बागमती प्रदेश सभाले हस्तकला ग्राम स्थापना तथा सञ्चालनसम्बन्धी विधेयक पारित गरेपछि ११९ पालिकामा यस्तो ग्राम स्थापना गरी सञ्चालन गर्ने बाटो खुलेको छ । हस्तकला ग्राम खोल्नेबारेमा झन्डै १ दशकदेखिको प्रयास सफलता उन्मुख हुँदा हस्तकला उद्योगी उत्साहित हुनु स्वाभाविक हो तर यस्तो ग्रामको स्थापनामा व्यावहारिकता र उद्यमसँग सम्बद्ध पक्षलाई राम्ररी हेरिएन भने विशेष आर्थिक क्षेत्र (सेज)को नियति भोग्नुपर्ने अवस्था आउन सक्छ ।
अहिले मुलुक संघीयतामा गएकाले हस्तकला ग्राम स्थापना गर्ने कानूनी व्यवस्था बागमती प्रदेशले गरेको देखिन्छ । यद्यपि नेपाल सरकारले २०६९ सालमा नै यस्तो ग्राम बनाउन स्थान चयन गरी काम अघि बढाएको थियो । हस्तकला ग्राम निर्माण गरेर हस्तकलाको बजार स्वदेशमा मात्र नभई निर्यातमा पनि धेरै सहयोग पुग्ने अपेक्षा गरिएको थियो ।
मुलुकमा हस्तकलाअन्तर्गत चाँदीका गरगहना, धागो, पश्मिना, हाते कागज, गलैंचालगायत ४० भन्दा बढी वस्तु उत्पादन हुन्छन् । यी वस्तुको उत्पादनका लागि विभिन्न क्षेत्र प्रसिद्ध पनि छन् । तर, बागमती प्रदेशले मात्रै हस्तकला ग्राम बनाउन पर्याप्त हुँदैन । यद्यपि हस्तकलाको उत्पादन र व्यापार यही प्रदेशमा बढी हुने देखिन्छ । त्यसैले अहिलेका लागि बागमती प्रदेशले काम थाल्नुलाई सकारात्मक मान्नुपर्ने हुन्छ ।
विधेयक पारित भएपछि त्यसअनुसार अब ग्राम स्थापनाका लागि नियमावली र निर्देशिकाहरू बनाउन आवश्यक हुन्छ । त्यसपछि मात्रै ग्राम स्थापनाको प्रक्रिया शुरू हुन्छ । तर, बागमतीका ११९ पालिकामै ग्राम स्थापना गर्नु व्यावहारिकताका दृष्टिले सम्भव र उपयुक्त देखिँदैन । त्यस्तै एउटा ग्रामका लागि कम्तीमा पनि ३/४ रोपनी जग्गा आवश्यक पर्छ । त्यसअनुसार जनशक्ति, कच्चा पदार्थ पनि आवश्यक हुन्छ । तर, त्यसअनुसार ग्राम स्थापना भए भने पनि ती सञ्चालनमा आउन सक्ने सम्भावना कति हुन्छ भन्न सकिँदैन ।
हस्तकलामा प्रायः स्थानीय स्रोतको प्रयोग हुन्छ र त्यसमा कालिगडीको आवश्यकता हुन्छ । अहिले सञ्चालनमा रहेका हस्तकला उत्पादकहरूले दक्ष जनशक्तिको अभाव खेप्न थालिरहेका छन् । यस्तोमा हस्तकला ग्राममा आवश्यक कालिगड कसरी प्राप्त होला ? त्यसका लागि तालीम, अप्रेन्टिसशीप आदिको व्यवस्था हस्तकला महासंघले गर्नुपर्ने हुन्छ ।
त्यस्तै, हस्तकलाका लागि आवश्यक कच्चा पदार्थको समस्या देखिन थालेको छ । अहिले सञ्चालनमा रहेका कतिपय उद्योगले यो समस्या भोगिरहेका छन् । यस्तोमा हस्तकला ग्राम स्थापनाले कसरी यसको उत्पादन बढाउन र गुणस्तर कायम हुन सक्छ भन्नेमा ध्यान जानु आवश्यक छ । हतारमा पालिकापिच्छे खोलिने ग्रामले सहयोगभन्दा पनि भोलि घाँडो बन्ने सम्भावना हुन्छ । यस्तो ग्रामभन्दा खासमा यस्ता साना उद्योगलाई निर्यातमा सहजीकरण गर्न निर्यात केन्द्रको स्थापना बढी सहयोगी हुन्छ ।
नेपालमा पर्याप्त अध्ययन विना हचुवामा संस्था स्थापना भएका छन् तर तिनले परिणाम दिन सकेका छैनन् । एक गाउँ एक उत्पादन जस्ता नारा सरकारले लगाएकै हो तर त्यो नारामा सीमित भएको छ । अहिले पालिकैपिच्छे हस्तकला ग्राम स्थापना गर्ने बागमती प्रदेशको प्रयास झट्ट हेर्दा आकर्षक छ । महासंघले पनि माग गरेको छ तर त्यसरी हस्तकला ग्राम खोल्नुभन्दा कच्चा पदार्थ र जनशक्तिको उपलब्धता हेरेर नमुनाका रूपमा केही सम्भाव्य ठाउँमा मात्र हस्तकला ग्राम स्थापना गर्नु बढी उपयुक्त हुन्छ । हस्तकला भनेको परम्परागत प्रविधि र स्थानीय स्रोतको सम्मिश्रण हो । तर, कच्चा पदार्थ सहज रूपमा उपलब्ध हुन नसकेको गुनासो उद्योगीको छ । कच्चा पदार्थको संरक्षण र संवर्द्धनमा पनि लाग्नु जरुरी छ ।
भारतमा सञ्चालित हस्तकला ग्रामको सफलता हेरेर नेपालमा पनि त्यस्तै ग्राम आवश्यक देख्नु अन्यथा होइन । तर, यस्तो उद्योगका लागि आवश्यक चक्र पूरा नहुने हो भने यस्तो ग्राम उपयोगी हुने सम्भावना कम हुन्छ । विशेष आर्थिक क्षेत्रकै कारण चीनले निर्यात बढाउन सकेको तर्कका आधारमा नेपालमा यस्तै क्षेत्र स्थापना गरिए पनि अझै ती पूर्ण सञ्चालनमा आउन सकेका छैनन् । निर्यातको कुरा नै हटाउनुपर्ने अवस्था देखिएको छ । त्यसैले हस्तकला ग्राम स्थापनामा पनि यी पक्षमा ध्यान जानु आवश्यक छ ।