्था छ । यदि नेपाल जस्तो देशमा खेल भएमा दुवै देश सहभागी हुने अवस्था आउँछ । नेपालको मौसम पनि क्रिकेट खेलका लागि सुहाउँदो छ । त्यसैले खेलकुद पर्यटनका लागि पनि एनपीएल सहयोगी हुने देखिन्छ । सर्वप्रथम त खेलकुदसँग आबद्ध भौतिक संरचनाको सुधार आवश्यक छ, नियमित खेलकुद आवश्यक छ, अनि स्वदेशी अवस्था जे जस्तै भए पनि विदेशी टीमलाई आमन्त्रित गर्न आवश्यक छ । आईपीएल वा अन्य यस्तै प्रतियोगिता नेपालमा आयोजना गर्न सके मात्र पनि नेपालले खेलकुदसँग आबद्ध अर्थतन्त्रको पक्ष बुझ्थ्यो र यसमा लगानी गर्थ्यो । यसका लागि एनपीएल एउटा प्रारम्भ विन्दु बन्ने आशा गर्न सकिन्छ ।