राजन गाउले
वैशाख ११, सिन्धुली ।
सिन्धुलीको कमलामाई नगरपालिका क्षेत्रलाई लोडशेडिङमुक्त बनाउने पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घोषणा ३ महीनासम्म कार्यान्वयनमा आएको छैन । गत माघ ९ मा तत्कालीन प्रधामन्त्री डा. भट्टराई पार्टी अध्यक्ष पुष्पकमल दाहालसाथ सिन्धुली पुग्दा १ महीनाभित्रै सिन्धुलीलाई लोडशेडिङमुक्त नगर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । तर, घोषणाको ३ महीना बित्दा पनि लोडशेडिङमुक्त हुने सुरसार नभएको स्थानीयले बताए । घोषणा गरिए पनि माथिल्लो निकायबाट सोसम्बन्धी कुनै पनि निर्देशन नआएको विद्युत् प्राधिकरण शाखा सिन्धुलीले बताएको छ । नगरक्षेत्रलाई लोडशेडिङमुक्त बनाउन थप विद्युत् आवश्यक पर्छ– प्राधिकरणका शाखा प्रमुख ललितनारायण चौधरीले भने, ‘थप पावरका लागि मुख्य प्रसारण लाइनबाटै व्यवस्था मिलाउन माथिल्लो निकायकै निर्देशन हुनुपर्छ ।’ कार्यालयले त्यस्तो अख्तियारी नपाएकाले तत्काल सो कार्य सम्भव नभएको उनको भनाइ छ । लोडशेडिङमुक्त नभए पनि लोडशेडिङ घटाउन प्रयास भने प्रयास भइरहेको बताए । प्राधिकरणले थप पावरको व्यवस्था मिलाई लोडशेडिङ कम गर्नेतर्फ २२० केभी प्रसारण लाइन आयोजना प्रमुखसँग छलफल भइरहेको उनले जानकारी दिए ।
दोलखाको सिप्रिङ पावर कम्पनीबाट उत्पादित विद्युत् थप गर्न सकिने भए पनि हाल सो आयोजनाबाट २ मेगावाट मात्रै विद्युत् उत्पादन हुँदै आएको छ । आयोजनाको क्षमता १० मेगावाट रहे पनि उत्पादन बढ्न सकेको छैन । जिल्लास्थित राजनीतिक दल तथा प्रशासनिक निकायको बेवास्ताले घोषणा सार्थक हुन नसकेको सिन्धुली उद्योग वाणिज्य सङ्घका अध्यक्ष सानुकाजी श्रेष्ठले बताए । सरकार प्रमुखले घोषणा गरेबमोजिम काम नहुँदा सरोकारवाला तात्न नसकेकाले घोषणा अन्योलमा परेको श्रेष्ठले जिकीर गरे । नगरक्षेत्र मात्रै लोडशेडिङ मुक्त गर्न सकिए थुपै्र सानाठूला उद्योग तथा कलकारखानालाई राहत पुग्ने श्रेष्ठको भनाइ छ । ‘सरकारी स्तरबाट लोडशेडिङ मुक्त गर्ने आशा मर्दै गएकाले यसमा सहयोग गर्न नेपाल उद्योग वाणिज्य महासङ्घसँग आग्रह गरेका छौं,’ उनले भने । महासङ्घको पहलमा ५ मेगावाट क्षमता विद्युत् उत्पादनका लागि लगानी गर्ने आश्वासन पाएको समेत उनले बताए । स्थानीय स्तरबाट थुपै्र लघुजलविद्युत् आयोजनाले विद्युत् उत्पादन गरे पनि ठूला आयोजना नहुँदा लोडशेडिङ हुँदै आएको छ ।