काठमाडौं । धितोपत्रको दोस्रो बजारमा सूचीकृत होटेल तथा पर्यटन क्षेत्रका ६ कम्पनीमध्ये पाँचओटा खुद नाफामा रहेका छन् ।
चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार सिटी होटेल बाहेकका होटेल तथा पर्यटन क्षेत्रका कम्पनी नाफामा छन् । सोल्टी होटेल, तारागाउँ रिजेन्सी होटेल , चन्द्रागिरि हिल्स, ओरियण्टल होटेल्स र कालिञ्चोक दर्शन लिमिटेड नाफामा छन् ।
सिटी होटेल भने चालू वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ४९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा छ । ८० प्रतिशत हकप्रद शेयर निष्कासनको तयारीमा रहेको सिटी होटेल निरन्तर नोक्सानी घटाउने क्रममा छ । गतवर्षको दोस्रो त्रैमाससम्म सिटी होटेल ११ करोड ७९ लाख रुपैयाँभन्दा बढी खुद नोक्सानीमा थियो । यस वर्ष कम्पनीले ११ प्रतिशतले खुद नोक्सानी घटाएको छ । यस वर्ष कम्पनीको कुल आम्दानी घटे पनि वित्तीय खर्च कम हुँदा नोक्सानी कम भएको हो । सिटी होटेलले गत आव २०८०/८१ को ६ महीनामा २७ करोड ८५ लाख रुपैयाँभन्दा बढी कुल आम्दानी गरेकोमा यस वर्ष त्यस्तो आम्दानी २५ करोड ७१ लाख रुपैयाँभन्दा मााथि छ ।
गत आवको दोस्रो त्रैमाससम्म १७ करोड ४८ लाख रुपैयाँभन्दा बढी रहेको यो होटेलको वित्तीय खर्च यस वर्ष सोही अवधिमा १४ करोड २८ लाख रुपैयाँभन्दा बढी मात्र छ । सिटी होटेलको दोस्रो त्रैमाससम्म दीर्घकालीन कर्जा ३ अर्ब २८ करोड रुपैयाँभन्दा माथि र अल्पकालीन कर्जा ८ करोड १७ लाख रुपैयाँभन्दा माथि छ ।
सिटी होटेलका एक जना सञ्चालक तिलक कोइरालाले अहिले कम्पनी ऋणको भारमा रहेकाले ८० प्रतिशत हकप्रद निष्कासनपछि उक्त भार कम हुने बताए । सर्वसाधारणमा शेयर जारी गरेको २ वर्ष पूरा भएपछि मात्र हकप्रदमा जान सक्ने व्यवस्था रहेकाले सोहीबमोजिम हकप्रद शेयर निष्कासनको तयारी भइरहेको कोइरालाको भनाइ छ ।
हायात प्लेस ब्रान्डअन्तर्गत सञ्चालन हुँदै आएको यो कम्पनी २०८१ साल पुस १७ गतेबाट हायात सेन्ट्रिक ब्रान्डमा परिवर्तन भएको छ ।
‘सेवासुविधाको स्ट्यान्डर्ड अपग्रेड गरिरहेकाले छिट्टै कम्पनी नाफामा जाने विश्वास छ,’ कोइरालाले भने । संस्थागत सुशासन कायम राख्न कम्पनीले कर्जा भुक्तानीलाई नियमित गरेको र नगद आवश्यक परेको खण्डमा सञ्चालक समितिको निर्णयबमोजिम सञ्चालकहरूबाट विनाब्याज अल्पकालीन पेश्की लिई ऋणको ब्याज भुक्तानी भइरहेको कोइरालाले जानकारी गराए । दोस्रो त्रैमाससम्म कम्पनीले सञ्चालकलाई तिर्नुपर्ने पेश्कीबापतको रकम ४६ करोड ९५ लाख ८८ हजार रुपैयाँ रहेको समेत उनले बताए ।
सिटी होटेलबाहेकका सबै कम्पनी यस वर्ष खुद नाफामा छन् । गतवर्षको तुलनामा यस वर्ष ३ कम्पनीको मात्र खुद नाफा बढेको छ ।
सोल्टी होटेलले गतवर्षको दोस्रो त्रैमाससम्म २६ करोड ३१ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेकोमा यस वर्ष उक्त अवधिमा करीब १५ प्रतिशत बढी (३० करोड १७ लाख रुपैयाँभन्दा धेरै) खुद नाफा कमाएको छ ।
