नेपाल हस्तकला महासंघले छुट्टै हस्तकला विनियमावली बनाएर सरकारसमक्ष पेश गर्ने तयारी गरेको छ । मुलुकमा सञ्चालित अन्य सानाठूला विविध उद्योगभन्दा हस्तकला उद्योग अलग प्रकृतिको भएकाले प्रचलित श्रम ऐनले यसको विशिष्ट आवश्यकतालाई समेट्न नसक्ने महासंघको भनाइ छ ।
राष्ट्रिय कला, संस्कृति र शीपको जगेर्ना गर्दै हस्तकलालाई प्रवर्द्धन र विस्तार गर्न श्रम ऐनमा यसका लागि छुट्टै व्यवस्था गर्नुपर्ने महासंघको भनाइलाई निश्चय पनि हल्का ढङ्गबाट लिन मिल्दैन । कच्चापदार्थ जम्मा गरेर एउटा उद्योग सञ्चालन गर्नु र हस्तकला उद्योग सञ्चालन गर्नुमा आकाशजमीनको फरक छ । मिहिन ढङ्गबाट अधिकांश काम हातले नै गर्नुपर्ने हुँदा हस्तकला व्यवसाय वास्तवमै अत्यन्त संवेदनशील कार्य हो । काठ, माटो, धातु, ढुङ्गा, कागज, कपडा, छाला, बाँसलगायत वस्तुलाई हातकै माध्यमबाट सुन्दर र मनमोहक आकृति दिनु हस्तकलाको विशेषता हो । यस कार्यमा संलग्न व्यक्तिलाई हस्तकलाको सिद्धान्त र शीपले निपुण भएपछि मात्र कालिगढ कहलाइन्छ ।
(सम्पादकीयबाट) वर्ष ८, अंक ८४, बुधवार २७ मङ्सिर, २०६९