वित्तीय अपराध भन्नाले बैंकिङ तथा वित्तीय कारोबारमा हुने कानूनी रूपमा कसूरजन्य कार्य हो जसबाट बैंक तथा वित्तीय प्रणालीमा धेरै नराम्रो असर, प्रभाव र जोखिम हुन जान्छ । यसबाट वित्तीय विकास तथा समग्र अर्थतन्त्र नै प्रभावित हुन जान्छ । बैकिङ तथा वित्तीय प्रणालीप्रति विश्वसनीयता घट्न जान्छ । त्यसैले वित्तीय अपराध कानूनी रूपमा दण्डनीय हुन्छ ।
वित्तीय अपराध नियन्त्रणको मुख्य कानून बैंकिङ कसुर तथा सजाय ऐेन, २०६४ को परिच्छेद २ मा दफा ३ देखि १४ सम्म के कस्ता कार्य बैंकिङ कसुरअन्तर्गत पर्छन् भन्ने व्यवस्था गरेको छ । अनधिकृत रूपमा खाता खोल्ने, नक्कली कागजात पेश गरी खाता खोल्ने, खोलिदिने, अनधिकृत रूपमा रकम निकाल्ने वा भुक्तानी दिने, अनधिकृत रूपमा कर्जा लिने वा दिने, गलत, झूट्टा वा नरहे नभएको वित्तीय विवरण पेश गरी वा कृत्रिम व्यवसाय खडा गरी कर्जा लिने वा दिने, धितोको अस्वाभाविक रूपमा बढी मूल्याङ्कन गरी कर्जा लिने वा दिने, झूट्टा विवरणको आधारमा परियोजनाको लागत अस्वाभाविक रूपमा बढाई बढी कर्जा लिने वा दिने, आफूलाई प्राप्त भएको अख्तियारी वा स्वीकृत सीमाभन्दा बाहिर गई कर्जा, सुविधा वा सहुलियत प्राप्त गर्ने वा उपलब्ध गराउने, एकपटक दिइसकेको सुरक्षण रीतपूर्वक फुकुवा नभई सोही सुरक्षण अर्को बैंक वा वित्तीय संस्थामा राखी पुन: कर्जा लिने वा दिने कार्यहरू बैंकिङ कसुर तथा वित्तीय अपराध हुन् ।
बैंक वा वित्तीय संस्थाका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफूले समेत ऋणसुविधा उपभोग गर्ने मनसायले नक्कली ऋणी खडा गरी त्यस्तो ऋणको पूरै वा आंशिक रकमको भुक्तानी लिने वा दिने कार्य बैंकिङ कसुरमा पर्छन् ।
यस्तै गरी, नक्कली ऋणी खडा गरी त्यस्तो ऋणीमार्फत कर्जा लिने वा दिने कार्य गर्ने, कर्जा सुविधा उपलब्ध गराएबापत कुनै किसिमको अनुचित लाभ लिने वा दिने, बैंक वा वित्तीय संस्थाका संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफूले समेत ऋण सुविधा उपभोग गर्ने मनसायले नक्कली ऋणी खडा गरी त्यस्तो ऋणको पूरै वा आंशिक रकमको भुक्तानी लिने वा दिने कार्य बैंकिङ कसुरमा पर्छन् ।
बैंक वा वित्तीय संस्थाको संस्थापक, सञ्चालक, प्रमुख कार्यकारी अधिकृत वा ऋण प्रवाह गर्न अख्तियारप्राप्त व्यक्तिले आफ्नो वित्तीय स्वार्थ गाँसिएको कुनै व्यक्ति वा संस्थाको नाममा कुनै प्रकारको ऋण प्रवाह गर्ने, कर्जाको दुरुपयोग गर्ने, जुन प्रयोजनका लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्ने वा गराउने, बैंकिङ स्रोतसाधन र सम्पत्तिको दुरुपयोग गर्ने, निक्षेपकर्ता, बैंक वा वित्तीय संस्थाको हित प्रतिकूल हुने गरी बैंक वा वित्तीय संस्थाको सम्पत्ति खर्च गर्ने, गैरबैंकिङ सम्पत्तिलगायत