बाहिरी दुनियाँमा पढेलेखेकाले देश बदले, समाज बदले, आफू बदलिए । यो देखेर नेपाली अभिभावक पनि बदलिए । अचेल आमाबुवाहरू आफ्नो कमाइको ठूलो हिस्सा छोराछोरीको पढाइमा खन्याइरहेका छन् । महँगा स्कुल र कलेजमा तिनीहरू धाइरहेछन् । फस्ट बेच्नमा बसेर जीवनमा पनि फस्ट हुने चक्करमा आफ्ना सपना सजाइरहेछन् । तर बबुराहरूलाई के थाहा ? लास्ट बेन्चमा बसेर फेल हुनेले फस्ट बेन्चमा बसेर फस्ट हुनेलाई कजाउने जमाना हो यो भनेर । कोशीका मुख्यमन्त्रीजीले त भाषणै ठोके, ‘लास्ट बेन्चमा बसेर मुख्यमन्त्री भएँ, फस्ट बेन्चमा बस्ने खरिदार छन् ।’ मुख्यमन्त्रीले यसरी खोकेपछि अब तपाईं चाहिँ पैसासैसा बाँकी छ भने धोक्न थाल्नुस् । छोराछोरीलाई लास्ट बेन्चमा बस्न उचाल्नुस् । आखिर मन्त्री, मुख्यमन्त्री, प्रधानमन्त्रीहरूले नपढेरै देश चलाएकै छन् । नाम र दाम कमाएकै छन् । तपाईं चैं पैसो खर्च गरी गरी किन छोराछोरी पढाउनु हुन्छ हँ ?
यी दिनहरूमा शिक्षा क्षेत्रमा परीक्षाका चक्रव्युह चलिरहेका छन् । यता र उता पास गराउने गिरोहहरू पनि सक्रिय छन् । उनीहरू विद्यार्थीहरूलाई पास हुनका लागि उक्साउने पनि गरिरहेका छन् । यो गिरोहमा शिक्षक र कतिपय कुलपति, उपकुलपतिहरू पनि सामेल छन् । उनीहरू विद्यार्थीलाई पढेर पास हुने, अझ राम्रो अंक ल्याएर डाक्टर, इन्जिनियर आदि बन्ने भनेर एउटा घटिया कामतर्फ प्रवृत्त गराइरहेका छन् । यस्ता उडन्ते शिक्षकहरूका चक्करमा पर्नु हुन्न है !
इतिहास साक्षी छ, जो फेल हुन्छ, उही नै मुख्यमन्त्री वा प्रधानमन्त्री बन्छन् । आठ कक्षा पास गरेका ओली प्रधानमन्त्री भए । स्कुल बन्द गर्दै हिँड्ने, शिक्षक पिट्दै हिँड्ने प्रधानमन्त्री छन् । शिक्षाका बारेमा केही थाहा नपाउने पनि चुनाव लडेर ठ्याक्क शिक्षामन्त्री बन्न सक्छन् । कोशीका मुख्यमन्त्री मात्र होइनन् देशमा के प्रदेश, के संघ सबैतिर प्राय: ब्याकबेन्चरहरू नै मन्त्री, मुख्यमन्त्री बनेका छन् । त्यसैले त यहाँ प्रत्येक मान्छे फेल हुन चाहन्छ ।
तर फेल हुनु सबैको भाग्यमा कहाँ हुन्छ र ! तर त्यो अभागी परीक्षक ! ऊ खाली कापीमा पनि सफा उत्तरको नम्बर दिएर विद्यार्थीलाई पासको चक्रव्युहमा फसाइदिन्छ । नपत्याए हिजोआजका बिए, एमए वा एमबिए पासलाई नै हेर्नुस् न । तिनलाई बोलाएर परीक्षा लिनुस् । नेपालीमा एक पेज शुद्ध केही लेख्न लगाउनुस् न, अनि थाहा पाउनुहुनेछ उसको पढाइको स्तर । हो, उसले महँगो शुल्क तिरेर केही अंग्रेजी शब्दहरू लेख्न र कम्प्युटरमा बसेर केही कोर्न भने अघि सर्छ । तर कामप्रतिको उसको जिम्मेवारीबोध, सुझबुझ त उसलाई शिक्षकहरूले पढाएकै हुन्नन् । त्यसैले ऊ केबल एक डिग्रीधारी, घमण्डभारी पदाधिकारी चैं बन्छ । घोकेर लोकसेवा पास गरेर हाकिम बनेकाहरूको काम कारबाहीलाई नै हेरे पुग्दैन र ?
