पर्यटन विभागबाट पाँचतारा स्तरीय होटेलको स्वीकृति लिने होटेलको संख्या १७ पुगेको छ । नेपालमा पछिल्लो समय पाँचतारा स्तरको होटेल खोल्ने क्रम बढेको छ । यद्यपि यी काठमाडौंमा नै केन्द्रित छन् । बढ्दो होटेल संख्याले व्यवसायीमा पर्यटन व्यवसाय फस्टाउने आशा बलियोसँग रहेको देखाउँछ । त्यस्तै विदेशी लगानी पनि पर्यटन क्षेत्रमा बढ्दै छ । कुल पर्यटक आगमन १० लाख नाघेको छ तर यतिले मात्रै होटेलहरूले पूरा व्यवसाय पाउने सम्भावना कम देखिन्छ । पाँचतारे होटेल र लक्जरी रिसोर्टको संख्या बढ्नु भनेको गुणस्तरीय पर्यटकको संख्या बढ्नु हो । यो सम्भावना देखेर थाइल्यान्डको दुसित थानी नेपाल आएको छ भने कम्बोडियाको सिन्तामणि पनि नेपालमा आएको छ । पाँचतारे होटेलहरूको व्यवस्थापन विश्वका ठूला चेनहोटेलहरूले लिएका छन् । उनीहरूले व्यवसाय विस्तार गर्न आफै विज्ञापन गर्छन् । यसले विशेष स्वाद र रुचि भएका पर्यटकलाई नेपाल ल्याउन मद्दत गर्ने देखिन्छ । जसरी होटलमा लगानी बढेको छ त्यसअनुसार पर्यटक नआउँदा यसमा गरिएको लगानी जोखिमपूर्ण देखिएको छ ।
पाँचतारे होटेलहरू काठमाडौंमा बढी केन्द्रित देखिन्छन् । तर, नेपाल आउने पर्यटक पक्कै पनि काठमाडौंमा मात्रै घुम्नका लागि आउँदैनन् । त्यसो हुँदा यस्ता होटेल प्रमुख पर्यटकीय क्षेत्रमा बन्नु आवश्यक देखिन्छ । पर्यटनको राजधानी भनिने पोखरामा एउटामात्रै पाँचतारे होटेल छ । अर्को पाँचतारे होटेल फूलबारी समस्यामा परेको छ र सञ्चालन हुन सकेको छैन । सुविधाका हिसाबले पाँचतारेसरहका होटेल भए पनि पाँचतारे होटेल पोखरामा एउटामात्रै सञ्चालन हुनुले गुणस्तरीय पर्यटन त्यति सहज छैन भन्ने देखाउँछ ।
सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो ।
पाँचतारे मात्रै होइन तीन र चारतारे होटेलका साथै ताराविहीन होटेलहरूको संख्या पनि निकै बढेको छ । अर्थात् नेपालमा हस्पिटालिटी क्षेत्रमा लगानी बढेको छ । अहिले सबै होटेलको कोठाको संख्या हेर्दा वार्षिक २० लाख पर्यटक आए पनि धान्ने देखिन्छ । तर, पर्यटकको संख्या १० लाख मात्रै नाघेको छ । यसले यी होटेल पर्याप्त मात्रामा सञ्चालन हुन नसक्ने देखिन्छ । यद्यपि पछिल्ला समय विश्वका धनाढ्यहरूले खुसुक्क नेपाल भ्रमण गर्न थालेको देखिन्छ । विश्वका उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा नेपाल सधैंजसो नै परिरहने गरेको छ । तर, उत्कृष्टको सूचीमा परेर पनि त्यसअनुसार पर्यटक ल्याउन भने नेपाल चुकिरहेको छ ।
सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीहरूले लगानी गर्ने हुन् । तर, पर्यटन आउने मुख्य माध्यम विमानस्थल नै कमजोर छ । एकमात्र अन्तरराष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थललाई पूर्ण क्षमतामा २४ सै घण्टा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक छ । त्यस्तै नेपालको वायुसेवा अन्तरराष्ट्रिय क्षेत्रमा जति विस्तार हुन्छ त्यति नै पर्यटकको संख्या बढ्छ । सीधा उडान हुँदा हुने सहजता र समयको बचतको लाभ पर्यटकले लिन पाउँछन् र गुणस्तरीय पर्यटन बढ्छ । नेपाल वायुसेवा निगमले अन्तरराष्ट्रिय उडानको विस्तार गर्न सकेको छैन । विदेशी वायुसेवा कम्पनीको महँगो भाडादरका कारण पनि पर्यटक नेपाल आउन तर्सिरहेको अवस्था छ ।
सरकारले पूर्वाधार निर्माण र सञ्चालन गर्न नसक्दा लगानीमा कस्तो असर पर्छ भन्ने कुरा भैरहवा र लुम्बिनी क्षेत्रका होटेलहरूले भोग्नुपरेको पीडाले बताउँछ । गौतमबुद्ध विमानस्थल चल्छ भन्ने हिसाब गरेर त्यहाँ ठूलो संख्यामा होटेलमा लगानी भयो । तर, विमानस्थल चल्न सकेन । अहिले व्यवसायीहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । सरकारले बनाउने पूर्वाधार र उसले लिने नीतिका आधारमा व्यवसायीले लगानी गर्छन् । सरकारले त्यसअनुसार काम गर्न सकेन पनि निजीक्षेत्रको लगानी डुब्नेमात्र होइन, सरकारप्रतिको विश्वास नै हराउँछ । यो निकै डरलाग्दो समस्या हो । त्यसैले सरकारले सही नीति लिनुपर्छ र त्यसअनुसार काम गर्नुपर्छ ।