निर्धक्कसँग लगानी गर्ने वातावरण बन्दै छ
दामोदर भण्डारी
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
लगानीकर्ताले ढुक्कसँग लगानी गर्ने वातावरण बनाउन लागिएको छ । लगानी गर्न इच्छुक दातृ निकाय र निजीक्षेत्रलाई नीतिगत समस्या रहेका छैनन् । निर्धक्क भएर लगानी गर्ने वातावरण बनाउँदै छौं । समस्यासँग जुधेर आएको निजीक्षेत्रलाई समेटेर अगाडि बढ्न सरकार प्रतिबद्ध समेत छ । सरकारले स्टार्टअपको नीतिलाई प्राथमिकतामा राखेर नेपाली उत्पादनलाई प्रोत्साहित समेत गरेको छ । अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहे पनि समाधानका उपायहरू छन्, यसका लागि राज्यले काम थालिसकेको छ । सरकारले आफ्ना साझा संकल्पबाट समेत आर्थिक व्यावसायिक क्षेत्रका निराशा चिर्दै आशा जगाउने भनिसकेको छ । यसमा हामी प्रतिबद्ध छौं । सरकारले सार्वजनिक गरेको अवधारणा अनुसार त्यसकै जगमा अगाडि बढ्न खोज्दै छौं । लगानी किन भित्रिएको छैन ? लगानीको वातावरण किन बनेन ? नेपालको ठूलो जनशक्ति किन विदेशिँदै छ ? भन्नेबारे समेत हामी खोजीनीति गर्दै छौं । नेपालमा प्रचुर सम्भावना हुँदाहुँदै पनि निराशा छ, यसलाई चिर्नुपर्ने छ । यसका कारण धेरै होलान् । नीतिगत अस्पष्टताका कारण पनि होला, यसमा सरकार संवेदनशील बनेर काम गर्नेछ । आर्थिक क्षेत्रको संकटमोचनका लागि लगानी सम्मेलन गर्न पनि लागिएको छ । सम्मेलनको समय पारेर निजीक्षेत्र र दातृ निकायलाई सहज बनाउन करीब एक दर्जन कानून संशोधन गर्न लागिएको छ । यसले पनि थप लगानीमैत्री वातावरणको सृजना गर्नेछ भने उद्योगी व्यवसायीको मनोबल बढाउने काम गर्नेछ ।
व्यवसायलाई थप उचाइमा पुर्याउनेछौं
प्रवीणबहादुर पाण्डे
प्रबन्ध निर्देशक, सांग्रिला होटेल
न्यू बिजनेश एजले यस वर्ष बुबालाई प्रदान गरेको ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ उहाँको अनुपस्थितिमा हामीले ग्रहण गर्यौं । बुबाले पहिलादेखि नै आफूमात्र नभई देश र समाजका लागि केही गर्नुपर्छ भन्दै आउनुभएको छ । नेपालका सुन्दर र उत्कृष्ट पर्यटकीय ठाउँहरू काठमाडौं, पोखरा र चितवनमा आजभन्दा ५५ वर्षअघि नै सांग्रिला होटलको अवधारणा शुरू भएको हो । त्यसपछि बुबाकै आशिर्वादले हामीले विश्वकै उत्कृष्ट आतिथ्य ब्राण्ड भित्त्याउँदै छौं । यी यावत् योजना अघि बढाउँदा उहाँको योगदान सधैं रहँदै आएको छ । बुबाले शून्यबाट व्यवसाय शुरू गर्नुभएको थियो । बुबाबाट प्रेरणा लिएर हाम्रा व्यवसायलाई थप उचाइमा पुर्याउन काम गरिरहेका छौं । साथै नेपालमा विभिन्न कालखण्डमा समस्या आउँदा व्यवसायमा पनि समस्या भएकै हुन्छ । शुरुआतमा बाधाहरू हुन्छन् नै । यसबाट कसरी सफलतातर्फ जाने भन्ने कुरा हामीमै निर्भर हुन्छ । ज्ञान, शीप, अनुभव र अवसरका लागि नेपालबाट युवाहरू विदेशिनु राम्रो हो । तर देश नै असफल भयो भन्दै बाहिर जानुभन्दा यही अनगिन्ती अवसर छन्, त्यसलाई चिनेर सदुपयोग गर्न सक्नुपर्छ ।
व्यावसायिक अवस्था सुधार्न हामी आफै लागौं
रञ्जित आचार्य
प्रमुख कार्यकारी अधिकृत, प्रिज्मा एड्भर्टाइजिङ
नेपाली अर्थतन्त्र अहिले विभिन्न अप्ठ्यारोबाट गुज्रिएको छ । बैंकबाट कर्जा प्रवाह हुँदैन । धेरै उद्योगहरू कम क्षमतामा चलिरहेका छन् । स्वदेशी तथा विदेशी लगानी आगमन ठप्प जस्तै छ । यो अवस्थाबाट माथि उठ्न हामी बिजनेश कम्युनिटीले आफैले प्रयास गरौं । अहिलेको यो अवस्थाका बीच पर्यटन क्षेत्र सकारात्मक लयमा छ । होटेल क्षेत्रमा लगानी बढेको छ । पर्यटक आगमन पनि सन् २०१९ को अवस्थामा फर्किएको छ । अब यो क्षेत्रमा गुणस्तरीय पर्यटक ल्याउन पहल गरौं । अर्काेतर्फ, सरकारले आउँदो वैशाखमा लगानी सम्मेलन गर्दैछ । यसले स्वदेशी तथा विदेशी लगानी ल्याउनका लागि सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास छ । निजी क्षेत्रले स्टार्टअप नीति तयार पारेर सरकारसमक्ष पेश गरेको धेरै भयो । यसलाई सरकारले छिटो कार्यान्वयनमा ल्याउनुपर्छ । स्टार्टअप नीतिले विदेशिने युवाहरूलाई रोक्ने योजना राखेको छ ।
