कोरोना भाइरस संक्रमण शुरू हुनुअघि सन् २०१९ मा नेपाल भित्रिने चिनियाँँको संख्या १ लाख ६९ हजार ५ सय ४३ थियो । २०१९ को यो आगमन नै नेपाल भित्रिएका चिनियाँँ पर्यटकको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या हो । कोरोनाका कारण चीनले पर्यटनमा प्रतिबन्ध लगाएपछि चिनियाँ पर्यटक संसारभर नै घटे, करीब करीब शून्य नै भयो भने हुन्छ । कोरोना महामारी घट्दै गएपछि र चीनले प्रतिबन्ध हटाउँदै गएपछि विश्वभरि नै चिनियाँ पर्यटकको संख्या फेरि बढ्न थाल्यो । नेपालमा पनि चिनियाँँ पर्यटक बढे तर ज्यादै कम । यसअघि नेपाल भ्रमण गर्नेमा सबैभन्दा बढी भारतीय र दोस्रोमा चिनियाँ पर्यटक थिए । तर, अहिले भारतपछि अमेरिकाबाट बढी पर्यटक आएका छन् र त्यसपछि यूरोपेली पर्यटक । चीन यी मुलुकभन्दा पछाडि रहेको देखिन्छ । चिनियाँ पर्यटकलाई लक्षित गरी नेपालमा थुप्रै पर्यटन पूर्वाधारमा लगानी भए पनि अपेक्षित मात्रामा चिनियाँ पर्यटक नआउँदा व्यवसायीहरू जिल्ल परेका छन् । किन चिनियाँ पर्यटक नेपालमा घटे त ? यो प्रश्न अहिले पर्यटन व्यवसायीहरूको चासोको विषय बनेको छ ।
नेपालको पर्यटन क्षेत्र चिनियाँँ र भारतीय पर्यटकसँग बढी नै निर्भर छ । पर्यटन राजधानी भनिने पोखरामा पनि बढी चिनियाँँ र भारतीय पाहुना आउने गरेका छन् । चिनियाँहरूले पोखरालाई अत्यधिक मन पराएको पाइन्छ । उनीहरूलाई हिमाल आरोहणसँग खासै चासो नभएको देखिन्छ तर पोखरा भनेपछि उनीहरू त्यहाँको सौन्दर्यको खुलेरै प्रशंसा गर्छन् । तर, अहिले चिनियाँ पर्यटक ज्यादै कम आइरहेका छन् । चीनबाट सोझै विमान चार्टर गरेर पोखरा आउन सम्भव भएको अवस्थामा पहिलाजत्तिको पनि चिनियाँ पर्यटक नपाउँदा व्यवसायीहरू चिन्तित हुनु स्वाभाविक हो । पर्यटन बोर्डका अनुसार सन् २०२४ को पछिल्लो ४ महीनामा नेपालमा ३८ हजार २९० जना चिनियाँँ पर्यटक आएका छन् । तीमध्ये केकति संख्यामा पोखरा भित्रिए भन्ने आधिकारिक तथ्यांक भने कसैसँग पनि छैन । तर पनि नेपाल भित्रिएकामध्ये अधिकांश चिनियाँँ पाहुना पोखरा जाने गरेका छन् । पोखरा भित्रिएका चिनियाँँ पाहुनामध्ये अधिकांश यहाँको साहसिक पर्यटकीय गतिविधिमा रमाउने गरेका छन् । तर, पर्याप्त पर्यटक नआएपछि पर्यटन व्यवसायीले कोरोनापछि पहिलो पटक चीनमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम चलाए । हालै होटेल व्यवसायीहरूले चीनको छेन्तुमा पर्यटन प्रवर्द्धनका लागि कार्यक्रम गरेका छन् । यी सबै हुँदाहुँदै पनि चिनियाँ पर्यटक अपेक्षित मात्रामा बढ्न नसक्नुको कारण खोज्न ढिला भइसकेको छ । यस्तो काम खासमा सरकारको हो । तर, सरकारलाई करमा बाहेक अन्य विषयमा चासो देखिँदैन ।
