वैशाख ११, काठमाडौं ।
नेपालमा सञ्चालित गैरसरकारी संस्था (एनजीओ) तथा अन्तरराष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले कानूनविपरीत पर्यटकीय गतिविधि सञ्चालन गर्ने गरेको पाइएको छ । स्वयम्सेवक तथा सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापित ती संस्थाले नीतिविपरीत कार्य गर्दै आएको पर्यटन व्यवसायीले बताए । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले गरेको अनुसन्धानले एनजीओ/आईएनजीओले ट्रेकिङ, ट्राभल, र्याफ्टिङ, बञ्जीजम्प, जङ्गलसफारी, माउण्टेन फ्लाइटलगायत पर्यटकीय गतिविधि गर्ने गरेको देखाएको छ । सन् २०१२ को अक्टोबरमा गरिएको सो अध्ययनले नेपालमा रहेका डेढ दर्जन संस्थाले गैरकानूनी तरीकाले पर्यटकीय व्यवसाय गरेको देखाएको छ । अध्ययनले ५ सय जनाभन्दा बढी विदेशी पर्यटकलाई एनजीओ तथा आईएनजीओका प्रतिनिधिले ट्रेकिङमा लैजाने गरेको तथ्यसमेत सार्वजनिक गरिएको छ । गैरसरकारी संस्थाले अवैध रूपमा सञ्चालन गरेका यस्ता गतिविधिले व्यावसायिक वातावरण नै बिगारेको टानका महासचिव मोहन लम्सालले बताए । उनले भने, ‘स्वयम्सेवी संस्थाले व्यवसाय सञ्चालन गर्नु राम्रो होइन ।’ ती संस्थाले कर छल्ने, सस्तो प्याकेज सञ्चालन गर्ने र व्यवसायमा नकारात्मक भ्रम सृजना गर्ने गरेको उनको भनाइ छ । टानले विमानस्थलमै बसेर गरेको २/३ ओटा एयरलाइन्सको स्थलगत अध्ययनबाट उक्त तथ्य फेला परेको महासचिव लम्सालले बताए । सबै विमानबाट आउने पर्यटकको यस्तो तथ्याङ्क सङ्कलन गर्ने हो भने वार्षिक १२ देखि १५ हजारसम्म पुग्ने उनको अनुमान छ ।
‘नेपालमा गैरसरकारी संस्थामार्फत आएका विदेशीले पनि पर्यटकीय गतिविधि गर्न रुचाउँछन्,’ फ्युचर नेपालकी अध्यक्ष दुर्गा घिमिरेले भनिन् । उनका अनुसार ‘लामो समयका लागि आउने यस्ता विदेशीले पर्यटकीय गतिविधि गर्न चाहेकाले उनीलाई ट्राभल तथा ट्रेकिङ एजेन्सीसम्म पुर्याउन सहयोग गरिएको हो । हामीलाई विश्वास गरेर आएका विदेशीलाई भोलेण्टियर शुल्क लिने र संस्था सञ्चालनमा लगाउने गरेको उनले बताइन् । पर्यटकीय सिजनमा आउने पर्यटकलाई ट्रेकिङ, र्याफ्टिङ, बञ्जी तथा जङ्गल सफारी गर्न केही संस्थाले मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने गरेको पनि उनले बताइन् । होप एण्ड होमका अध्यक्ष बिजेन अर्यालले आफूहरूले ‘होप एण्ड होम’ नामक ट्राभल एजेन्सी दर्ता गरेरै व्यवसाय सञ्चालन गरेको बताए । यी कार्यको मन्त्रालयले समेत अनुगमन नगरेको टानको आरोप छ । एनजीओले पर्यटकीय गतिविधि सञ्चालन गरेको भनिए पनि त्यस्ता उजुरी हालसम्म मन्त्रालयमा नआएको पर्यटन मन्त्रालयका प्रवक्ता मोहनकृष्ण सापकोटाले बताए । कानूनले अवैधानिक रूपमा ट्रेकिङ, ट्राभल तथा ¥याफ्टिङ गर्नेलाई रू. २० हजारसम्म जरीवाना गर्ने वा व्यवसाय नै बन्द गर्न सक्ने सापकोटाले बताए ।