बैंक वा वित्तीय संस्थाको अन्य सम्पत्ति लिलाम विक्री गर्दा वा अन्य कुनै कारोबार गर्दा कुनै आर्थिक अनियमितता गर्ने, ऋणीले रकम झिक्ने र सम्पत्ति प्राप्त गर्ने, कालो सूचीमा परेको ऋणीले आफूले तिर्नु पर्ने कर्जा नतिरी स्वदेश वा विदेशस्थित बैंक वा वित्तीय संस्थामा खाता खोली रकम राख्ने वा त्यस्तो खातालाई निरन्तरता दिने वा सञ्चालन गर्ने वा अन्य कुनै तरीकाले कुनै चल वा अचल सम्पत्ति खरीद गर्ने वा त्यस्तो सम्पत्तिउपर कुनै तरीकाले हकभोग प्राप्त गर्ने, कागजात वा खाता बही सच्याई किर्ते वा जालसाजी गरी हानिनोक्सानी पुर्याउने, बैंक तथा वित्तीय संस्थालाई झुक्याई काम कारोबार गर्ने बढी, कम वा गलत मूल्याङ्कन तथा वित्तीय विवरण तयार गर्ने, अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्ने गराउने, ढुकुटीको कारोबार गर्नेे, गैरकानूनी रूपमा बैंकिङ कारोबार गर्नेलगायत सबै कार्यहरू वित्तीय अपराधअन्तर्गत पर्छन् । वित्तीय अपराधविरुद्ध व्यक्ति वा संस्थाको जाहेरीमा नेपाल सरकारवादी भई मुद्दा चल्छ यानी कि यसको जिम्मेवारी सरकारले लिने गरेको छ ।
महामारीपछिको आर्थिक मन्दी, बढ्दो गरीबी, बेरोजगारी, प्रविधिको दुरुपयोग साथै हरेक समस्यामा राजनीतीकरणको अभ्याससँग संरक्षण र कानूनी सुशासनको अभावले गर्दा वित्तीय अपराध बढ्दै गएको छ । आव २०७८/७९ मा ५४०१ को संख्यामा रहेको यस्तो अपराध आव २०८०।८१ मा १३२६४ पुगेको थियो भने आव २०८१/८२ को पहिलो त्रैमासमा नै १३२६२ घटना दर्ता भएको छ ।
लघुवित्तमा वित्तीय अपराध
सामाजिक, आर्थिक रूपमा पछाडि परेका विपन्न गरीब महिला तथा निमुखा वर्गलाई उत्थान गर्न भावनात्मक रूपमा अभिप्रेरित भई सञ्चालित लघुवित्त सेवामा वित्तीय अपराधका घटना बढ्न थालेका छन् । लघुवित्त सेवाका विरुद्धमा आन्दोलितहरू साँच्चिकै सेवाग्राही हुन् कि होइनन् ? लघुवित्त सेवाविरुद्धकोे आन्दोलनबाट को पीडित भए ? के आन्दोलनले विपन्न वर्गलाई फाइदा भयो ? पछिल्लो समयमा किन ह्वात्तै बढे कालोसूचीमा लघुवित्त ऋणी ? लघुवित्त सेवामा वित्तीय अपराध कसरी घटाउन सकिन्छ ? के लघुवित्त संस्थामा कर्जा असुली वृद्धि गर्न कालोसूची प्रभावकारी अस्त्र हुन सक्छ ? यी तमाम प्रश्न लघुवित्त सेवामा देखिएका छन् । आज यहाँ लघुवित्तमा वित्तीय अपराध किन बढ्यो र समाधान कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा छलफल पहिलो आवश्यकता भएको छ ।
