काठमाडौं । विगतमा हस्तकला क्षेत्रमा विदेशी लगानी आएमा स्वदेशी उद्योग धराशयी हुने खतरा देख्ने हस्तकला उत्पादक अहिले यो क्षेत्रमा विदेशी लगानीप्रति सकारात्मक हुन थालेका छन् । खासगरी हस्तकला क्षेत्रमा नवीन प्रविधि ल्याई देशको हस्तकलालाई अन्तरराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन विदेशी प्रविधि हस्तान्तरण आवश्यक भइसकेको उनीहरूको ठहर छ ।
विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले हस्तकला क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीमाथि रोक लगाएको छ । तर, ऐनअनुसार विदेशी लगानीकर्ताले नेपालमा स्थापित कुनै उद्योगमा प्रविधि हस्तान्तरण गरी विदेशी लगानी गर्न सक्छन् । उक्त प्रावधानअनुसार विदेशी प्रविधि ल्याउन प्रयत्न गर्नुपर्ने हस्तकला उद्योगीको भनाइ छ । उनीहरूका अनुसार हालसम्म यो क्षेत्रमा प्रविधि हस्तान्तरणमार्फत प्रविधिमा लगानी आएको छैन ।
‘हस्तकलाको २/३ थरी उद्योगमा विदेशी प्रविधि हामीलाई चाहिएको छ,’ नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य भन्छन्, ‘एउटा धातु मूर्तिकला (मेटल क्राफ्ट) व्यवसायमा करोडांैको प्रविधि आवश्यक पर्छ । बजारको हिसाबले अर्काे ज्वेलरीका साथै ऊनीजन्य उत्पादन (पश्मिना)का लागि पनि प्रविधि खोजिएको हो ।’
खासगरी धातुजन्य हस्तकला निर्माण गर्दा स्वास्थ्य र वातावरणीय जोखिम रहेको र त्यसलाई न्यूनीकरण गर्ने प्रविधि विदेशमा भएकाले व्यवसायीले नेपाल ल्याउन खोजेका हुन् । हस्तकलाका लागि कतिपय कच्चा पदार्थ विकास गर्न विदेशी प्रविधि आवश्यक पर्ने शाक्यको भनाइ छ ।
उद्योगीका अनुसार विगतमा प्रत्यक्ष विदेशी लगानी ल्याउन नहुनेमा जोड दिँदै आए पनि विदेशी प्रविधि पनि भित्रिन नसक्दा विश्व बजारले चाहेअनुसार हस्तकला उत्पादन गर्न नेपाली उत्पादकहरूले अनेकौं चुनौती भोग्दै आएका छन् । विदेशी लगानीसँगै प्रविधि पनि हस्तान्तरण हुने हुँदा विदेशी लगानीसँग डराउन नहुने कतिपय विज्ञहरूले बताउँदै आएका छन् ।
रिचुअल ह्यान्डी क्राफ्टका प्रोप्राइटर सनम शाक्यले पनि हस्तकलामा प्रविधि भित्त्याउने उद्योगीहरूको चाहना रहेको बताए । नेपालमा हातेकागजको उत्पादन र निर्यात बढाउन विदेशबाट लोक्ता कुहाउने, कागज सुकाउने, प्राकृतिक रूपमा रहेको फाइबरबाट कपास बनाउने, धागो कात्नेजस्ता प्रविधि ल्याउनुपर्ने बताए ।
