काठमाडौं जिल्लामा अस्थायी मतदाता ५० हजार
असार २३, काठमाडौं । फोटोसहितको मतदाता नामावली सङ्कलन कार्यअन्तर्गत छूट भएका तथा अन्य जिल्लाबाट काठमाडौं आई अस्थायी बसोबास गरिरहेकाहरूको मतदाता नामावली सङ्कलनलाई तीव्र बनाइएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँ जिल्लामा बसोबास गरिरहेका अस्थायी मतदाताको फोटोसहितको मतदाता नामावली सङ्कलन कार्य अस्थायी बसोबास गरिरहेकै जिल्लाबाट गरिने व्यवस्था भएपछि अहिलेसम्म काठमाडौं जिल्लामा मात्र ५० हजारले आफ्नोविवरण दिएका छन् । आयोगले असार १ गतेदेखि छूट भएका तथा अन्य जिल्लाबाट काठमाडौं आई अस्थायी बसोबास गरिरहेकाहरूको मतदाता नामावली सङ्कलन कार्य राष्ट्रपति, प्रधानमन्त्री र संविधानसभाका अध्यक्षलगायतबाट शुरू गरेको थियो । फोटोसहितको मतदाता नामावली सङ्कलन गरी विद्युतीय उपकरणका माध्यमबाट सम्बन्धित जिल्ला र गाउँ विकास समितिमा समावेश हुनेगरी नामावली सङ्कलन गरेपछि उत्साहपूर्वक मतदाताको सहभागिता बढ्दै गएको मध्यमाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका निमित्त कार्यक्रम व्यवस्थापक शम्भुप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार फोटोसहितको नामावली सङ्कलन कार्य असार २९ गतेसम्म तय गरिए पनि आवश्यकताअनुसार यसलाई निरन्तरता दिइने र हालसम्म काठमाडौं महानगरपालिकामा स्थायी बसोबास गर्ने २ लाख २४ हजार र कीर्तिपुर नगरपालिकामा २६ हजार ५९४ जनाको नामावली सङ्कलन गरिएको छ । रासस
'माओवादी शान्ति-प्रक्रिया र संविधान निर्माणको पक्षमा छैन’
असार २३, नेपालगञ्ज (अस) । नेपाली काङ्गे्रसका महामन्त्री प्रकाशमान सिंहले एमाओवादीको व्यवहारले सो पार्टी शान्ति-प्रक्रिया र नयाँ संविधान निर्माणलाई टुङ्गोमा पुर्याउन चाहँदैन भन्ने देखाएको बताएका छन् । नेपाल प्रेस युनियन, बाँकेद्वारा बिहीवार यहाँ आयोजित पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् । उनले भने, 'बाहिर संविधान र शान्तिका पक्षमा जतिसुकै ठूला र राम्रा कुरा गरे पनि एमाओवादीले भित्रैदेखि त्यस्तो भने चाहेको छैन ।’ संविधानसभाको थपिएको ३ महीनामध्येको १ महीना पनि एमाओवादीकै कारण त्यत्तिकै बितेको उनको भनाइ थियो । थपिएको समयमा संविधान नलेखिए नेपाली कांग्रेशले शान्तिपूर्ण आन्दोलन गर्ने पनि महामन्त्री सिंहले बताए ।
उनले देशको अर्थतन्त्रमा समस्या देखिएको अवस्थामा काङ्गे्रसले बजेटलाई भने अवरोध नगर्ने उल्लेख गरे । उनले भने, 'तर बजेट एकपक्षीय भने हुनुहुँदैन ।’ महामन्त्री सिंहले एमाओवादी नेतृत्वको सरकारलाई स्वीकार गर्न नसकिने बताए । कांग्रेश संसदीय दलका नेता नै प्रधानमन्त्रीका साझा उम्मेदवार हुने उनको भनाइ थियो ।
Admin 2011-07-08