काठमाडौं। भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र फोर स्टार रिसोर्ट ‘अतिथि रेसोट एन्ड स्पा’बीच एससीटी–यूपीआई कार्डका ग्राहकलाई रिसोर्टका सेवामा १५ प्रतिशतसम्म छूट हुने सम्झौता सम्पन्न भएको छ ।
एससीटी–युपिआई कार्ड प्रयोगकर्ताले यो छूट पाउन रिसोर्टमा एससीटी–यूपीआई कार्डमार्फत भुक्तानी गर्नु पर्नेछ । ग्राहकले यूपीआई कार्डमार्फत भुक्तानी गर्दा फुड, बेभरेज र स्पा बिलमा १० प्रतिशत छूट तथा रूमको शुल्कमा १५ प्रतिशत छूट पाउने बताइएको छ । रूमको शुल्कमा पाइने छूटको लागि पोइन्ट अफ सेल (पोस)मार्फत कारोबार गर्नुपर्ने बताइएको छ ।
एससीटीले हाल २१ ओटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थामार्फत यूपीआई कार्ड जारी गर्दै आएको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । यूपीआई कार्डमार्फत नहुनेले पनि यस अफरमा सहभागी हुन नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर यूपीआई कार्ड माग गर्न आग्रह गरिएको छ ।