विराटनगर । माघ दोस्रो सातादेखि विराटनगरको डिग्री क्याम्पस मैदानमा हुने आठौं संस्करणको विराट एक्स्पोमा विद्यार्थीका लागि करिअर काउन्सेलिङ पेभिलियनको व्यवस्था गरिने भएको छ । एक्स्पोले औद्योगिक तथा व्यावसायिक दक्ष जनशक्तिको उत्पादनदेखि रोजगारीका लागि विदेश जाने तयारीमा रहेका शैक्षिक जनशक्तिलाई स्वदेशमै रोकेर रोजगारीका अवसर सृजनाको प्रयास गर्ने आयोजक उद्योग संगठन मोरङले बताएको हो ।
त्यसकै लागि एक्स्पोमा विद्यार्थीका लागि करिअर काउन्सेलिङ पेभिलियनको व्यवस्था गरिएको आयोजकले बताएको हो । एक्स्पो अवधिभरमा करीब २५ सय विद्यार्थीलाई करिअर काउन्सेलिङ गर्ने लक्ष्य राखिएको छ ।
शिक्षित जनशक्तिका लागि उद्यमशीलताको इकोसिष्टम प्रवर्द्धन गर्ने उद्देश्य राखिएको एक्स्पोमा व्यावसायिक विकासका सबै सेवा, बिटुबि, बजार, प्रविधि, गुणस्तर, मानव स्रोत र शीपका साथै साना घरेलु कृषि उद्योग लगायत सबै विषयमा जानकारी गराइनेछ । एक्स्पोमा विद्यार्थीका लागि गाइडेड टुरको समेत व्यवस्था गरिएको आयोजकको भनाइ छ ।
एक्स्पोले विशेष गरेर विद्यार्थीका लागि बिटुबि पेभिलियन र यस अन्तर्गतका विभिन्न कार्यक्रम, स्टार्टअप पेभिलियनमा रहेको भिजन कोशी ह्याकाथन, रोजगार कोशी पेभिलियनमा रहेको करिअर काउन्सेलिङ, श्रमको माग र आपूर्तिकको शृंखला बुझाउने कक्ष, जब ब्रिज, लाइभ तालीम अवलोकनका बारेमा छुट्टाछुट्टै छलफल तथा जानकारी गराउने आयोजकले बताएको छ ।
त्यसैगरी डिजिटल पेभिलियनमा भएका नवीनतम प्रविधि, उद्योग कृषि पर्यटन सेवा लगायत उत्पादन वस्तु तथा सेवाका बारेमा जानकारी तथा अवलोकनको अवसर प्रदान गरिनेछ । हरेक पेभिलियनमा रहेका कर्मचारीले आवश्यक जानकारी गराउनेछन् भने हरेक दिन विशेष आकर्षणका रूपमा सम्बन्धित क्षेत्रका विज्ञहरूलाई आमन्त्रण गरेर साक्षात्कार गरिनेछ ।
प्लस टु र त्यसभन्दा माथि अध्ययनरत विद्यार्थीलाई लक्षित गरिएको यस कार्यक्रमअन्तर्गत प्रत्येक दिन पाँचओटा कलेजबाट प्रतिकलेज ५० जना विद्यार्थी सहभागी गराइनेछ । सम्बन्धित कलेजलाई विद्यार्थीको समूह सहभागी गराउन आह्वान गरिएको छ । हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म सञ्चालन हुने यस कार्यक्रममा प्रवेश नि:शुल्क रहने आयोजकले बताएको छ ।