देशव्यापी रूपमा वृद्धि भएकोे आर्थिक अपराधबाट कुनै पनि वित्तीय क्षेत्र अछुतो रहेन । देशमा सबैभन्दा पहिला ठूला बैंक वित्तीय संस्थाका ग्राहक आन्दोलित भए । सरकारकोे लचिलो, दोधारे नीति र व्यवहारका कारण कानूनी उपचारको अभावमा समस्या समाधानविहीन अवस्थामा नै रह्यो । यसपछि स्थानीयस्तरमा सञ्चालित सहकारी संस्थाको उपयुक्त व्यवस्थापन निरीक्षण र नियन्त्रणको अभावसँगै सहकारीमा हुनुपर्ने स्वअनुशासन र स्वनियमनको अभावमा सहकारीमा देखिएकोे बेथितिको समस्या चुलिँदै गयो । सहकारीसँगै देशमा धेरै समुदायलाई सेवा पुर्याएको लघुवित्त सेवाक्षेत्रका ग्राहकबीचमा पनि आन्दोलनको बीजारोपण भयो । बैंकवित्तीय संस्था तथा सहकारीमा रहेको बचत कर्जा भुक्तानी नगर्ने, सञ्चालक, व्यवस्थापन, कर्मचारी र सेवाग्राही तथा सरोकारवालाहरूबाट वित्तीय सेवाको दुरुपयोग हुन थाल्यो । जसबाट वित्तीय अपराधकोे जालो निरन्तर बढ्दै गयो । दण्डहीनताको कारण वित्तीय अपराधीहरू उत्प्रेरित हुँदै गए ।
लघुवित्त सेवाक्षेत्रमा वित्तीय अपराध वृद्धि भइरहेको कुराको पुष्टि कालोेसूचीमा सूचीकृत हुने ऋणीको संख्यामा भएकोे वृद्धिले गर्छ । २०८० असार मसान्तमा ६७४ जना मात्रै लघुवित्त ऋणी कालोसूचीमा रहेको पाइन्छ भने २०८१ असार मसान्तमा ४११८ पुग्यो । २०८१ को मध्यकात्तिकसम्म ५४२७ पुगेकोे देखिन्छ । लघुवित्त संस्थाहरूको गुनासो एकाइ, स्थानीय निकाय, प्रहरी कार्यालय हुँदै अदालतहरूमा लघुवित्तसम्बन्धी गुनासा, विवाद, जाहेरी दरखास्त र उजुरी तथा बैंकिङ कसुरका अभियोगहरू ठूलो मात्रामा दर्ता भएको पाइन्छ । लघुवित्त सेवामा वित्तीय अपराध गरेकै कारण धेरै जना सरोेकारवालाहरूले हाल बैंकिङ कसुरका मुद्दा खेपिरहेका छन्, कोही जेलमा छन् ।
कारण र समाधानका उपाय
लघुवित्तमा वित्तीय अपराध समस्याको चुरो कुरो के हो अर्थात् लघुवित्त संस्थामा वित्तीय अपराध वृद्धि हुनुका कारण र समाधानका उपायबारेमा यहाँ केही मन्थन गर्ने प्रयास गरिएको छ । उद्देश्यमा विचलन र अत्यधिक प्रतिस्पर्धाकोे वातावरण : लघुवित्त सेवाक्षेत्रमा वित्तीय अपराध तथा बैंकिङ कसुर वृद्धि हुनुको मुख्य कारण लघुवित्त संस्थामा देखिएको उद्देश्य विचलन होे । लघुवित्त कार्यक्रम शुरूमा अनुदान सहयोगमा गरीबी निवारण गर्न वित्तीय सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले सञ्चालित थिए । अनुदान सहयोगमा मात्रै सञ्चालनमा रहँदा सेवा प्रवाहमा निरन्तरता हुन नसक्ने देखिएकाले यसकोे स्वसक्षमता जोड दिइयो । स्वसक्षमता प्राप्तसँगै केही नाफा पनि गर्न थाले । नेपाल राष्ट्र बैंक तथा नेपाल सरकारले यसलाई सामाजिक व्यवसाय र गैरसरकारी संस्थाको सट्टा पूर्ण व्यावसायिक वित्तीय कम्पनीको दायरामा ल्याएर सञ्चालनमा आउन बाध्य गरायो । त्यसपछि लघुवित्त संस्थाकोे स्थापना धेरै संख्यामा भयो । साथै अस्वस्थ र अत्यधिक प्रतिस्पर्धाकोे अवस्था सृजना भयो । फलस्वरूप लघुवित्त सेवामा विभिन्न किसिमका विकृति देखिए । तिनै विकृतिहरूले वित्तीय अपराधलाई प्रोेत्साहन भयो ।
