नेपालको उदीयमान क्षेत्र सूचना प्रविधिमा महिलाको सहभागिता अत्यन्तै न्यून रहेको एक अध्ययनले देखाएको छ । सूचनाप्रविधिमा महिला (डब्ल्यूआईआईटी) नामक संस्थाले सार्वजनिक गरेको ‘सफलताका बाधाहरू : सूचना, सञ्चार तथा प्रविधि क्षेत्रमा महिलाको अवस्था’ नामक अनुसन्धान प्रतिवेदनअनुसार आईसीटी कम्पनीमा महिलाहरूको सहभागिता ७ दशमलव ८८ प्रतिशत मात्र रहेको छ । नेपालले समावेशी नीति लिए पनि यस क्षेत्रमा महिला सहभागिता कम हुँदा महिला सशक्तीकरण अभियान नै प्रभावित हुने देखिन्छ ।
सूचनाप्रविधि क्षेत्रमा क्रियाशील विभिन्न संस्थाका आँकडालाई मान्ने हो भने नेपालमा हाल सूचनाप्रविधि क्षेत्रमा वार्षिक ५ हजारभन्दा बढी दक्ष जनशक्ति उत्पादन भइरहेको छ । दशक अघिसम्म यस्तो जनशक्तिमा महिलाको अंश एकदमै कम हुने गरेकामा अहिले भने उल्लेख्य वृद्धि भएको ती संस्थाले बताएका छन् । तैपनि महिला सहभागिता निकै कम छ । मूलतः मुख्य प्राविधिक काममा महिलाको सहभागिता धेरै रहे पनि आईसीटीको प्रयोगबाट चल्ने अन्य कम्पनीमा शून्य दशमलव ५१ प्रतिशत मात्रै महिला सहभागिता छ ।
प्रतिवेदनअनुसार आईसीटी क्षेत्रमा सहभागीमध्ये सबैभन्दा धेरै २५ वर्षभन्दा कम उमेरका महिला छन् । १८ देखि २५ वर्षसम्मका ४५ दशमलव ५४ प्रतिशत र २६ देखि ३५ वर्षसम्मका ४३ दशमलव ७० प्रतिशत महिला सहभागी छन् । त्यस्तै त्योभन्दा बढी उमेरसमूहका महिलाको सहभागिता निकै कम देखिन्छ । यसले नेपालमा आईसीटीमा महिला सहभागिता बढ्दै जाने देखाउँछ ।
आईसीटी क्षेत्रमा कार्यरत महिलामध्ये उच्च तहमा १९ दशमलव ५५ प्रतिशत, मध्यम तहमा ४० दशमलव ४ प्रतिशत कार्यरत रहेको देखिएको छ । पीएचडी तहको शिक्षा पाएका शून्य दशमलव ६४ प्रतिशत, स्नातकोत्तर गरेका २० दशमलव ९५ प्रतिशत र स्नातक गरेका ६७ दशमलव १ प्रतिशत छन् । अझै पनि सूचनाप्रविधि विषय अध्ययन गर्ने महिलाको संख्या सन्तोषजनक देखिएको छैन । खासमा सूचना प्रविधि क्षेत्रमा महिलाको आकर्षण बढी हुनुपर्ने हो तर त्यसो हुन सकेको छैन । उच्चमाध्यमिक तह उत्तीर्ण गर्नेमा महिलाको संख्या बढ्दै गएको छ तर त्यसअनुपातमा सूचनाप्रविधिको उच्च शिक्षामा महिलाको संख्या अपेक्षितमा मात्रामा बढ्न सकेको छैन ।
काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय दुवैमा आईसीटी विषयमा पढ्ने विद्यार्थीमा महिलाको संख्या न्यून छ । त्रिभुवन विश्वविद्यालयको अन्डरग्य्राजुएट तहमा आईसीटी विषय पढ्ने महिलाको अंश ३० दशमलव २८ प्रतिशत र काठमाडौं विश्वविद्यालयमा १३ दशमलव ५५ प्रतिशत छ । स्नातकोत्तर तहमा २० प्रतिशतभन्दा कम महिला भर्ना हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।
सूचना प्रविधिमा पुरुषले बढी प्रगति गर्छ भन्ने सोच रहेको पाइन्छ । त्यसमा पनि महिलाहरूलाई विश्वविद्यालयको अध्ययनमा विषय चयन गर्दा सूचनाप्रविधिका बारेमा आवश्यक मार्गदर्शन नभएको पनि देखिन्छ । खासमा जहाँबाट पनि काम गर्न सकिने र समयको पनि सीमा नभएका हुँदा महिलाहरूको आकर्षण यस विषयमा हुनुपर्ने हो । तर, त्यसो हुन सकेको छैन । करिअरको शुरुआतमा काम गर्ने नराम्रो वातावरण र व्यक्तिगत तथा व्यावसायिक जिम्मेवारी सन्तुलनमा ल्याउन गाह्रो भएकाले महिलाको संख्या कम भएको प्रतिवेदनमा उल्लेख छ । घरमै बसेर पनि अन्तरराष्ट्रिय काम गर्न सकिने भएकाले महिलाका लागि यो राम्रो पेशा हो । अन्य पेशामा भन्दा यस क्षेत्रमा महिलाका लागि समस्या कम हुनुपर्ने हो तर उच्च तहसम्म अध्ययन नगरेकाले यस्तो समस्या आएको हुन सक्छ ।
अन्य देशमा यस क्षेत्रमा महिलाले पाउने तलब पुरुषको दाँजोमा कम हुने गरेको पाइन्छ । त्यस्तै यस क्षेत्रको मुख्य नेतृत्वकर्ता पुरुषहरूमात्रै भएकाले महिलाले काम गर्न गाह्रो मानेको पनि देखिन्छ । त्यस्तै स्टीम अर्थात् विज्ञान, प्रविधि, गणित जस्ता विषय अध्ययन गर्नेमा विश्वमै महिलाको अंश न्यून रहेको छ । नेपालमा पनि यी नै कारण महिला सहभागिता कम भएको देखिन्छ । महिला सशक्तीकरणका लागि आईसीटी क्षेत्रमा महिलाका उपस्थिति बढाउन आवश्यक छ । त्यसका लागि करियर काउन्सिलिङमा ध्यान दिनुपर्छ र विषय चयनमा सहजीकरण गर्न पनि आवश्यक देखिन्छ ।