काठमाडौं । पर्यटकीय राजधानी पोखरालगायत गण्डकी प्रदेश घुम्ने विदेशी पर्यटकले खाना र अन्य सेवाको भुक्तानी कार्ड, माोबाइल वालेटबाट भन्दा नगदै गर्ने गरेको एक अध्ययनले देखाएको छ । गण्डकी प्रदेश भ्रमण गर्ने अधिकांश विदेशीको बसाइ र खर्चको प्रवृत्तिबारे नेपाल राष्ट्र बैंकको पोखरा, अनुसन्धान एकाइले तयार गरेको ‘विशेष अध्ययन प्रतिवेदन २०८०/८१’ मा पर्यटकले आफ्नो बसोवास, खानपिन, यातायात, अन्य पर्यटकीय क्रियाकलाप र राजस्व भुक्तानी गर्न नगद माध्यम नै रोज्ने गरेको उल्लेख गरेको छ ।
अध्ययनमा संलग्न पर्यटकमध्ये ९४ दशमलव ९३ प्रतिशतले नगद, ४ दशमलव ९७ प्रतिशतले कार्डबाट र शून्य दशमलव १० प्रतिशतले मोबाइल वालेटबाट खर्चको भुक्तानी गरेको पाइएको छ ।
होटेल संघ नेपालको पोखरा च्याप्टर अध्यक्ष लक्ष्मण सुवेदीले कार्ड झन्झटिलो हुँदा पनि पर्यटकको रोजाइमा नगद भुक्तानी परेको हुन सक्ने बताए । ‘होटेल व्यवसायीले कार्डबाट भुक्तानी लिनुपरेमा यहाँका बैंकहरूले ३ दशमलव ७५ प्रतिशत सेवा शुल्क लिन्छन्,’ सुवेदीले भने, ‘यो शुल्क पर्यटक/ग्राहकको सेवामा पनि जोडिँदा सेवा नै महँगो हुने भएकाले पर्यटकले नगद नै तिर्छन्, व्यवसायीले पनि त्यही रोज्छन् ।’ उनका अनुसार भिसा कार्ड र क्रेडिट कार्डबाट भुक्तानी गर्दा सेवा शुल्क भनेर बैंकहरूले होटेल व्यवसायी (भेन्डर)सँग चर्को रकम लिन्छन् ।
उक्त अध्ययन प्रतिवेदनमा खर्चको भुक्तानी गर्दा नगद नै बढी प्रयोग हुनुको आधा दर्जनभन्दा बढी कारण औंल्याइएका छन्, जसमा कार्ड रिडिङ मेसिन सबै ठाउँमा सहज रूपमा उपलब्ध नहुनु, भएका मेसिनले सबै कार्ड स्वीकार नगर्नु, बैंकले लिने सेवा शुल्क धेरै हुनु, कार्डबाट नगद निकाल्ने सीमा थोरै हुनु, सबै ठाउँमा अनलाइन भुक्तानी गर्न नसक्नु, ई–पेमेन्टको सेटलमेन्टमा ढिलाइ हुनु र कार्डको माध्यमबाट भुक्तानी गर्दा वस्तु तथा सेवाको मूल्य नै बढी तिर्नपर्नु छन् ।
भारतीय पयर्टकका लागि भने नेपालले क्यूआर कोडमार्फत भुक्तानी गर्न बाटो खोलिदिएको छ । सन् २०२३ को जुन १ मा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सन् २०२४ को मार्च १ बाट नेपालले भारतीय पर्यटकलाई मोबाइलबाट भुक्तानी गर्ने सुविधा दिएको छ । यसका लागि डिजिटल वालेट कम्पनीहरू खल्ती र फोन पेले भारतको एनपीसीआई इन्टरनेशनल पेमेन्टसँग क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्ने बनाउन साझेदारी गरेका छन् । भारतले भने सोही सुविधा नेपालीलाई दिन ढिलाइ गर्दै आएको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भारतीय पर्यटकले भुक्तानीका लागि पीटूएम (पर्सन टू मर्चेन्ट) प्रविधि कार्यान्वयनमा आइसकेकोे बताए । पीटूएमबाट भारतीय पर्यटकले होटेल, रेस्टुरेन्ट र अन्य पर्यटकीय गतिविधिको भुक्तानी गर्न सक्छन् । पीटूएम श्रीलंकासँग पनि गर्न लागिएको उनले जानकारी दिए ।
भारतीय पर्यटकले भारतको मोबाइल बैंकिङ प्रयोग गरेर नेपालमा क्यूआरमार्फत होटेलको खानादेखि केबलकार जस्ता गतिविधिसम्मको पैसा तिर्न सक्ने प्रविधि विकास भएको छ । पछिल्लो समय यसको प्रयोग पनि बढ्दो क्रममा रहेको पौडेलको भनाइ छ । व्यवसायीहरूले कार्डको सेवा शुल्क महँगो हुँदा प्रयोगमा ल्याउन नसकेको बताएका छन् ।
पौडेलले पनि कार्डबाट हुने भुक्तानी केही महँगो हुने गरेको बताए । ‘कार्डबाट हुने भुक्तानी नेपालमा पनि महँगो छ,’ उनले भने, ‘किनभने कार्ड अन्तरराष्ट्रियस्तरबाट स्वीकार्य हुन्छ, यसमा दुईदेखि साढे २ प्रतिशतसम्म शुल्क लाग्ने गरेको छ । कारोबार बढेपछि यस्तो शुल्क पनि घट्न सक्छ ।’
राष्ट्र बैंक, पोखराकी निर्देशक बिना ढकाल पौडेलले यो अध्ययन पोखरामा पर्यटकको बसाइ अवधि कति छ भन्ने विषयमा केन्द्रित रहेको बताइन् । ‘यो अध्ययनबाट पर्यटकले ९० प्रतिशतभन्दा बढी खर्चको भुक्तानी नगदबाटै गर्ने गरेको पाइयो,’ उनले भनिन्, ‘किन नगदबाट भुक्तानी बढी छ भन्ने विषय छुट्टै अध्ययनको विषय होला, तर नगद भुक्तानी गर्न सजिलो र भ्रमणका लागि ग्रामीण भेगमा पनि जाने हुँदा पर्यटकले बाध्यताले नगद नै बोक्ने आकलन गर्न सकिन्छ ।’ साथै डिजिटल भुक्तानीका माध्यम पर्यटकलाई भरपर्दाे नलागेको र काम पनि नगरेको हुन सक्ने अनुमान उनको छ ।
अध्ययनअनुसार सबैभन्दा धेरै ८७ दशमलव ८० प्रतिशत विदेशी पर्यटकले बसाइ खर्चको भुक्तानी नगद, ११ दशमलव ९ प्रतिशतले कार्डबाट र शून्य दशमलव ३० प्रतिशतले वालेटबाट गर्ने गरेको देखिएको छ ।