गैरलक्षित वर्गको प्रवेश : लघुवित्त संस्थाहरूद्वारा लघुवित्त सेवा प्रवाह गर्न गठन गरिने समूह तथा केन्द्रमा लक्षित वर्गलाई मात्रै सदस्यता दिनुपर्नेमा आएजति सबैलाई सदस्यता दिन थालियो । लक्षित वर्गकोे पहिचान गर्न छोडियो । समूह प्रवेश गरेर सदस्यता लिन अनिवार्य समूह तालीम, समूह मान्यता पूर्वपरीक्षण र समूह मान्यता परीक्षणजस्ता लघुवित्त समूह गठनका मुख्य प्रक्रिया पूरा हुन छोड्यो । अन्य वित्तीय संस्थाबाट वित्तीय सेवा पाएकालाई वित्तीय सेवा नदिनुपर्नेमा धेरै लगानी गर्न उनीहरूलाई समूहमा प्रवेश गराइयो । जसरी हुन्छ धेरै सदस्य बनाएर धेरै कर्जा लगानी गर्न थालियो । एकै व्यक्ति धेरैओटा लघुवित्त संस्थाको ग्राहक सदस्य बनेर आफ्नोे क्षमता र आवश्यकताभन्दा कयांै गुना बढी कर्जा लिन थाले । फलस्वरूप वित्तीय अपराधले जरा गाड्यो ।
कर्जा सदुपयोगितामा ध्यान नदिनु : लघुवित्त संस्थाहरू मुनाफामा केन्द्रित भए । लगानी र असुलीलाई पहिलो प्राथमिकतामा राखियो । कर्जा सदुपयोगिता अनिवार्य गरिएन । समाजका टाठाबाठाले धेरै जनाको नाममा कर्जा लिएर एकै जनाले चलाउन थाले । कर्जाको दुरुपयोग बढ्यो । लघुवित्त सेवामा नयाँ सदस्य तथा कर्मचारी भर्ना हुँदा प्रदान गरिने तालीम हुन छोड्योे जसले गर्दा विनाधितो कर्जा कारोबार निश्चित नीतिनियमभित्र रहेर सञ्चालन हुनुपर्नेमा लगामविनाकोे घोडाजस्तै हुन पुगे लघुवित्त सेवा र संस्था । संस्थाको सफलता वार्षिक रूपमा आर्जनसँग जोडियो न कि विपन्नलाई सेवा, कर्जा सदुपयोगिता, उद्यमशीलताको विकासलाई प्रवर्द्धन गर्न महत्त्व दिन छोडियो । विपन्न सदस्यहरूले गोठको एउटा गाई देखाएर १० देखि १५ लघुवित्त संस्थाबाट २०/३० लाख कर्जा उठाएर दुरुपयोग गर्न थाले । अन्तत: किस्ता तिर्न नसकेपछि वित्तीय संस्थाविरोधी संघर्ष तथा आन्दोलनतर्फ लागे ।
अपारदर्शी कर्मचारी भर्ना : सामाजिक व्यवसायबाट मुनाफामूलक व्यवसायका रूपमा सञ्चालन हुन पुग्दा लघुवित्तमा धेरै कर्मचारीको आवश्यकता भयो । छोटो समयमा धेरै कर्मचारी आपूर्ति गर्न लघुवित्त संस्थामा काम गर्ने कर्मचारी भर्ना गर्दा स्वस्थ प्रतिस्पर्धा गराएर भर्ना गर्न छोडियो । तालीम प्रदान नगरीकनै परिचालन गर्न थालियो । स्थानीय कर्मचारी राख्ने बहानामा आआफ्ना, भनसुनका आधारमा कर्मचारी भर्ना गर्न थालियो । लघुवित्तमा आउने नयाँ कर्मचारीलाई ६ महीनाको अनिवार्य तालीम दिनुपर्नेमा भर्ना गरेकै अर्को दिनबाट परिचालन गर्न थालियो । उनीहरूले लघुवित्तको मर्म नबुझी कारोबार सञ्चालन गर्दा कर्जाको विश्लेषण हुन छोड्यो । सुविधाको प्रतिस्पर्धामा कर्मचारीहरू एक संस्थाबाट छोडेर अर्को संस्थामा जाने प्रवृत्ति बढ्यो । लघुवित्त व्यवस्थापन न्यून भुक्तानीमा कर्मचारी सञ्चालन गर्न तालिम नैै प्रदान नगरी परिचालन गर्ने गर्दा तिनै कर्मचारीहरूबाट जानी नजानी वित्तीय अपराधका घट्नाहरू वृद्धि भए ।