अहिले सडकबाट पुगिने कुनै पनि पर्यटकीय क्षेत्रमा जान सडक गतिलो छैन । पाँच घण्टाको बाटाका लागि १० घण्टा लाग्छ । सडक हिलाम्य र डरलाग्दो देखिन्छ । यसले पनि चिनियाँँ पर्यटक माझ नकारात्मक सन्देश दिएको हुन सक्छ ।
पोखरामा चिनियाँ पर्यटक बढ्ने अनुमान व्यवसायीको थियो । यसको मुख्य कारण पोखरामा निर्मित अन्तरराष्ट्रिय विमानस्थल हो । यहाँबाट सीधै चीनका विभिन्न प्रान्तमा उडान हुने र त्यसबाट पर्यटक बढ्ने अपेक्षा थियो । तर, चीनले पोखराबाट उडान गर्न चासो दिएको छैन । विगतमा चीनले आफ्ना देशका नागरिकलाई नेपाल जान प्रोत्साहित गरेको थियो । तर, अहिले चीनले त्यसो गरेको छैन । त्यस्तै विभिन्न निर्माण कार्यमा चिनियाँ कम्पनीहरू सक्रिय हुँदा पनि चिनियाँको आगमन बढेको थियो । तर, अहिले चीनले आफूले कबुल गरेको प्रोजेक्टमा समेत चासो कम दिएको अवस्था छ । कूटनीतिक रूपमा केही समस्या भएर पनि यसो भएको हुन सक्छ । त्यसो हो भने सरकारले यसमा ध्यान दिनुपर्छ ।
नेपालमा चिनियाँँ पर्यटक कम हुनुमा महँगो हवाई भाडा र पहुँचमा सहजता नहुनु नै मुख्य कारण रहेको देखिन्छ । नेपालसम्मको हवाई भाडा यति धेरै महँगो छ कि अन्य मुलुकमा घुमेर फर्किने पैसा नेपाल आउँदा हवाई भाडामा नै सकिन्छ । त्यसैले चिनियाँँ पर्यटक पछिल्लो समय थाइल्यान्ड, भियतनाम, कम्बोडिया र श्रीलंकातिर जान थालेका छन् । ती मुलुकको हवाई भाडा तुलनात्मक रूपमा सस्तो रहेको बताइन्छ । यसै पनि नेपाल आउने चिनियाँ पर्यटक धनाढ्यभन्दा पनि सस्तो गन्तव्य खोज्नै नै बढी हुन्छन् । त्यसैले नेपालका लागि अहिले थाइल्यान्ड, भियतनाम, कम्बोडिया र श्रीलंका प्रतिस्पर्धी बनेका छन् । चीनको बेइजिङदेखि काठमाडौंसम्म आउजाउ गर्न झन्डै १ लाख रुपैयाँ हवाई भाडा पर्छ जब कि ती देशमा यो भन्दा आधा बढी सस्तो पर्छ । यो समस्या चिनियाँ पर्यटकका लागि मात्र होइन, यूरोप र अन्य देशका पर्यटकको पनि हो । त्यसैले हवाई भाडा कसरी सस्तो पार्न सकिन्छ भन्नेमा नेपाल लाग्नुपर्ने देखिन्छ । नेपालले ती देशले भन्दा सस्तोमा त्यहाँको भन्दा विशेष अनुभूति दिलाउने खालको कार्यक्रम ल्याउनुपर्ने देखिएको छ । अन्यथा नेपाल आउन थालेका पर्यटकको रोजाइ अर्कै देश हुन थाल्नेछ ।
