विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले हस्तकला क्षेत्रमा प्रत्यक्ष विदेशी लगानीमाथि रोक लगाएको छ । तर, ऐनअनुसार विदेशी लगानीकर्ताले नेपालमा स्थापित कुनै उद्योगमा प्रविधि हस्तान्तरण गरी विदेशी लगानी गर्न सक्छन् । उक्त प्रावधानअनुसार विदेशी प्रविधि ल्याउन प्रयत्न गर्नुपर्ने हस्तकला उद्योगीको भनाइ छ । हस्तकला क्षेत्रको मौलिकता जोगाउन र विदेशी लगानीबाट स्वदेशी उद्योगलाई संरक्षण गर्न उद्योगीकै आग्रहमा यस क्षेत्रमा विदेशी लगानीमा रोक लगाइएको हो । अहिले व्यवसायीले विदेशी लगानी आवश्यक रहेको बताएकाले पर्याप्त अध्ययन गरी विदेशी लगानी स्वीकार्ने नीतिमा जान सकिन्छ ।
नेपालको हस्तकला क्षेत्रले १० लाखभन्दा बढीलाई रोजगारी दिएको छ । नेपालबाट निर्यात हुने वस्तुमा हस्तकलाको वस्तुको अंश ठूलो छ । नेपाली हस्तकलाका वस्तुहरू वार्षिक करिब १२ अर्ब रुपैयाँ मूल्य बराबरको विश्वका ६० भन्दा बढी देशमा निकासी भइरहेको छ । स्वदेशी बजारमा पनि रुचाइने यी वस्तुको कुल बजार २४ अर्ब हाराहारीमा रहेको छ । कुल निर्यातमा हस्तकला क्षेत्रको अंश ६ प्रतिशत रहेको पाइन्छ । हस्तकलाका उत्पादनका लागि स्वदेशी कच्चा पदार्थको अत्यधिक प्रयोग हुन्छ र मूल्यअभिवृद्धि पनि बढी नै हुन्छ । तर, कतिपय हस्तकलाका सामानको उत्पादन गुणस्तरीय बनाउन सकिएको छैन । उदाहरणका लागि नेपाली हातेकागजलाई लिन सकिन्छ । हातेकागजको उत्पादन र व्यवसायीकरणमा विदेशी सहयोग रहे पनि गुणस्तरीय उत्पादनमा अझै कमजोरी छ । यसको गुणस्तर र उत्पादन बढाउन विदेशी लगानीबाट नवीन प्रविधि भित्त्याउन सकिन्छ । त्यतिमात्र होइन, लोक्ताको उत्पादन घट्दै गएकाले यसको संवद्र्धन गर्न सानो आकारको पूँजीले काम गर्दै आएका व्यवसायीले पर्याप्त लगानी गर्न नसक्ने अवस्था छ । त्यस्तै धातुका सामानको निर्माणमा पनि देखिन्छ । यद्यपि यस्ता वस्तुको उत्पादन पुख्र्यौली पेशाका रूपमा आएको समेत पाइन्छ । त्यसो हुँदा सबै उद्योगीले विदेशी लगानीलाई स्वीकार्छन् भन्ने छैन ।
धातुजन्य हस्तकला निर्माण गर्दा स्वास्थ्य र वातावरणीय जोखिम रहेको र त्यसलाई न्यूनीकरण गर्ने प्रविधि विदेशमा भएकाले व्यवसायीले त्यसका लागि विदेशी लगानी ल्याउन खोजेको देखिन्छ् । हस्तकलामा विदेशी प्रविधि भित्रिन नसक्दा विश्व बजारले चाहेअनुसार हस्तकला उत्पादन गर्न नसकिएको अवस्था पनि छ । विदेशी लगानीसँगै प्रविधि पनि हस्तान्तरण हुँदा उत्पादन र निर्यात परिमाण बढाउन सकिन्छ । तर, विदेशी लगानीले खोस्न सक्ने हस्तकला क्षेत्रको मौलिकता र स्वदेशी श्रमका बारेमा भने घोत्लिन आवश्यक हुन्छ । विदेशी लगानी ल्याउन आवश्यक भएको हो भने विदेशी लगानीबाट हुने लाभ र हानि दुवै पक्षमा राम्ररी अध्ययन हुन जरुरी छ । हस्तकलाका सामान हातले बनिएकाले नै मन पराइएका हुन् र त्यही कारण ग्राहकहरू उच्च मूल्य तिर्न तयार भएका हुन् । अब मेशिनको प्रयोग गरी ती वस्तु बनाइए भने गुणस्तर, एकरूपता आदि राम्रो भए पनि कतिपय ग्राहकको रोजाइमा नपर्न पनि सक्छन् ।
अहिले हस्तकलाजन्य वस्तु निर्यातमा गुणस्तरको विषय पनि उठ्ने गरेको छ । ससाना उद्योग तथा व्यवसायका लागि १ करोड रुपैयाँसम्म र योभन्दा बढी लगानीको प्रविधि आवश्यक हुन्छ । नेपालबाट निर्यात हुने वस्तुमा कीटनाशक छैन भनेर प्रमाणित गरेरमात्रै निकासी गर्नुपर्छ । यसका लागि फ्युमिगेशन प्रविधि आवश्यक पर्छ जसका लागि विदेशी लगानी आवश्यक पर्ने देखिन्छ ।
विदेशी लगानी आउँदा निर्यातका लागि पनि केही सहज हुन्छ । चिनियाँ लगानीका सामान चीन निर्यात गर्न सहज भएको देखिएकाले हस्तकलाका क्षेत्रमा पनि त्यस्तै हुने अपेक्षा गरिएको छ । यसले प्रतिस्पर्धा बढ्ने र प्रतिस्पर्धाले गुणस्तर बढाउन मद्दत पुग्ने देखिन्छ । स्रोतको दिगो व्यवस्थापन, समान गुणस्तर र समान आपूर्तिजस्ता पक्षका लागि पनि विदेशी लगानी आवश्यक पर्छ । त्यसैले हस्तकलामा विदेशी लगानी स्वीकार्नु नै हुन्न भन्ने सोचबाट बाहिर आउनु आवश्यक देखिन्छ ।