जलाशययुक्त आयोजनाको निर्माण नभएसम्म लोडशेडिङको अन्त्य नहुने धारणा विज्ञहरूले राखेका छन् । नेपाल विद्यावारिधि सङ्घ र साहस हाइड्रो पावर कम्पनी लिमिटेडद्वारा शनिवार आयोजना गरिएको ‘नेपालमा जलविद्युत् विकास : अवसर र चुनौती’ नामक अन्तक्र्रिया कार्यक्रममा विज्ञहरूले त्यस्तो धारणा राखेका हुन् ।
‘लोडशेडिङको अन्त्य गर्ने हो भने जलाशययुक्त आयोजनाको निर्माण गर्नुको विकल्प छैन,’ पूर्व जलस्रोत सचिव बालानन्द पौडेलले भने, ‘बूढीगण्डकी र पश्चिम सेतीलगायतका ठूला आयोजना निर्माण भएमा ५–६ वर्षभित्र नै लोडशेडिङको अन्त्य गर्न सकिन्छ ।’ अहिले बर्खायाममा दैनिक साढे ६ घण्टा लोडशेडिङ भइरहेको छ । आगामी हिउँदमा दैनिक १९ घण्टासम्म लोडशेडिङ हुने पूर्वानुमान गरिएको छ ।
सरकारले पनि जलाशययुक्त आयोजनाहरू निर्माणमा तत्परता देखाएको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्नका लागि लगानी बोर्ड र चीनको थ्री गर्जेज कम्पनीबीच सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । यो आयोजना सन् २०१९ सम्ममा निर्माण सम्पन्न गर्ने योजना रहेको छ । यसैगरी ६ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजनाको विस्तृत अध्ययनका लागि फ्रान्सको ट्याकबेललाई छनोट गरिएको छ ।
वर्ष ७, अंक ३५१, आइतवार १७ भदौ, २०६९