चैत १९, काठमाडौं (अस) । रसुवागढी र साञ्जेन जलविद्युत कम्पनीका आयोजना पनि जनताको जलविद्युत आयोजना कार्यक्रममा समेटिएका छन् । ऊर्जामन्त्री वर्षमान पुनको अध्यक्षतामा सोमवार बसेको ‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ संयोजन समितिको बैठकले यी दुबै कम्पनीका आयोजनालाई जनताको जलविद्युत आयोजना कार्यक्रममा समेट्ने निर्णय गरेको हो ।
पहिलो चरणमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी र चिलिमे जलविद्युत् कम्पनीका कर्मचारीलाई आईपीओ जारी गरिसकेका यी कम्पनीहरुले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने तयारी गरेका छन् । आयोजना प्रभावित स्थानीयलाई भने आईपीओ जारी गर्न बाँकी छ । दुबै कम्पनीहरुले स्थानीयलाई भन्दा पहिला सर्वसाधारणको लागि आईपीओ विक्री गर्ने भएका हुन् ।
सर्वसाधारणका लागि आईपीओ जारी गर्न यी दुबै आयोजनाले नेपाल धितोपत्र बोर्डको स्वीकृति पाईसकेका छन् । बोर्डले चैत १० गने दुबै आयोजनालाई सर्वसाधारणको लागि आईपीओ जारी गर्ने अनुमति दिइसकेको छ । बोर्डले रसुवागढी हाईड्रोपावर लिमिटेडलाई रू. १ अर्ब २ करोड ६३ लाख १५ हजार बराबरको १ करोड २ लाख ६३ हजार १५० कित्ता र साञ्जेन जलविद्युत् कम्पनीलाई रू. ५४ करोड ७५ लाख बराबरको ५४ लाख ७५ हजार कित्ता शेयर जारी गर्न अनुमति दिएको हो ।
रसुवा जिल्लामा साञ्जेनले १४ दशमलव ८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन र ४२ दशमलव ५ मेगावाट क्षमताको साञ्जेन गरी दुई आयोजना निर्माण गरिरहेको छ । त्यस्तै रसुवागढी आयोजनाको क्षमता १११ मेगावाट छ । यी आयोजना चिलिमे जलविद्युत कम्पनी अन्तर्गत निर्माण भईरहेका आयोजना हुन् ।
‘जनताको जलविद्युत आयोजना कार्यक्रम’ अन्तर्गत पहिलो पटक त्रिशूली जलविद्युत कम्पनीले सर्वसाधारणलाई आईपीओ जारी गरी बाँडफाँट गरिसकेको छ । त्यस आयोजनामा पहिलो चरणमा १० प्रतिशत मात्र रकम लिईएको छ ।
यस्ता आयोजनामा सर्वसाधारणले पहिलो चरणमा १० प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था रहेको छ । दोस्रो चरणमा आयोजनाको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएपछि मात्र ९० प्रतिशत रकम बुझाउनुपर्ने व्यवस्था छ । साञ्जेन र रसुवागढी जलविद्युत कम्पनीका आयोजनाको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भईसकेको कम्पनीले जानकारी दिएको छ ।
१९ ओटा आयोजना रहेको जनताको जलविद्युत आयोजना कार्यक्रममा यी दुई आयोजना थपिएसँगै अब २१ ओटा पुगेको छ ।