अहिले निजीक्षेत्रले भरोसा गुमाउनु हुँदैन
सेवा पाठक
प्रमुख कार्यकारी अधिकृत, भायनेट कम्युनिकेशन प्रालि
अहिले निजीक्षेत्रले आशा भरोसा गुमाउनेभन्दा आशावादी भएर काम गर्नुपर्ने बेला हो । नेपालमा अहिले आइटी क्षेत्र फैलदो अवस्थामा छ । अहिलेको अवस्थामा कसरी व्यवसायलाई अगाडि बढाउने भन्ने विषयमा भरपुर छलफल हुनुपर्छ । इनोभेसनसहित गुणस्तरीय सेवा प्रवाहमा पनि लाग्न सके व्यवसायका साथै आर्थिक समृद्धि पनि हासिल गर्न समस्या हुँदैन । १५ वर्षयताको इन्टरनेट व्यवसाय हेर्दा सकारात्मक अवस्थामा छ । अहिले यसको पेनेट्रेशन ९० प्रतिशतसम्म पुगेको छ । ३० अर्ब रूपैयाँ बराबरको लगानी यो क्षेत्रमा छ । पछिल्लो समय स्टार्टअपको संस्कार पनि बढ्दै आएकाले यो क्षेत्रले आशा पनि जगाएको छ । यो क्षेत्रमा हजारौंले रोजगारी पाएका छन् भने निर्यातबाट योगदान पनि पुगेको छ । कोभिडपछि ग्राजुएट तथा पोष्ट ग्राजुएट जनशक्तिलाई नेपालमा राख्न समस्या छ । धेरैले नेपालमा भविष्य देख्दैनन् । नेपालमै कसरी युवाहरूलाई राख्ने भन्ने रणनीति चाहिन्छ । अहिलेको युग एआइको पनि हो । घरबाटै काम गर्न सक्ने वातावरण बनाउन सके महिलालाई रोजगारीका अवसर सृजना गर्न सकिन्छ । जनशक्तिलाई कसरी नेपालमै राख्न सकिन्छ भन्ने रणनीति अब चाहिन्छ । यसमा ढिलाइ नगरौं ।
व्यवसायी/उद्यमीको आत्मविश्वास बढाउन लागिपरौं
अम्लान मुखर्जी
प्रबन्ध निर्देशक, युनिलिभर नेपाल लिमिटेड
व्यवसायका लागि कठिन समय भए पनि हामी आशावादी छौं । अहिले व्यवसायी तथा उद्यमीको घटेको आत्मविश्वास बढाउन लागिपरौं । किनकि हामी बिजनेश लिडर हौं । सकारात्मक कुरा गरौं र सोचौं पनि । नेपालमा व्यवसायका प्रशस्त अवसर छन् । अर्कातिर, यहाँ सफल भएका उद्योगहरू पनि छन् । त्यसैले समस्याका धेरै कुरा गरेर मात्र समाधान निस्किँदैन । पछिल्लो समय उपभोक्ताको माग र रोजाइमा आएको परिवर्तनले एफएमसीजी जस्ता उद्योगलाई चुनौती थपिएको छ । युनिलिभरले उत्पादनको गुणस्तरमा कहिल्यै कमीकमजोरी बाँकी राख्दैन । हामी विभिन्न माध्यमबाट ग्राहकसँग निरन्तर जोडिएका हुन्छौं । आफ्नो कम्पनीमा उपयोग भएकोमध्ये ६० प्रतिशत प्याकेजिङ मेटेरियल पुन: प्रयोग गरिएको छ । ‘कार्बन फुटप्रिन्ट’ घटाउनेतर्फ ध्यान दिइएको छ भने ऊर्जा कटौती भएका बेलामात्र इन्धन प्रयोग हुन्छ । अन्यथा हरित ऊर्जा नै कम्पनीका फ्याक्ट्रीमा प्रयोग हुन्छ .
यो समय इनोभेसनको हो
आनन्द बगरिया
प्रबन्ध निर्देशक, निम्बस होल्डिङ प्रालि
अहिले व्यवसायीको समस्या भनेको कसरी उद्यममा टिक्ने भन्ने हो । यो समयमा धैर्य र नवप्रवर्तक अवधारणा मुख्य आवश्यकता हो । मुलुकको कुल गार्हस्थ्य उत्पादन र उपभोग बढ्नैपर्छ । नेपाल दुई ठूला अर्थतन्त्र भएका देशहरूको बीचमा छ । अर्काेतर्फ, अहिलेको जनसांख्यिक स्थिति प्रतिव्यक्ति आय बढाउन समेत पर्याप्त छ । यसको लाभ नेपालले लिन सक्नुपर्छ । अहिलेको अवस्थामा माग नबढाउँदासम्म खासै उपलब्धि हुँदैन । हामीले यो अवस्थामा कसरी व्यवसायमा टिकिरहने भन्ने विषयमा विश्लेषण गरेका छौं । कृत्रिम बौद्धिकता, बीटूबी, बीटूसी जस्ता लगानीमा पनि केन्द्रित हुनुपर्छ । सन् १९९० को दशकमा व्यवसाय गर्दा पनि चुनौती थियो र अहिले पछि छ । यो समय ‘डिस्रप्सन’ र ‘इनोभेसन’को पनि हो ।