काठमाडौं। होटल संघ नेपालले स्थापना दिवसको अवसरमा माघ २ गते ‘नेपाल सत्कार दिवस २०२५’ सम्पन्न गरेको छ । गत वर्षदेखि मनाउन शुरू गरिएको सत्कार दिवस प्रत्येक वर्ष मनाउने होटल संघ नेपालका अध्यक्ष विनायक शाहले बताए ।
अध्यक्ष शाहले राष्ट्रिय तथ्यांक कार्यालयले हालै सार्वजनिक गरेको तथ्यांकले देशमा १ लाख ४२ हजारभन्दा बढी होटल तथा रेस्टुराँ सञ्चालनमा रहेको, १ लाख १६ हजारभन्दा बढी होटल कोठा उपलब्ध रहेको, नेपालमा रेस्टुराँले २२ लाख ग्राहकलाई सेवा दिन सक्ने क्षमता देखाएको बताए । अन्तरराष्ट्रिय ब्राण्डका ठूला तारे होटलले नेपालमा झन्डै ३५ लाख पर्यटक/ग्राहकलाई स्तरीय सेवा प्रदान गर्न सक्ने क्षमता विकास गरेको उनको भनाइ छ ।
अस्तव्यस्त राजमार्गका कारण १०/१२ घण्टा लगाएर काठमाडौंबाट पोखरा पुग्नुपर्ने बाध्यताले बिदा मनाउन, रमाइलो गर्न आउने पर्यटक मर्कामा परेको उनले बताए । गतवर्ष भएका हवाई तथा सडक दुर्घटनाका साथै नेपाली एयरलाइन्स युरोपियन युनियनको कालोसूचीमा रहँदा समस्या झन् बढेको अध्यक्ष शाहले बताए ।
कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संघबाट प्रकाशित नेपाल होटल इयर बुक विमोचन गरे । मन्त्री पाण्डेले राज्यले पर्यटन क्षेत्रलाई नजिकबाट हेरेको भन्दै मुलुकको पर्यटनलाई सहज बनाउन र पर्यटक आवागमन बढाउन मन्त्रालय तथा सिंगो सरकार लागिपरेको जानकारी गराए । निजीक्षेत्रसँगको समन्वयविना पर्यटनलाई अगाडि बढाउन नसकिने भन्दै उनले मन्त्रालयबाट हुने हरेक क्रियाकलापमा निजी क्षेत्रसँगको सहकार्य गर्दै आएको बताए ।
कार्यक्रममा विभिन्न समयमा आयोजना गरिएका भ्रमण वर्षका संयोजकहरूलाई सम्मान समेत गरिएको थियो । उक्त सम्मान नेपाल भ्रमण वर्ष १९९८ का संयोजक कर्ण शाक्य, नेपाल पर्यटन वर्ष २०११ का संयोजक योगेन्द्र शाक्य र नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यलाई प्रदान गरिएको थियो ।