काठमाडौं । होटल ईच्छा लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि तयारी अघि बढाउँदै निष्कासन तथा विक्री प्रबन्धक नियुक्त गर्ने कार्य सम्पन्न गरेको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड नियुक्त भएको हो । बुधवार भएको विक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा होटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेवन्त प्रसाद धौभडेल र हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।
मधेश प्रदेशको बारास्थित पाँचतारे होटलको रुपमा होटल ईच्छा सञ्चालनमा रहेको छ । कम्पनीको अधिकृत पूँजी २ अर्ब रुपैयाँ र जारी पूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले जारी पूँजीको २० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २० करोड रुपैयाँ कायम छ ।२०७४ सालमा योगगुरु बाबा रामदेवबाट उद्घाटन भई चारतारे श्रेणीमा सञ्चालनमा आएको होटलले २०७९ मा पाँचतारे मान्यता प्राप्त गरेको थियो ।
५ विघा क्षेत्रफलमा फैलिएको यस होटलमा १०० वटा सुविधा सम्पन्न कोठा, स्वीमिङ पूल, क्यासिनो, स्पा, बैंक्वेट, क्लब हाउसलगायत संरचना रहेका छन् । हाल सञ्चालनमा रहेको मिनी क्यासिनोलाई स्तरीय भवनमा सार्ने र भारतको प्रसिद्ध होटल व्यवस्थापन समूहसँग सहकार्य गरी होटल सञ्चालन गर्ने तयारी अन्तिम चरणमा पुगेको जानकारी कम्पनीले दिएको छ । होटललाई भारतको बिहार प्रदेशका नागरिकका लागि डेस्टिनेशन म्यारिज र क्यासिनो गन्तव्यका रूपमा प्रवद्र्धन गरिँदै आएको छ । काठमाण्डौ–निजगढ फास्ट ट्र्याक तथा सिमरा विमानस्थलको सहज पहुँचले होटललाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने लक्ष्य कम्पनीले लिएको छ । कम्पनीले आगामी आर्थिक वर्षभित्र आईपीओ निष्कासन गरिसक्ने गरी काम अघि बढाईएको जानकारी दिएको छ ।