विराटनगर । खोटाङ उद्योग वाणिज्य संघको २६औं र बिर्तामोड उद्योग वाणिज्य संघको सातौं साधारणसभा सम्पन्न भएको छ । दुवै साधारणसभाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघ, कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले गरेका थिए । राउतले बिर्तामोडको आर्थिक क्षेत्रमा भएको प्रगतिको सराहना गरे ।
अध्यक्षले बिर्तामोड पूर्वी नाकामा रहेको ताप्लेजुङ, पाँचथर, इलाम लगायत पहाडी जिल्लाको मुख्य बजारका रूपमा विस्तार हुँदै गएको र आर्थिक गतिविधिमा अग्रणी स्थान बनाउन सफल भएको बताए । साथै, उद्योग वाणिज्य संघले त्यस क्षेत्रका व्यवसायीको हकहित र सामाजिक क्रियाकलापमा सक्रिय रहेको पनि उल्लेख गरे ।
महासंघका अध्यक्षले कोशी प्रदेश महासंघका विभिन्न प्रयासबारे जानकारी दिँदै प्रदेश सरकार र विभिन्न परियोजनासँग गरिएको सहकार्यको बारेमा प्रकाश पारे । विशेषगरी पहाडी क्षेत्रमा हुने उत्पादनको प्रवर्द्धन, कृषि, पर्यटन तथा औद्योगिक विकासमा महासंघले गरेका प्रयासको बारेमा बताए ।
उनले उद्यमशीलता प्रवर्द्धन गर्न महासंघले व्यावसायिक विकास सेवाको शुरुआत गरेको र साना व्यवसायीलाई २ लाख रुपैयाँसम्म लगानी गर्ने कार्यक्रम रहेको उल्लेख गरे । साथै, कोशी प्रदेशका सबै जिल्लामा व्यावसायिक विकास सेवालाई विस्तार गर्न वैशाखमा तालीम कार्यक्रम शुरू हुने जानकारी दिए ।
अध्यक्षले कोशी प्रदेश सरकार र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताको पनि उल्लेख गरे, जसअनुसार विनाधितो, सुलभ ब्याजदरमा साना व्यवसायीलाई ऋण सुविधा उपलब्ध गराइनेछ ।
महासंघले डेटाबेस बनाउने उद्देश्यले सफ्टवेयर जडान गरेको बताइएको छ । त्यस्तै संघका सचिवालय प्रमुखलाई अन्य प्रदेशका उद्योग वाणिज्य संघमा भ्रमण, व्यावसायिक विकास सेवाका विषयमा गोष्ठी, प्रदेश स्तरीय कृषि एक्स्पोको आयोजना र महिला उद्यमी विकास समितिद्वारा ढाका महोत्सवको आयोजना लगायतका गतिविधि गरिएको बताइएको छ ।
अध्यक्ष राउतले कोशी प्रदेशको आर्थिक अवस्थाबारे पनि जानकारी दिँदै कुल गार्हस्थ्य उत्पादनमा कृषिको ३३ दशमलव २ प्रतिशत, उद्योग क्षेत्रको १५ दशमलव ९५ प्रतिशत र सेवा क्षेत्रको ५० दशमलव ९२ प्रतिशत योगदान रहेको तथ्यांक प्रस्तुत गरे । उनले अर्थतन्त्रमा देखिएको शिथिलताको कारण मागमा ५० प्रतिशत कमी आएको र स्वदेशी उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थका लागि भारतीय बजारमा भर पर्नुपरेको चुनौती औंल्याए ।