अनधिकृत र अनावश्यक कर्जा लगानी : संस्थाको मुनाफाको लक्ष्य पूरा गर्न, धेरै मुनाफा गर्न कर्मचारीलाई लगानी गर्ने लक्ष्य तोक्न थालियो । लक्ष्य पूरा गर्न अक्षम तथा अदक्ष कर्मचारीबाट कर्जाको विश्लेषण नैै नगरी कर्जा सिफारिश, स्वीकृति र लगानी हुन थाल्यो । एक परिवारमा एक जनालाई मात्रै कर्जा लगानी गर्नुपर्नेमा धेरै जनालाई लगानी गरियो । सदस्यको आवश्यकताभन्दा धेरै अनधिकृत रूपमा कर्जा लगानी गर्न थालियो । गाउँभरिका परिवारलाई समूहमा आबद्ध गराएर एकै व्यक्तिले धरै जनाको कर्जा लिएर कर्जाकोे दुरुपयोग हुन थाल्यो ।
अनधिकृत रूपमा बचत भुक्तानी : समूह जिम्मेवारी र समूह दायित्वको नाममा एक व्यक्तिले कर्जा किस्ता नतिरेमा नतिर्ने व्यक्तिको किस्ता तिर्न अन्य सदस्यको बचत खाताबाट रकमान्तर गर्न तथा अनधिकृत रूपमा बचत भुक्तानी गर्दा वित्तीय अपराध वृद्धि हुन पुग्यो ।
कर्मचारीबाट जालसाजी : लघुवित्तका निरक्षर, वित्तीय साक्षरता नभएका सदस्यहरूको नाममा कर्जा लगानी गरेर उक्त कर्जा आफैले उपयोग गर्ने, नक्कली ऋणी बनाउने, नक्कली ग्राहक फाइल बनाउने लगायतका कार्यबाट किर्ते जालसाजी हुन गई वित्तीय अपराध वृद्धि हुन पुग्यो । अतिप्रतिस्पर्धाको अवस्थामा लघुवित्त संस्थाहरूले कर्जासीमा वृद्धि गरे, लगानी प्रक्रिया सरल बनाए, फिल्डमा काम गर्ने कर्मचारीले एकल निर्णयमा कर्जा दिन सक्ने अख्तियारी दिइयो । अपरिपक्व कर्मचारी, क्षमताभन्दा धेरै अख्तियार र कर्मचारी लक्ष्यको चापले गर्दा नक्कली ऋणी बनाउनतिर लागे ।
अपारदर्शी लेखा अभिलेख : परम्परागत रूपमा रहेको लेखाअभिलेखलाई कम्प्युटरीकृत गरियो । ग्राहकले लघुवित्त संस्थासँगको कारोबार मोवाइल मेसेज गर्ने, डिजिटल पासबुक दिने भनेर भौतिक पासबुक दिन छोडे । तर, सबै लघुवित्त ग्राहक सदस्यहरू प्रविधिमैत्री नभएकाले लघुवित्त कारोबार अपारदर्शी भयो । सदस्यहरूको हिसाबकिताव फरक पर्न थाल्यो । यही अवस्थामा फिल्ड कर्मचारीले असुली र भक्तानीमा कसुर गर्न शुरू गरे जसले गर्दा ठूलाठूला वित्तीय अपराधलाई प्रश्रय मिल्न गयो ।
वित्तीय तथा कानूनी साक्षरताको अभाव : लघुवित्त ग्राहकमा आवश्यकताअनुरूप वित्तीय साक्षरताको स्तर वृद्धि भएन । लघुवित्त संस्थाले समूह प्रवेशपूर्व ग्राहकलाई दिने साक्षरता तालीम प्रदान गर्न छोेडे । ग्राहक र फिल्ड कर्मचारीमा वित्तीय तथा कानूनी साक्षरताको अभावमा सचेत नभएकाले पनि वित्तीय अपराध हुन पुगे ।
