आजको आधुनिक युगमा काँचविनाको भौतिक साधन र संरचनाको कल्पना गर्न पनि नसकिने भएको छ । भान्छाका भाँडाकुँडा, सजावटका वस्तुदेखि भौतिक संरचनाहरूमा जहाँकहीँ यसको प्रयोग हुने हुँदा यसलाई बहुआयामिक भन्न सकिन्छ । ढुङ्गे युगदेखि नै तीर र चक्कुहरू बनाउन प्राकृतिक काँचको प्रयोग हुँदै आएको छ । काँचको औद्योगिक उत्पादन हुन थालेपछि विविध प्रयोगका लागि आवश्यकताअनुसार उत्पादन गर्ने गरिन्छ । ज्वालामुखी काँचजस्ता केही काँचहरू प्राकृतिक रूपमा पनि प्राप्त हुन्छन् ।
काँच बनाउने काम कम्तीमा ३६०० ईसापूर्व मेसोपोटामिया, इजिप्ट वा सिरियामा भएको थियो । कुनै पनि आकारमा सजिलैसँग बन्न सक्ने भएकाले काँचलाई परम्परागत रूपमा भाँडाकुँडा, फूलदान, बोतल, जार र पिउने गिलासजस्ता भाँडाकुँडा बनाउन प्रयोग गरिन्छ । लगभग ७० प्रतिशत सिलिका भएको सोडा–चुनाको काँचले आधुनिक निर्मित काँचको लगभग ९० प्रतिशत अंश ओगटेको छ । काँच तयार गर्ने प्रक्रियामा धातुको लवणजन्य यौगिक थपेर रङ्गीन काँचहरू तयार गरिन्छ । अथवा तयार भएको काँचको बाहिरी भागमा इनामेलले रंगाउन र छपाइ पनि गर्ने गरिन्छ । काँचका झ्यालहरू र अन्य काँच कला वस्तुहरूमा यसको प्रयोग हुन्छ ।
काँचको आवर्तक, परावर्तक र प्रसारण गुणहरूले काँचलाई अप्टिकल लेन्स, प्रिज्म र अप्टोइलेक्ट्रोनिक्स सामग्रीहरू निर्माण गर्न उपयुक्त बनाउँछ । ग्लास फाइबरहरूमा सञ्चार सञ्जालहरूमा अप्टिकल फाइबर, ग्लास उल, थर्मल इन्सुलेटेड सामग्री, फाइबरग्लास आदि विविध रूपमा यसको प्रयोग गरिन्छ । काँच पारदर्शी र रासायनिक रूपमा निष्क्रिय हुन्छ । काँचबाट झ्यालका फलकहरू, टेबलवेयरहरू र अप्टिक्सका व्यावहारिक, प्राविधिक र सजावटी प्रयोगका सामान बन्छन् । काँच सामान्यतया मुख्यतया सिलिका (बालुवा), सोडा खरानी र चुनढुङ्गाबाट बनाइन्छ । बालुवा (सिलिका अर्थात् सिलिकन डाइअक्साइड), सोडा खरानी (सोडियम कार्बोनेट), र चुनढुङ्गा (क्याल्सियम कार्बोनेट) लाई एकसाथ पगालेर झोल रूपमा काँच तयार गरिन्छ । त्यसपछि पग्लिएको मिश्रणलाई चिसो पारेर आकार दिइन्छ । काँच बनाउने मुख्य घटक सिलिका (बालुवा) लगभग ७० प्रतिशत हो । यसको प्रयोगले काँचको मुख्य निर्माण ब्लक (सिलिकन डाइअक्साइड) प्रदान गर्छ । सोडा खरानीले बालुवालाई पग्लन सजिलो बनाउँछ । चुनढुङ्गा (क्याल्सियम कार्बोनेट) ले तरल पदार्थमा घुल्नबाट रोक्छ, काँचमा स्थिरता र स्थायित्व थप्छ ।
पग्लने ऊर्जा कम गर्न कुलेट (पुनप्र्रयोग गरिएको टुटेफुटेका काँचका टुक्राहरू) लाई पुनर्नवीकरण गरिएको काँचको रूपमा प्राय: थपिन्छ (३० प्रतिशत सम्म) । पग्लनु अघि एक समान संरचना सुनिश्चित गर्न कच्चा पदार्थहरू सावधानीपूर्वक तौलिन्छ र मिसाइन्छ । मिश्रणलाई लगभग १५०० देखि १७०० डिग्री सेल्सियस तापक्रममा तताइएको भट्टीमा हालिन्छ र तताइन्छ जबसम्म ती तरल हुँदैनन् । पग्लिएको काँचलाई विभिन्न विधिमार्फत चिसो पारिन्छ र इच्छित रूपमा आकार दिइन्छ ।
