निर्माण सम्पन्न भई उद्घाटन भएको २ वर्षसम्म पनि नियमित अन्तरराष्ट्रिय उडान नपाएको क्षेत्रीय स्तरको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा चिनियाँ लगानीको हिमालय एयरलाइन्सले उडानका लागि प्रस्ताव गरेको छ । एउटा कम्पनीले मात्रै उडानका लागि प्रस्ताव गर्नु पनि अहिले सकारात्मक छ । यसले भोलिका दिनमा चिनियाँ वायु सेवाका लागि ढोका खोल्ने देखिन्छ ।
पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बनाउन व्यावसायिक सम्भाव्यताभन्दा स्थानीय र राजनीतिक नेतृत्वको दबाब थियो । स्थानीय पर्यटन व्यवसायीले पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बने प्रत्यक्ष उडानबाट पोखरा आउने पर्यटक बढ्ने अपेक्षा गरेका थिए । तर, विमानस्थल बने पनि नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । उद्घाटन भएपछि एकाध अन्तरराष्ट्रिय चार्टर उडानमात्रै भएको छ । अन्य बहुपक्षीय दातृ निकायसँगभन्दा चीनसँग चर्को ब्याजदरमा ऋण लिएकाले यो ऋण कसरी तिर्ने भन्ने चिन्ता थपिएको छ । यद्यपि पूर्वाधारहरू निर्माण सम्पन्न हुनेबित्तिकै उपयोगमा आइहाल्ने हुँदैन । त्यसका लागि केही समय लाग्छ । नियमित अन्तरराष्ट्रिय उडान नभएपछि सरकारले त्यहाँबाट उडान गर्ने वायुसेवा कम्पनीलाई केही सहुलियत र छूट दिने नीति लिएको छ । त्यही भएर अहिले तिब्बती लगानी भएको हिमालय एयरलाइन्सले पोखराबाट उडानका लागि प्रस्ताव गरेको देखिन्छ ।
अहिले हिमालयले साताको सोमवार काठमाडौं–ल्हासा र ल्हासा–पोखरा, मंगलवार पोखरा–ल्हासा, ल्हासा–काठमाडौं र बुधवार काठमाडौं–ल्हासा र ल्हासा–काठमाडौं र शुक्रवार काठमाडौं–ल्हासा र ल्हासा–काठमाडौं गन्तव्यमा उडान गर्न स्वीकृति मागेको छ । पर्यटन बजार विस्तारका लागि यो उडान निकै सहयोगी हुने देखिन्छ । विगतमा काठमाडौंबाट तातोपानी हुँदै तिब्बत जाने र तिब्बतबाट तातोपानी हुँदै नेपाल भित्रने पर्यटकको संख्या उल्लेख्य थियो । ल्हासा–काठमाडौं बस सेवा पनि सञ्चालनमा आएको थियो । तर, अहिले पर्यटनको लहर निकै कम भएको छ । यद्यपि फाट्टफुट्ट यही रूटमा पर्यटकको आवागमन भने भइरहेको छ । हिमालयको उडानले यसलाई नयाँ उचाइमा पुर्याउन सक्ने देखिन्छ ।
विश्व पर्यटन क्षेत्रमा सबभन्दा ठूलो हिस्सा चिनियाँ पर्यटकले लिएका छन् । हरेक वर्ष करोडौं चिनियाँहरू विदेश भ्रमणमा जान्छन् । सीमा जोडिएको र स्थलमार्गबाट पनि भ्रमण गर्न सकिने भएकाले चिनियाँका लागि नेपाल सहज र सस्तो गन्तव्य हुन सक्छ । तर, हवाई भाडा महँगो भएकाले उनीहरू नेपाल नआएको देखिन्छ । नेपाल नजिकै रहेको चीनको तिब्बत स्वायत्त प्रदेशमा घुम्न जाने पर्यटकको तीन प्रतिशत अंश मात्र नेपाल तान्न सक्ने हो भने वर्षमा सरदर १० लाखभन्दा बढी पर्यटक तिब्बतबाट मात्रै नेपाल ल्याउन सकिन्छ ।
तिब्बतको आयको मुख्य आधार पर्यटन हो । २०२३ मा मात्र ५ करोड ५१ लाख ७० हजार स्वदेशी र विदेशी पर्यटकले तिब्बत भ्रमण गरेको चिनियाँ तथ्यांक छ । त्यसैले तिब्बतबाट पोखरा प्रत्यक्ष उडान हुने हो भने लाखौं पर्यटक ल्याउन सकिन्छ । पोखरा चिनियाँहरूले निकै मन पराएको पर्यटकीय स्थल हो । उनीहरू पदयात्राभन्दा पनि साहसिक खेलहरूमा बढी रमाउँछन् । त्यस्तो अवसर पोखरामा बढी छ र त्यसमा अझै लगानी बढाउनुपर्ने हुन्छ । उनीहरूलाई सांस्कृतिक धरोहर वा धार्मिक स्थलसँग खासै चासो नहुँदा सीधै पोखरा जान पाउँदा बढी चिनियाँ पर्यटक ल्याउन सकिन्छ । चिनियाँ पर्यटक बढ्न थालेपछि चिनियाँ वायु सेवा कम्पनीहरू स्वत: पोखरा जान थाल्नेछन् । त्यसका लागि पोखराबाट विभिन्न सेवाहरू पनि दिने व्यवस्था गरिनुपर्छ ।
अहिले नेपाली व्यवसायीहरूले तिब्बतलगायतका चीनका अन्य शहरहरूमा गएर पर्यटन प्रवर्द्धनका कार्यक्रमहरू पनि गरेका छन् । तिब्बतको आर्थिक विकास हुँदै गएकाले तिब्बतीहरू पनि नेपाल आउन सक्छन् । प्रधानमन्त्री केपी शर्मा ओली चीनको भ्रमणमा जाँदै छन् । यस भ्रमणमा नेपाल वायु सेवा निगमलाई चीनका केही शहरमा उडानको अनुमति दिलाउनका लागि कूटनीतिक पहल हुन आवश्यक छ । त्यसो भएमा सस्तो सेवा दिएर निगमले त्यहाँबाट पर्यटक नेपाल ल्याउन सक्छ ।