काठमाडौं। भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र खल्ती प्रालि (खल्ती डिजिटल वालेट)बीच ‘स्मार्ट क्यूआर’मार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको छ ।
यस सम्झौतापश्चात् खल्ती डिजिटल वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत मर्चेन्टलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार, व्यवसायमा संलग्न व्यवसायीले क्यूआरमार्फत भुक्तानी लिन स्मार्ट क्यूआरको सुविधा लिन सक्नेछन् । सम्झौतामा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले सेवा सञ्चालन सम्झौतामा हस्ताक्षर गरेका छन् ।
स्मार्ट क्यूआरमार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फछ्र्योट हुने भएकाले यस सेवाको शुरुआतपश्चात् खल्तीका प्रयोगकर्ता लगायत मर्चेन्टलाई कारोबार गर्न थप सजिलो हुने अपेक्षा गरिएको छ ।