विशिष्ट आकारहरू सृजना गर्न पग्लिएको काँचलाई मोल्डिङ गर्ने, पग्लिएको काँचलाई रोलिङ गरी पाताका रूपमा तयार गर्ने, ब्लोपाइप प्रयोग गरी हावाद्वारा चाहिएअनुसारको आकार दिइन्छ । आन्तरिक तनाव कम गर्न र फुट्नबाट रोक्न काँचलाई त्यसपछि नियन्त्रित तरीकाले बिस्तारै चिसो पारिन्छ । काँचका प्रकारहरू र तिनीको प्रयोग पनि फरक फरक हुन्छ । सोडा–लाइम काँच सबैभन्दा सामान्य हो जुन झ्यालबोतल बनाउन प्रयोग हुन्छ । बोरोसिलिकेट काँच ताप प्रतिरोधीहुन्छ र प्रयोगशाला, पाइरेक्सजस्ता कुकवेयरमा प्रयोग हुन्छ । टेम्पर्ड ग्लास बलियो र सुरक्षित हुन्छ र कारको झ्याल, नुहाउने ढोका आदि बनाउन प्रयोग हुन्छ । लेमिनेटेड ग्लास विन्डशिल्ड आदि बनाउन प्रयोग हुन्छ । अप्टिकल ग्लास चश्मा, क्यामेरा आदि बनाउन प्रयोग हुन्छ । काँच गुणस्तरमा क्षतिविना १०० प्रतिशत रिसाइकल गर्न सकिन्छ । नयाँ काँच उत्पादन गर्न टुक्रिएको क्युलेट पगालिन्छ, ऊर्जा र कच्चा पदार्थ बचत हुन्छ ।
यसरी हेर्दा खासै जटिल प्रविधिको आवश्यकता नपर्ने काँचको उत्पादन नेपालमा हुन सकेको छैन । काँच तथा काँचबाट बनेका सामानहरूको आयात तथा निर्यातको अवस्था बारेमा भन्सार विभागबाट प्रकाशित तथ्यांकको आधारमा विश्लेषण गरिएको छ ।
आर्थिक वर्ष (आव) २०७६/७७ मा रू. ५ अर्ब ६७ करोड मूल्यको काँच आयात भएको थियो । त्यसपछिका वर्षहरूमा प्रत्येक वर्ष आयातमा क्रमश: वृद्धि हुँदै आएको छ । आव २०७८/७९ सम्ममा रू. १० अर्ब १२ करोड मूल्यको आयात भएको थियो । त्यसपछिका वर्षहरूमा आयातमा ओरालो लाग्दै आव २०८०/८१ सम्ममा रू. ९ अर्ब ७ करोड मूल्यको आयात
भएको थियो । चालू आवको प्रथम ८ महीनामा रू. ६ अर्ब ६० करोड मूल्यको आयात
भएको छ ।
काँच र काँचबाट बनेका वस्तुहरू (ग्लासवेयर) शीर्षक ७० अन्तर्गत चालू आवको प्रथम ८ महीनामासबैभन्दा बढी आयात भएका वस्तुमा ठूलो काँचको बोतल, फ्लास्क, जार, भाँडा आदि छन् जसको आयात मूल्य रू. २ अर्ब ९२ करोड रहेको छ । यो कुल काँच आयातको ४४ दशमलव ३ प्रतिशत अंश ओगटेको छ । यी वस्तुहरू भारत, चीन र श्रीलङ्काबाट प्रमुख रूपमा आयात भएका पाइन्छ । दोस्रो, तारविहीन, परिष्कार नगरिएको, पाताका रूपमा तैयाएर बनाएको, घोटेको र चम्काइएको काँच रू. १ अर्ब ६८ करोड मूल्यको आयात भएको छ ।
यसको अंश २५.५ प्रतिशत रहेको छ । आयात गरिएका मुलुकहरू भारत, बंगलादेश, चीन र थाइल्यान्ड प्रमुख रहेका छन् । तेस्रो र चौथो आयात भएका वस्तुमा चुरा, टीका, टिकुली (जसको आयात प्रमुख रूपमा भारत र चीनबाट भएको) र पोते (प्रमुख आयात गरिएको मुलक चीन, जापान, भारत र चेक रिपब्लिक) प्रमुख रूपमा रहेका छन् । यी वस्तुको जम्मा ८ करोड ५४ लाख मूल्यको आयात भएको छ ।
आव २०७६/७७ मा रू. ८१ करोड ९३ लाख मूल्यको काँच निर्यात भएको थियो । आव २०७८/७९ सम्म वृद्धि हुँदै करीब रू. १ अर्ब. ७१ करोड २४ लाखको निर्यात भएको देखिन्छ । गत आव २०८०/८१ मा रू. १ अर्ब ७ करोड १२ लाख मूल्यको निर्यात भयो । चालू आवको प्रथम ८ महीनामा भने ६३ करोड ८१ लाख मूल्यको काँच निर्यात भएको छ ।
यसरी निर्यात भएका काँचबाट बनेका वस्तुहरूमा टेबुल, भान्सा, शौचालय, कार्यालय, भित्री सजावट वा यस्तै प्रयोजनमा प्रयोग हुने सामानहरू पर्छन् । यस्ता वस्तु निकासी हुने प्रमुख देशहरूमा संयुक्त राज्य अमेरिका (रू. ३१ करोडको) र फ्रान्स (रू. १४ लाखको) रहेका छन् । दोस्रो निकासी हुने वस्तुमा टुटेफुटेका वा अवशिष्ट काँच र काँचको अन्य अवशेष र पत्रुहरू, खास प्रयोजनका लागि नबनाइएका काँचका ढिकाहरू, परिष्कार नगरिएका काँचका डल्लाहरू, डन्डी वा नलीहरूजस्ता वस्तु पर्छन् । निकासी हुने प्रमुख देशमा भारत (रू. १९ करोडको) रहेको छ । तेस्रो निकासी हुने वस्तुको प्रकारमा काँचका मूर्ति र आलङ्कारिक सामानहरू रहेका छन् । यसको निर्यात पनि संयुक्त राज्य अमेरिका (रू. ८ करोडको) र फ्रान्स (रू. १ करोड ३६ लाखको) रहेका छन् ।
लेखक भन्सार विभागका पूर्वकर्मचारी हुन् ।