वैशाख ११, पोखरा ।
अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले आर्थिक वर्ष २०७०/७१ मा पूर्ण बजेट ल्याउन निजीक्षेत्रले सहयोग गर्नुपर्ने बताएका छन् । अर्थ मन्त्रालयले आगामी आवमा पूर्ण बजेट ल्याउने भन्दै त्यसमा निजीक्षेत्रको साथ जरुरी भएको उनले बताए । आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा उद्योग वाणिज्य महासङ्घ र पोखरा उद्योग वाणिज्य सङ्घद्वारा बुधवार पोखरामा आयोजित कार्यक्रममा मन्त्री कोइरालाले यस्तो बताएका हुन् । ‘विगतका वर्षबाट पाठ सिक्दै सरकार पूर्ण बजेट ल्याउने निष्कर्षमा पुगेको उनको भनाइ छ । आगामी बजेटमा सरकारले पूर्वाधार विकासलाई विशेष जोड दिने पनि उनले बताए । ‘आर्थिक विकासका लागि लगानी बढाउनुपर्ने देखिन्छ’ उनले भने, ‘लगानी वृद्धिका लागि पूर्वाधार विकास नै प्रमुख आवश्यकता हो ।’ त्यस्तै, मन्त्री कोइरालाले ऊर्जा सङ्कटको सबैभन्दा बढी मार व्यावसायीलाई परेको भन्दै लोडशेडिङ घटाउन पहल गर्ने वचन दिए । उद्योग तथा आपूर्ति मन्त्रीसमेत रहेका उनले आर्थिक विकासका लागि औद्योगिक विकास अनिवार्य रहेको बताए ।
कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले सरकारले राजस्वभन्दा पूर्वाधार विकासमा जोड दिएको बताए । उनले भने, ‘राजस्व सङ्कलन गरेर उपयुक्त ठाउँमा लगानी गर्नु नै सरकारको काम हो ।’ आर्थिक तथा पूर्वाधार विकासका लागि निजीक्षेत्रसँग निरन्तर सहकार्य गर्दै सरकार अगाडि बढ्ने उनको भनाइ छ । बजेटले निजीक्षेत्रलाई महतवपूर्ण स्थान दिने सुवेदीले प्रतिबद्धता व्यक्त गरे । कछुवा गतिको निर्यात बढाउन निजीक्षेत्रले सरकारलाई ठोस सुझाव दिनुपर्ने उनले बताए । उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले आगामी बजेटमा सरकारले जनताका अपेक्षालाई पूरा गर्नुपर्ने बताए । ‘निजीक्षेत्रले लगानीमैत्री वातावरणको अपेक्षा गरेको छ,’ उनले भने । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ राजस्व परामर्श समिति प्रमुख जगदीशप्रसाद राठीले सरकारसँग निजीक्षेत्रको तर्फबाट विभिन्न माग प्रस्तुत गरेका थिए । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सञ्जीवबहादुर कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सङ्घका द्वितीय उपाध्यक्ष ईश्वरप्रसाद कर्माचार्यले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमा पोखरा–काठमाडौं फाष्ट ट्र्याक, पोखरामा अन्तरराष्ट्रिय विमानस्थल, पोखरा–सौराहा–लुम्बिनी फाष्ट ट्र्याक निर्माण तत्काल शुरू गर्न सरकारसमक्ष माग गरिएको छ । कार्यक्रममा वालिङ उवासङ्घका अध्यक्ष पुण्यप्रसाद अर्याल, बागलुङ उवासङ्घका अध्यक्ष वसन्तकुमार श्रेष्ठ, पोखरा पर्यटन परिषद्का अध्यक्ष सूर्यबहादुर भुजेल, सिटी डेभलपमेण्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, लेखनाथ उवासङ्घका अध्यक्ष सुमन भट्टराईलगायतले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयबारे सुझाव दिएका थिए ।