काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ४६ दशलमव ४४ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा कम्पनीले रू. २४ करोड ४ लाख नाफा कमाएकोमा गत आवमा घटेर रू. १२ करोड ८७ लाखमा झरेको हो । गत आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज बढेसँगै नाफा घट्न पुगेको हो । अघिल्लो आवमा कम्पनीको इम्पेयरमेन्ट चार्ज रू. १ करोड ६७ लाख रहेकोमा गत आवमा बढेर रू. ८ करोड ४५ लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज बढेसँगै कम्पनीको सञ्चालन नाफा ४५ दशलमव ८९ प्रतिशत घटेको हो ।
नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ५१ पैसा रहेकोमा गत आव २० रुपैयाँ ८१ पैसामा सीमित भएको छ । त्यस्तै गत आवमा कम्पनीको मूल्य आम्दानी अनुपात ५० दशमलव ९९ गुणा, तरलता अनुपात १५ दशमलव ६१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव ४३ रहेको छ ।
कम्पनीको चुक्ता पूँजी रू. ६१ करोड ८९ लाख छ । त्यस्तै कम्पनीले जगेडामा रू. ५२ करोड ८७ लाखभन्दा बढी सञ्चिति गरेको छ । गत आवमा कम्पनीको वितरणयोग्य नाफा रू. ६ करोड २१ लाख छ ।