काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड (Himal Dolakha Hydropower Company Limited)ले ७५ प्रतिशत हकप्रद शेयर (Rights Share) निष्कासनका लागि बुक क्लोज (Book Close)को मिति तय गरेको छ ।
कम्पनी (HDHPC)ले हकप्रद शेयर निष्कासनका लागि वैशाख २७ गते एक दिन बुक क्लोज गर्ने भएको हो । बुक क्लोजको आधारमा वैशाख २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको हकप्रद शेयर खरीद गर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजी (Paid up Capital)को आधारमा १ बराबर शून्य दशमलव ७५ को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गर्न नेपाल धितोपत्र बोर्ड (Sebon)बाट अनुमति पाइसकेको छ । वैशाख १२ गते बोर्डको अनुमति पाएसँगै कम्पनीले हकप्रद निष्कासन प्रक्रिया अघि बढाएको हो । निष्कासन मिति हालसम्म कम्पनीले तय गरेको छैन ।
कम्पनीले हाल कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६० करोड रहेका आधारमा ७५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो । हकप्रद शेयर विक्रीपछि कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
कम्पनीले ७५ प्रतिशत हकप्रद शेयर निष्कासनका लागि अनुमति माग्दै गत पुस २६ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । निवेदन दिएको छोटो अवधिभित्रै कम्पनीले हकप्रद शेयर निष्कासनका लागि बोर्डको अनुमति पाएको हो ।