यस्ता प्रविधि नेपालमा भन्दा विदेशमा गुणस्तरीय पाउने भएकाले ल्याउन खोजिएको हो । नीतिगत रूपमा हस्तकलाजन्य उद्योगमा प्रविधि हस्तान्तरण गर्न पाउने व्यवस्था भएकाले यसमा प्रविधि भित्त्याउन पहल गरिने उनको भनाइ छ । हस्तकलाजन्य उद्योगको क्षमताअनुसार मूर्तिमा सुन लगाउने प्रविधिका लागि ४/५ करोड रुपैयाँ लगानी आवश्यक पर्छ । अहिले हस्तकलाजन्य वस्तु निर्यातमा गुणस्तरको विषय पनि उठ्ने गरेको छ । ससाना उद्योग तथा व्यवसायका लागि १ करोड रुपैयाँसम्म र योभन्दा बढी लगानीको प्रविधि आवश्यक हुन्छ । ‘नेपालबाट निर्यात हुने वस्तुमा कीटनाशक छैन भनेर प्रमाणित गरेरमात्रै निकासी गर्नुपर्छ,’ शाक्यले भने, ‘यसका लागि फ्युमिगेशन प्रविधि खोजिएको हो ।’
विभिन्न उद्योगका लागि नयाँ–नयाँ प्रविधि आवश्यक परेको हुँदा नेपालको तुलनामा गुणस्तरीय र राम्रो हुने भएकाले विदेशी प्रविधि ल्याउन खोजिएको हस्तकला उद्योगीको भनाइ छ । अहिलेसम्म हस्तकलाको क्षेत्रमा प्रविधिमा लगानी हस्तान्तरण गरेर लगानी नआएको व्यवसायी बताउँछन् । महासंघका महानिर्देशक उत्तम देवकोटाले प्रविधिका साथै एकीकृत कार्यस्थल (सीएफसी) मा पनि यस्तो विदेशी प्रविधि खोजिएको जानकारी दिए । ‘अर्काे एकीकृत कार्यस्थल (सीएफसी) बनाउने र त्यहाँ प्रविधि खोजिएको छ,’ देवकोटाले भने, ‘घरमै बसेर काम गर्दा पर्याप्त मात्रामा स्थान नपुग्ने हुँदा उद्योगमा परिणत गर्न सकिएको छैन भने अर्काेतर्फ वातावरणका कुराले गर्दा एकीकृत कार्यस्थल बनाउन सम्भाव्यता अध्ययन भएको छ ।’ सीएफसी सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययनले यस्तो कार्यस्थल सञ्चालन गर्न सकिने देखाएको छ । उक्त प्रतिवेदनले हस्तकला कार्यस्थल ललितपुरमै बनाउन सकिने सम्भावना देखाएको छ । अर्काेतर्फ बागमती प्रदेश सरकारले ‘बागमती प्रदेश हस्तकला ग्राम सञ्चालन विधेयक’ पारित गरेको छ । यो प्रदेशका ११९ ओटै पालिकामा स्थानीय विशेषतामा आधारित हस्तकला ग्राम बनाउने योजना अघि सारेको छ । ‘बागमतीमा मात्र होइन, सातै प्रदेशमा हस्तकला ग्राम हुनुपर्छ भन्ने हाम्रो माग छ,’ महासंघका अध्यक्ष शाक्यले भने, ‘हस्तकला ग्राममा विदेशी प्रविधि आवश्यक छ ।’
हस्तकला व्यवसाय घरमै बसेर पनि गर्न सकिने भएकाले यो क्षेत्रमा प्रत्यक्ष रूपमा करीब ११ लाख मानिसले रोजगारी पाइरहेको महासंघको तथ्यांक छ । महासंघका अनुसार वार्षिक १२ अर्ब रुपैयाँको हस्तकला निकासी हुँदै आएको र सोही रकम बराबरको कारोबार घरेलु बजारमा पनि हुने गरेको महासंघको तथ्यांक छ । ‘हालसम्म पनि नेपाली हस्तकलाको सम्भावनामध्ये जम्मा १० प्रतिशत मात्रै उपयोग भएको छ,’ महासंघका अध्यक्ष शाक्यले भने, ‘सम्भावनाको ९० प्रतिशत क्षमता उपयोग गर्न नवीन अन्तरराष्ट्रिय प्रविधि आवश्यक छ ।’