वैशाख १०, काठमाडौं । सरकारले चारओटा विशिष्टीकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयले जैविक प्रविधि केन्द्र, परमाणु प्रविधि केन्द्र, अन्तरिक्ष प्रविधि केन्द्र र सूक्ष्म (नानो) प्रविधि केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले यी दुवै अनुसन्धान केन्द्र स्थापनाका लागि परामर्शदाताको प्रतिवेदनमाथि छफफल गरी गठनप्रक्रिया अघि बढाएको छ ।
सरकारले ती अनुसन्धान केन्द्रहरू विकास समिति ऐनअन्तर्गत स्थापना गर्ने तयारी गरेको मन्त्रालयका सचिव केशवप्रसाद भट्टराईले बताए । ‘हाम्रो लोकसेवा आयोगले यस्ता विशिष्टीकृत प्राविधिक एजेन्सीहरूको जनशक्ति व्यवस्थापन गर्न नसक्ने र बजेट विनियोजनमा समेत सरलता ल्याउन सकिने भएकाले विकास समिति ऐनअन्तर्गत स्थापना गर्न लागिएको हो,’ उनले भने, ‘गठन आदेशका लागि विनियमावलीको खाका तयार गरी सरोकारवाला मन्त्रालयमा छलफलको लागि पठाइसकिएको छ ।’
चारओटै अनुसन्धान केन्द्र स्थापना गर्न करीब ५ अर्बदेखि ६ अर्ब रुपैयाँ खर्च हुने अनुमान मन्त्रालयले गरेको छ । त्यसमध्ये जैविक प्रविधि अध्ययन केन्द्र र परमाणु प्रविधि अध्ययन केन्द्रको सम्भाव्यता अध्ययन सकिएको मन्त्रालयले बताएको छ । अन्तरिक्ष अध्ययन केन्द्रको सम्भाव्यता अध्ययन कार्य भइरहेको र सूक्ष्म प्रविधि केन्द्रको सम्भाव्यता अध्ययन छिट्टै शुरू गर्ने सचिव भट्टराईले जानकारी दिए ।
अनुसन्धानमा लगानी बढाउन नसकेको भन्ने आलोचना भोग्दै आएको सरकारले एकैपटक ठूला अध्ययन केन्द्रहरू स्थापनामा अग्रसरता देखाएको छ । मन्त्रालयले त्रिवर्षीय सुधार कार्यक्रममा आगामी मङ्सिरसम्ममा जैविक प्रविधि, परमाणु प्रविधि र अन्तरिक्ष अध्ययन केन्द्रको गठन आदेश स्वीकृत गरिसक्ने लक्ष्य लिएको छ । उक्त योजनामा २०७१ असारसम्ममा ती तीनओटै अनुसन्धान केन्द्र स्थापना गरिसक्ने उल्लेख छ । सचिव भट्टराईका अनुसार अनुसन्धान केन्द्रहरू स्थापना भएको ५ वर्षभित्र पूर्णरूपमा सञ्चालनमा आइसक्ने छन् । सूक्ष्म प्रविधि केन्द्र भने दोस्रो चरणमा स्थापना गरिने उनले बताए ।
मन्त्रालयले अनुसन्धान केन्द्रहरूको स्थापना गर्नेबारे जारी गरेको अवधारणापत्रमा दिगो विकासका लागि विज्ञान तथा प्रविधिको प्रयोगलाई बढाउने बताइएको छ । विद्यालय शिक्षादेखि नै विज्ञान प्रविधिको अध्ययन र अनुसन्धानलाई प्रोत्साहन दिन यस्ता केन्द्रहरूले सहयोग गर्ने अवधारणापत्रमा भनिएको छ । यी अनुसन्धान केन्द्रहरूले मुलुकको आर्थिक तथा सामाजिक समृद्धिमा सहयोग पुर्याउने मन्त्रालयले बताएको छ । मन्त्रालयका अनुसार जैविक प्रविधि केन्द्रको स्थापनापछि नेपालको जैविक विविधता अध्ययन गर्न, प्राथमिक क्षेत्र (कृषि, वन)को उत्पादन र व्यवसाय बढाउन, औषधि तथा औद्योगिक उत्पादन प्रवद्र्धन गर्न सहयोग पुग्छ ।
यसले स्वदेशी उत्पादनहरूको पेटेण्ट राइट स्थापित गर्नुका साथै अन्तरराष्ट्रिय प्रविधिहरूको आयात गर्न सहयोग पुग्छ । त्यस्तै, शान्तिपूर्ण प्रयोग मार्फत राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुर्याउन परमाणु प्रविधि केन्द्रको आवश्यकता महशूस भएको अवधारणापत्रमा उल्लेख छ । यसले मुलुकमा भौतिक पूर्वाधारहरूको विस्तार गर्न र मानवस्रोतको उपयोगिता बढाउन सहयोग गर्नेछ । यस प्रविधिको प्रयोग कृषि, उद्योग, स्वास्थ्य र वातावरणको विकासका लागि गरिने बताइएको छ ।
मन्त्रालयले प्रस्ताव गरेको अन्तरीक्ष प्रविधि केन्द्रमा भू–उपग्रह सञ्चार, टेलिभिजन प्रशारण, दूरसञ्चारसम्बन्धी उपकरणहरू रहने छन् । त्यस्तै उक्त केन्द्रले प्रकोप निरीक्षण, जल तथा मौसमसम्बन्धी अध्ययन, वातावरणीय सर्भेक्षण, रिमोट सेन्सिङ, भौगोलिक सूचना प्रणाली र ग्लोबल पोजिसनिङ सिस्टमको कामसमेत गर्ने छ । मन्त्रालयले सूक्ष्म (नानो) प्रविधि अध्ययन केन्द्रलाई मूलरूपमा १० ओटा क्षेत्रमा सूक्ष्म प्रविधिको प्रयोग गर्ने दायित्व दिने भएको छ । अवधारणापत्रमा नानो इलेक्ट्रोनिक्स, नानो मेडिसिन (औषधि), आणविक मिश्रण तथा जडान, परमाणुको सघनता, नानो फोटोनिक्स, परमाणुहरूको अवस्थिति, सूक्ष्म जैविक प्रविधि, कम्प्युटेशनल नानोटेक्नोलोजी र ऊर्जा तथा वातावरणमा सूक्ष्म प्रविधिको अध्ययन गर्न सूक्ष्म प्रविधि केन्द्र स्थापना गर्ने भनिएको छ । यी अध्ययन केन्द्रहरूले नेपालमा व्यावसायिक र प्रयोगात्मक शैक्षिक विकास, सृजनशील जनशक्तिको विकास र आर्थिक वृद्धि र अन्तरराष्ट्रिय प्रतिस्पर्धामा सहयोग पुग्ने अपेक्षा मन्त्रालयले गरेको छ ।
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2024 New Business Age Ltd. All rights reserved.