वैशाख १२, भैरहवा (अस) ।
सरकारले सुनको सहज आपूर्ति गर्न नसकेको भन्दै लुम्बिनी अञ्चलका सुन र चाँदी व्यवसायी आन्दोलनमा उत्रिएका छन् । मूल्य घटेपछि बजारमा सुनको माग अत्यधिक बढ्दा पनि सरकारले मागेजति दिन नसकेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । नेपाल सुनचाँदी व्यावसायी सङ्घ रूपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी महँगोमा किनेको सुन सस्तोमा कारोबार गर्न नसकिने भन्दै बिहीवारबाट अनिश्चितकालीन पसल बन्द गर्ने जानकारी दिएका छन् । सुनको भाउ घटेका बेला पसलमा ग्राहकको माग बढेको तर सरकारले सुन नदिँदा समस्या आएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घका केन्द्रीय सदस्य प्रेमकुमार सेञ्चुरीले बताए । यस अवस्थामा पसल बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ । राष्ट्र बैङ्कले व्यवसायीका लागि दिने सुन, मागको तुलनामा निकै कम भएको उनीहरूको भनाइ छ । बैङ्कले विक्री गर्ने सुन ५० प्रतिशत व्यवसायीलाई र ५० प्रतिशत बैङ्कर्स एशोसिएशनले आफूले चाहेका व्यवसायीलाई दिने गरेको आरोप सुनचाँदी व्यावसायी सङ्घ रूपन्देहीका वरिष्ठ उपाध्यक्ष तेजप्रसाद विकले लगाए । ‘व्यवसायीले तोकिएको भाउमा सुन किन्न पाएका छैन,’ उनले भने, ‘तोलामा ३/४ हजार रुपैयाँ बढी रकम दिनेले जत्ति पनि सुन पाएका छन् ।’ रूपन्देहीमा दैनिक २ किलो सुन आवश्यक पर्ने भए पनि हप्तामा ३ किलो सुन मात्रै पाइएको व्यवसायीको भनाइ छ । रूपन्देहीमा ३ सयभन्दा बढी सुन व्यवसायी छन् भने लुम्बिनी अञ्चलभर ७ सय बढी व्यवसायी रहेको बताइन्छ ।