त्यस्तै चन्द्रागिरि हिल्सको गतवर्ष दोस्रो त्रैमाससम्मको खुद नाफा ६ करोड २८ लाख रुपैयाँभन्दा बढी रहेकोमा यस वर्ष सोही अवधिमा ६ करोड ६४ लाख रुपैयाँभन्दा माथि छ । गतवर्षको तुलनामा यस वर्ष चन्द्रागिरि हिल्सको खुद नाफा ५ दशमलव ७८ प्रतिशत बढी हो । तारागाउँ रिजेन्सी होटेलको खुद नाफा पनि यस वर्षको दोस्रो त्रैमाससम्म २ दशमलव ८४ प्रतिशत बढेको छ । गतवर्ष दोस्रो त्रैमाससम्म १८ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको उक्त कम्पनीले यस वर्ष बढाएर १८ करोड ६७ लाख रुपैयाँ नघाएको छ ।
यस वर्ष ओरियण्टल होटेल्सको खुद नाफा ४६ प्रतिशत घटेको छ । गतवर्ष ६ महीनामा ५ करोड ३४ लाख रुपैयाँभन्दा बढी खुद नाफा कमाएको ओरियण्टल होटेल्सले यस वर्ष सोही अवधिमा २ करोड ८८ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।
यस वर्ष ओरियण्टल होटेल्सको सञ्चालन आम्दानी घटेकाले खुद नाफा घट्न पुगेको हो । गतवर्षको दोस्रो त्रैमाससम्म ५६ करोड १ लाख रुपैयाँभन्दा बढी रहेको ओरियण्टलको सञ्चालन आम्दानी यस वर्षको सोही अवधिमा ४९ करोड १७ लाख रुपैयाँभन्दा बढी मात्र छ ।
कालिञ्चोक दर्शन लिमिटेड भने यस वर्ष खुद नोक्सानी सुधार्दै नाफा गर्न सफल भएको छ । गतवर्षको दोस्रो त्रैमाससम्ममा ८५ लाख ७० हजार रुपैयाँ खुद नोक्सानीमा रहेको कालिञ्चोक दर्शन यस वर्ष सोही अवधिमा ४७ लाख ४६ हजार रुपैयाँ खुद नाफामा छ ।
गतवर्ष ४६ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको कालिञ्चोक दर्शनले यस वर्ष ३ करोड ८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेकाले खुद नोक्सानी सुधार्दै खुद नाफामा गएको हो ।
होटेल तथा पर्यटन क्षेत्रका ६ कम्पनीमध्ये तीनओटाले लामो समयदेखि लगानीकर्तालाई लाभांश वितरण गर्दै आएका छन् । तारागाउँ रिजेन्सी होटेल्स, सोल्टी होटेल्स र ओरियण्टल होटेल्सले यस वर्ष पनि लगानीकर्तालाई लाभांश वितरण गरेका छन् । अन्य क्षेत्रका धेरैजसो कम्पनीले यस वर्ष लगानीकर्ताको हात खाली बनाउँदा होटेल तथा पर्यटन क्षेत्रका तीन कम्पनीले लाभांश वितरण गरे । यस वर्ष सोल्टी होटेलले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि २६ दशमलव ५७ प्रतिशत नगद लाभांश गरी कुल ३१ दशमलव ५८ प्रतिशत लाभांश वितरण गरेको हो ।
आव २०७५ सालपछि लाभांश वितरण नगरेको ओरियण्टल होटेल्सले यस वर्ष करसमेत ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गरेको छ । तारागाउँ रिजेन्सी होटेलले भने ५ प्रतिशत बोनस शेयर र करसमेत ११ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश यस वर्ष वितरण गरेको हो । पछिल्ला वर्षहरूमा शेयर जारी गरेका चन्द्रागिरि हिल्स, कालिञ्चोक दर्शन र सिटी होटेल भने विस्तारै लाभांश वितरण गर्न सक्ने क्षमताको कम्पनी बन्ने प्रयासमा रहेका छन् ।