कमजोर आन्तरिक नियन्त्रण प्रणाली र नियमन : स्वनियमन र स्वअनुशासनमा सञ्चालनमा रहेकोमा मुनाफा कमाउने व्यवसायका रूपमा लघुवित्तलाई सञ्चालनमा ल्याएपछि उक्त कुरा हराउँदै गयो । संस्थाहरूले नाफालाई पहिलोे प्राथमिकता दिएर आन्तरिक नियन्त्रण र नियमन गर्न थाले । नियामक निकायले समयापेक्ष नीति नियमको व्यवस्था गरेर गर्नुपर्ने नियमन निरीक्षण नियन्त्रण गर्ने कार्यमा लचकता र लघुवित्त संस्था स्वनियमन स्वअनुशासनमा सञ्चालन नहुँदा यस क्षेत्रमा वित्तीय अपराध तथा कसुरहरूले आश्रय पायो ।
संस्थागत सुशासनको अभाव : लघुवित्त संस्थाले संस्थागत सुशासन कायम गर्न सकेनन् । विभिन्न उद्देश्य लिएका सञ्चालकहरू लघुवित्तमा देखिए । कोही छिटै धेरैभन्दा धेरै मुनाफा कमाउनुपर्छ भन्ने, कोही राजनीतिक रूपमा लोकप्रिय हुने प्रयास गरे, कोही सामाजिक रूपमा विपन्नको सेवा गर्नुपर्छ भनेर लागे । सबै जना एउटै फिल्डमा प्रतिस्पर्धा गर्दाको राम्रोको नराम्रो भनी छुट्ट्याउन विपन्नलाई गारो भयो । कर्मचारी आचरणले पनि संस्थागत सुशासनमा धेरै अप्ठ्याराहरू सृजना गर्न पुग्यो ।
दण्डहीनताको अवस्था : नियामक निकायलले स्पष्ट नीतिको तर्जुमा गर्न नसक्नु, गल्ती गर्नेलाई राजनीतिक प्रभावमा कारबाही गर्न नसक्नु, जसले जे सक्यो त्यही गर्दा हुन्छ भन्ने मान्यताले व्यापकता पायो । लघुवित्त संस्थामा ताला लगाउने, कर्मचारी पिट्ने थर्काउने, लिएको कर्जा नतिर्ने, अरूलाई पनि ऋण नतिर्न आह्वान गर्ने, तिर्नेलाई कारबाही गर्नेजस्ता गलत क्रियाकलापमा सरकारी निकायले बेवास्ता गरेकाले दण्डहीनताको अवस्था सृजना भयो । निष्कर्षमा महामारीपछि समाजमा गरीबी, वेरोजगारीको वृद्धिले धेरै व्यापारव्यवसाय, उद्योेगधन्दा बन्द भए । सामाजिक परिवेशमा आएको उथलपुथलले समाजका गहना अनुशासन, एकता, विश्वास, आपसी सहयोेग हराएर गयो । फलस्वरूप समाजमा अन्य अपराधका साथसाथै वित्तीय अपराधमा समेत व्यापकता आयो । समाजसँगै समाजमा रहेका संस्थाहरू पनि नीतिनियम र उद्देश्य बमोजिम सञ्चालन हुन छोडे ।
वित्तीय अपराध समस्या समाधान गर्न समाजमा रहेका नागरिक, संस्था, राजनीतिक दल र सरकार सबैैले विद्यमान संविधान, कानून, नीतिनियमको पूर्णरूपमा पालना गर्नुपर्छ । आफ्नो अधिकार माग्दा अरूकोे अधिकारलाई बेवास्ता गर्नु हुँदैन । सबैले आआफ्नो अधिकारको उपभोग गर्न आफ्नो कर्तव्यको पालना पनि अनिवार्य रूपमा गरिनुपर्छ । समाज, संस्था, दल, र सरकार सबै आआफ्नो उद्देश्यमा विचलन नभई कामकारोबार सञ्चालन गर्नुपर्छ । देशमा विद्यमान नीतिनियम ऐनकानूनविपरीत कार्य गर्ने जोकोहीलाई कानूनी कठघरामा ल्याएर दण्डसजाय गरिनुपर्छ । समाजमा दण्डहीनताको अन्त्य गरेर वित्तीय अनुशासन कायम गर्न सकेमा मात्रै गरीबी घटाउन सकिन्छ, गरीबी घटाउन सकेमा मात्रै आर्थिक सम्मृद्धि प्राप्त गर्न सकिन्छ ।
लेखक लघुवित्त र लघुबीमा क्षेत्रमा अनुभवप्राप्त अधिवक्ता एवं मेलमिलापकर्ता हुन् ।