वैशाख ९, काठमाडौं ।
नेपाल वायुसेवा निगमले दुई नयाँ हवाई जहाज खरीद गर्न यूरोपेली जहाज निर्माता कम्पनी एयरबसलाई सोमवार ५ लाख अमेरिकी डलर (करीब रू. ४ करोड ३३ लाख) बैना रकम पठाएको छ । कर्मचारी सञ्चय कोषले आइतवार जहाज किन्न रकम दिने सहमतिपछि निगमले बैना पठाएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । निगमले एयरबससँग १ सय ५० सीट क्षमताका दुई ओटा ए ३२०–२०० सिरिजको न्यारोबडी जहाज खरीद गर्न रकम पठाएको हो । निगमले एयरबसलाई प्रतिजहाज २ सय ५० अमेरिकी डलरका दरले बैना रकम पठाएको चन्दले जानकारी दिए । उनका अनुसार जहाज खरीदका लागि रकम पठाइसकिएकाले आगामी २२ महीनाभित्रमा निगमले नयाँ जहाज पाउने छ ।
निगमले एयरबसको दुईओटा जहाज खरीदका लागि गत चैत २३ गते खरीद सम्झौता गरेको थियो । सम्झौताअनुसार पहिलो चरणमा बैना रकम पठाइएको निगमले बताएको छ । निगमले खरीद गर्न लागेको एयरबसको उक्त जहाजको बजारमूल्य एउटाको ७ करोड ५० लाख अमेरिकी डलर (करीब रू. साढे ६ अर्ब) रहेको बताइएको छ । दुईओटा जहाजका लागि करीब रू. १३ अर्ब आवश्यक पर्ने र सो रकम सञ्चय कोषले ऋण दिने प्रतिबद्धता गरिसकेको छ । निगमले खरीद गर्न लागेको उक्त एयरबसको जहाज ५ घण्टासम्मको नियमित उडानमा प्रयोग गर्न सकिने छन् । छोटो गन्तव्यमा उडान गर्न सकिने ती जहाजलाई निगमले मध्यपूर्वी मुलुकका गन्तव्यमा उडान गर्नेछ । निगमका अनुसार सन् २०१५ को फेब्रुअरीमा पहिलो र त्यसको २ महीनापछि अर्का जहाज नेपाल आउने भएको छ ।
निगमले साढे २ दशकदेखि जहाज खरीद नगरेकाले निगमका लागि नयाँ जहाज खरीद गर्ने यो कार्य ऐतिहासिक भएको बताइएको छ । यसअघि सन् २००९ को नोभेम्बर ५ तारिखका दिन निगम र एयरबसबीच जहाज खरीद सम्झौता भएको थियो । उक्त सम्झौतापछि निगमले साढे ५ लाख अमेरिकी डलर बैनासमेत पाठाएको थियो । तत्कालीन संसद्को सार्वजनिक लेखा समितिले जहाज किन्न आवश्यक रकम जोहो नै नगरी बैना पठाएको भन्दै विरोध गरेपश्चात् उक्त प्रक्रिया अवरुद्ध भएको थियो । सोही सम्झौतालाई आधार बनाएर निगमले गरेको दोस्रो सम्झौताबाट भने निगमको अन्तरराष्ट्रिय उडानका निम्ति दुईओटा न्यारोबडी जहाज आउने सुनिश्चित भएको छ ।