काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा ८ दशमलव ६३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ६ दशमलव ३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँ छ । बोनस शेयर वितरण पछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड भन्दा बढी पुग्नेछ ।
यस वर्ष कम्पनीले गत वर्षको भन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष कम्पनीले २ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव १४ प्रतिशत नगद लाभांश गरी कुल २ दशमलव ८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।