त्यसैले यी तमाम शिक्षक – परीक्षकहरूको षड्यन्त्र मात्र हो कि कसरी हो कुन्नि विद्यार्थीलाई पास गराउँछन् । बिचरा विद्यार्थी अर्को वर्ष फेरि फेल हुनका लागि कडा मेहनत गर्छ । विद्यार्थी युनियनमा आबद्ध भएर राजनीति गर्छ । कलेज, युनिभर्सिटीमा ताला लगाउँछ, नेताकहाँ धाउँछ । तर ती सबै प्रयासहरू बेकार सावित हुन्छन् । उसका परीक्षाका कापीहरू परीक्षकका छोराछोरी वा छिमेकीले जाँचेर भए पनि पास गराएरै छाड्छन् । आखिर जाँचकीले पनि के गरून् ? उनीहरूको आआफ्नै बाध्यता होला पास गराउन । नत्र कलेज कसरी भर्ने ? कलेज भरिएन भने आफ्नो पेट र कलेज सञ्चालकका ढुकुटी कसरी भर्ने ? फेल हुनका लागि केटाकेटी दिनरात मेहनत त गर्छन् । यस्तोमा नियत र हौसला उच्च छ भने त निश्चित हुन्छ कि उनीहरू फेल हुने आफ्नो लक्ष्य प्राप्त गर्ने नै छन् । उनीहरू शानदार ढंगले फेल भएर सबैका लागि नयाँ उदाहरण बन्न सफल पनि हुन्छन् ।
‘कोसिस गर्नेको कहिल्यै हार हुँदैन’ यो सबैले भन्छन् । तर पटकपटक कोसिस गरेर पनि फेल हुन सकिएन भने फेरि के गर्ने त ? यो कुरा कसैले भन्दैन पनि । यदि ‘ट्राई अगेन’को सूत्र पूरै जान्न चाहने हो भने त गुरुहरूबाटै सिक्नोस् । यदि एक–दुईपटक कोसिस गरेर पनि फेल हुन सकिएन भने फेरि के गर्ने त ?
असली गुरुहरू भन्नुहुन्छ कि फेल हुनु नै जीवनको असली उद्देश्य हुनुपर्छ । फेल हुनु नै जीवनको सार हो । जो फेल हुन्छ, उसैले संसारमा राज गर्दछ । जो पास हुन्छन्, उनीहरू पढी नै रहन्छन् । अनि कुनै जागीरमा अल्झिन्छन् । फेरि त्यसपछि पनि पढी नै रहन्छन् । जिन्दगीमा पढ्दै पढ्दै सड्दै जान्छन् । त्यसैले फेल हुनुमै जीवनको असली आनन्द छ ।
त्यसैले फेल हुनका लागि दिलोज्यानले कोसिस गरिरहनुस्, प्रयासरत रहनुस् । तपाईंको जीवनको बाटोमा पास गराउन त हजारौं शत्रु आउनेछन् । तर असली खुसी तब मिल्नेछ, जब तपाईं फेल भएर दुनियाँमा आफ्नो नाम चम्काउनुहुनेछ । यहाँ सतत संघर्ष त फेल हुने नै चलिरहेको छ । तर यहाँ गुरुहरू परीक्षामा पास गराउन षड्यन्त्र रचिरहेका छन् । तर तिमी हिम्मत नहार ! फेल हुनका लागि तन, मन, धनले प्रयास गरिरहू । राम्रो तरीकाले फेल हुनका लागि आफूलाई फेलमार्गमा पूरै समर्पण गर । जीवनको संघर्षमा फेल भएरै निखार ल्याउने हो, बहार आउने हो ।
जीवनको यात्रामा जो फेल भएर अघि बढ्छ, पछि गएर ऊ नै राजा महाराजा कहलिन्छ । पास भैहाले पनि निराश हुनु हुँदैन । एकपटक फेरि पनि फेल हुनका लागि संघर्षरत रहनुपर्छ । फेल हुनु नै खुसीहरूको मूल हो । जो पास हुन्छन्, ती त केवल भूल हुन् । पास हुनेहरूको जीवनमा शूल नै शूल हुन्छन् । फेल हुनु नै सफलताको पुल हो । यसरी फेल हौ कि तिम्रो बारेमा कथा बनोस् । तिम्रो एउटा गाथा बनोस् । अनि त पास हुनेहरूको बोली बन्द हुनेछ । त्यसैले आउनोस्, तपाईं पनि फेल हुनका लागि एउटा नयाँ कोसिस गर्नुहोस् । किनकि जो फेल हुनेछ, उही मन्त्री बन्नेछ, मुख्यमन्त्री वा प्रधानमन्त्री बन्नेछ ।