काठमाडौं। ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सोमवार काठमाडौंमा सम्पन्न भएको छ । साधारणसभामा बैंक सञ्चालक समितिका सदस्य, पूर्वअध्यक्ष तथा सञ्चालक, शेयरधनी, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीको उपस्थिति थियो । साधारणसभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदनसहितका विभिन्न प्रतिवेदन छलफलसहित पारित गरेको थियो ।
साधारणसभाले बैंकको संस्थापक शेयरधनी समूहको तर्फबाट हरिचन्द्र खड्का, रामकुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहको तर्फबाट ध्रुव कोइराला र नरेशराज आचार्यलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको बताइएको छ । सभाले बैंकको सहायक कम्पनी ज्योति क्यापिटलको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ ।
सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षा अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिको जानकारी गराएका थिए । साधारणसभामा उठेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष हरिचन्द्र खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।
साथै, सभा सम्पन्न भएपछि बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित हरिचन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको बताइएको छ । खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा थिए । बैंकको हालको चुक्तापूँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको बताइएको छ । बैंकले हाल १२१ शाखा, ३ विस्तारित काउन्टर तथा ७५ एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।