सरकारले १६ लाख पर्यटक भित्त्याउने महत्त्वाकांक्षी कार्यक्रम ल्याएको छ । यसको सफलताका लागि रणनीति र कार्यनीति आवश्यक हुन्छ । तर, त्यस्तो भरपर्दो कुनै नीति ल्याएको देखिन्न । कोरोना अघि चिनियाँँ पर्यटक स्थलमार्ग हुँदै पनि नेपाल आउजाउ गर्थे । तर, अहिले स्थलमार्ग खुले पनि पर्यटक आउजाउ शुरू भएको छैन ।
चीन तीव्र गतिले बढिरहेको पर्यटनको स्रोत बजार हो तर महामारीपछि नेपालले चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गरेको छैन । थाइल्यान्डले चिनियाँँ पर्यटक बढाउन विभिन्न सुविधा दिने नीतिगत व्यवस्था गरेको छ । नेपालले यस्तै व्यवस्था गर्नुपर्छ ।
चिनियाँँ पाहुनाको मुख्य गन्तव्य पोखरा हो । तर, काठमाडांै–पोखराको आन्तरिक उडान पनि महँगो छ । अहिले विदेशीका लागि काठमाडौं–पोखरा एकतर्फी उडानमा हवाई भाडा झन्डै १४ हजार रुपैयाँ पर्छ । चिनियाँँ पाहुनाको चाहना सीधै पोखरा ओर्लिने रहेको तर पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा उडान नहुँदा पनि आउजाउ झन्झटपूर्ण बनेको हो । काठमाडौंदेखि बेइजिङसम्म सीधा उडान पनि छैन । अहिले छेन्दु, संघाई वा कुन्मिङ भएर मात्र जानुपर्छ । दुईओटा राजधानी (काठमाडौं र बेइजिङ) जोड्ने सीधा हवाई उडान नहुँदा समय अभाव र थप खर्चिलो बनेको छ । हिमालय एयरलाइन्सले उडान शुरू गरेको छ तर त्यसले पनि पर्यटक ल्याउन सकेको छैन । यसले भाडामा प्रतिस्पर्धा ल्याउन सकेको छैन ।
नेपालले चिनियाँँ पाहुना तान्नका लागि खासै कदम नै चालेको छैन । अन्य प्रतिस्पर्धी मुलुकले चिनियाँँ पर्यटकलाई तान्न नि:शुल्क भिसासहित विभिन्न शहरदेखि नियमित र सस्तोमा हवाई सेवा दिएका छन । विभिन्न शहरलाई जोड्ने गरी सस्तोमा सीधा हवाई सेवा दिएपछि चिनियाँँहरू ती मुलुकतिर आकर्षित भएका हुन् । नेपालले पनि नि:शुल्क भिसा दिएको छ । तर पनि चिनियाँ पर्यटक अपेक्षा गरिएअनुसार आएका छैनन् । त्यसैले नेपाल आउने पर्यटक अन्य गन्तव्यतर्फ मोडिएका हुन् कि भन्ने ठाउँ छ ।
२०१७ सालमा चिनियाँँ प्रधानमन्त्री चाउ एनलाइ पोखरा पुगेपछि यसको चर्चा चिनियाँहरूबीच पुगेको हो । पोखरा पुगेपछि त्यहाँको सौन्दर्यबाट लोभिएका चाउको भ्रमणले पोखरालाई काठमाडौंसँग जोड्ने राजमार्ग बन्ने आधार तयार गरेको मानिन्छ । अहिले पनि नेपाल घुमेर फर्किएका चिनियाँहरूले पोखराको नाम स्वादले लिने गरेको पाइन्छ ।
२०१७ सालमै प्रधानमन्त्री चाउले गरेको भ्रमणपछि पोखरा धेरै चिनियाँँको चासोको ठाउँ बन्दा विस्तारै चिनियाँँ पर्यटकको उपस्थिति सुस्त रूपमा बाक्लिँदै गयो । र, २०७६ मा कोभिड महामारी शुरू हुँदासम्म चिनियाँँ पर्यटकले नेपालको सबैभन्दा रुचाएका स्थल पोखरा बनेको थियो । तर, अहिले अवस्था धेरै फरक छ । पोखरामा चिनियाँँहरू ठूलो संख्यामा पुगिरहेका छैनन् ।
हाइकिङ, सर्ट ट्रेकिङ, प्याराग्लाइडिङ, बोटिङ र र्याफ्टिङ, जिप फेलाइङमा चिनियाँँहरू रमाएको पाइन्छ । त्यसैअनुसार यी क्षेत्रमा लगानी पनि थपिएको छ । चिनियाँ लगानी पनि आएको थियो । सन् २००३ मा कुल ७ हजार ५६२ चिनियाँँ पर्यटक नेपाल आएका थिए । यो संख्या बढेर २०१९ मा १ लाख ६९ हजार ५४३ जना पुगेको थियो ।
संसारमै चिनियाँँ पर्यटक खर्चालु मानिन्छन् । तर, नेपालमा आएका चिनियाँँहरूले त्यसरी मन फुकाएर खर्च गरेको अनुभव व्यवसायीहरूसँग छैन । त्यसैले सस्ता चिनियाँ पर्यटक नै धेरै आएको अनुमान गर्न सकिन्छ । पोखरामा फाट्टफुट्ट देखिएका चिनियाँँ पर्यटकले पनि पहिलेझैं खर्च नगरेका व्यवसायीहरू बताउँछन् । कोभिडका बेला चीनले पर्यटनमा प्रतिबन्ध नै लगाएको थियो । त्यसयता नेपाल भ्रमणमा आकर्षित गर्ने गतिविधि धेरै भएनन् र नेपाल आउने पर्यटक पनि अरू देशतिर जान थाले ।
२०१९ मा १५ करोड ४६ लाख चिनियाँँले देशबाहिर भ्रमण गरेकामा सन् २०२३ मा ८ करोड ७० लाखले मात्र भ्रमण गरेको बताइन्छ । यो तथ्यांकले चिनियाँँ पर्यटकको संख्यामा अझै पहिलेको स्थितिमा आउन नसकेको देखाउँछ । विश्वकै धेरै जनसंख्या भएकाले चीनको पर्यटक आकर्षित गर्न धेरै मुलुकले योजना बनाइरहेका हुन्छन् । तर, नेपाल सरकारले प्रभावकारी प्रयास गरेको छैन । कोभिड महामारीपछि चीनमा नेपाल प्रवर्द्धनका कार्यक्रम भएका छैनन् । स्वत:स्फूर्त रूपमा आएका पर्यटक र पर्यटन व्यवसायीको पहलले मात्र नगन्य चिनियाँँ पर्यटक आइरहेका छन् ।
चिनियाँँ हिमाल चढ्न र पदयात्रामा खासै रुचि राख्दैनन् । बरु चिल्ला र सफा सडकमा यात्रा गर्ने, ठूलाठूला होटेलमा बस्ने, खाने र रमाउने गरी समूहमा यात्रामा निस्कने गर्छन् । पोखरामा चिनियाँँ पर्यटकका लागि सबैभन्दा प्यारो प्याराग्लाइडिङ हो । जिपलाइन, हट एयर बलुन, बन्जी, बोटिङ र साइट सिन, अल्ट्रालाइट, र्याफ्टिङ, कायाकिङजस्ता गतिविधिमा उनीहरू भुलिन्छन् । पछिल्लो समयमा चितवनको जंगल सफारीमा पनि चिनियाँँ पर्यटकको आकर्षण बढ्दो छ । केही पर्यटक लुम्बिनी पनि पुग्ने गरेका थिए । तर, अहिले बाटोका दुरवस्थाका कारण पर्यटक घटेका छन् । पोखरामा पनि यसको असर परेको हुन सक्छ । समग्रमा भन्ने हो भने अहिले सडकबाट पुगिने कुनै पनि पर्यटकीय क्षेत्रमा जान सडक गतिलो छैन । पाँच घण्टाको बाटाका लागि १० घण्टा लाग्छ । सडक हिलाम्य र डरलाग्दो देखिन्छ । यसले पनि पर्यटकमाझ नकारात्मक सन्देश दिएको हुन सक्छ । भारतीय पर्यटक दुर्घटनामा परेका समाचार पनि उत्तिकै आइरहेका छन् । यो नकारात्मक छविलाई सकारात्मक बनाउन केही समय लाग्ने देखिन्छ । यसमा सरकारको चासो भने देखिँदैन ।
अब चिनियाँँ पर्यटक आकर्षित गर्न उनीहरूको रुचि बुझ्नुपर्ने बेला आएको छ । उनीहरू के रुचाउँछन्, त्यसअनुसारको पर्यटकीय पूर्वाधार र गतिविधिहरूमा लगानी बढाउनुपर्छ । चीनका ठूला शहरहरूबाट पोखरामा सीधा उडान हुनुपर्छ, चीनबाट नेपालसम्म आउने सडकमार्गहरू चुस्त बनाउनुपर्छ । मानसरोवर र ल्हासा घुम्न आउने चिनियाँँ पर्यटकलाई नेपाल ल्याउन सकिन्छ । उडान संख्या बढाएर हवाई भाडा सस्तो बनाउन सके चिनियाँँ पर्यटक बढ्ने देखिन्छ । चिनियाँँ विमान कम्पनीको भाडा महँगो रहेकाले त्यो एकाधिकार तोड्न र मूल्य घटाउन नेपाल वायुसेवा निगमले चीनमा उडान गर्न पाउनुपर्छ । तर, वायुसेवा निगमले चीनको राजधानी बेइजिङमा उडान थाल्ने भनिए पनि अझै शुरू भएको छैन ।
अहिले नेपालबाट विभिन्न एयरलाइन्समार्फत चीनको छेन्तु, क्वाङचाउ, ल्हासा, साङ्घाईसहित शहरमा उडान भइरहेको छ । एयर चाइना, चाइना साउदर्न, चाइना इस्टर्न, हिमालय एयरलाइन्स, सिचुआन एयरलाइन्स र तिब्बत एयरलाइन्सले नेपाल उडान गरिरहेका छन् । तर, यी सबैको भाडादर महँगो छ । समान दूरीमा उनीहरूको भाडा सस्तो देखिन्छ भने नेपालमा महँगो ।
चीन गीव्र गतिले बढिरहेको पर्यटनको स्रोत बजार हो तर महामारीपछि नेपालले चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गरेको छैन । थाइल्यान्डले चिनियाँँ पर्यटक बढाउन विभिन्न सुविधा दिने नीतिगत व्यवस्था गरेको छ । नेपालले यस्तै व्यवस्था गर्नुपर्छ । नेपालले चिनियाँँ पर्यटकको आगमन बढाउन नि:शुल्क अनराइभल भिसा दिन शुरू गरेको छ । नि:शुल्क अनराइभल भिसा दिँदैमा चिनियाँँ पर्यटक बढ्ने होइनन् ।
पर्यटक बढाउने कुरा अहिलेको अहिल्यै हुँदैन । त्यसका लागि दिगो नीति र समय आवश्यक पर्छ । अहिले निजीक्षेत्रले चीनमा प्रवर्द्धनात्मक कार्यक्रम गरेको छ । यसले केही पर्यटक बढ्लान् तर चीन सरकारले नै केही सकारात्मक सन्देश दियो भने नेपालमा पर्यटक आगमन बढ्न सक्छ । त्यसैले प्रवर्द्धनात्मक कार्यक्रम मात्र होइन, कूटनीतिक पहल पनि उत्तिकै जरुरी देखिन्छ ।
लेखक पर्यटन व्यवसायी हुन् ।