काठमाडौं। न्यायसंगत जलवायु वित्तको माग गर्दै शनिवार सडक दवाव र्याली सम्पन्न भएको छ । र्यालीमा जलवायु कार्यकर्ता, नागरिक समाजका प्रतिनिधि, सीमान्तकृत समुदाय, अग्रपंक्तिका समुदाय, वन उपभोक्ता समूह, आदिवासी समूह, अपांगता भएका व्यक्तिहरू, ट्रेड युनियन, साना किसान लगायत संलग्न थिए ।
अजरबैजानको बाकुमा चलिरहेको कोप–२९ को सन्दर्भ पारेर दवाव र्याली आयोजना गरिएको बताइएको छ । र्यालीमा तत्काल जलवायु कार्यको बढ्दो लागतलाई सम्बोधन गर्न माग गरिएको थियो । दबाब प्रदर्शनले ग्लोबल नर्थका सरकारलाई उनीहरूको ऐतिहासिक जलवायु ऋण तिर्न र ग्लोबल साउथप्रति उनीहरूको वित्तीय दायित्व पूरा गर्न आह्वान गरेको बताइएको छ । काठमाडौंको भृकुटीमण्डपबाट शुरू भएको र्याली रत्नपार्कको शान्ति बाटिकासम्म पुगेर सम्पन्न भएको थियो । त्यस्तै ऐक्यवद्धताका लागि चितवान, धल्केबर (मिथिला धनुषा), विराटनगर, जनकपुर, पोखरा, लामजुङ, हेटौंडा, बुटवल, धनगढी, धुलिखेल, धादिङ, झापा, सप्तरी, सुर्खेत र नेपालगञ्जमा एकसाथ पदयात्रा गरिएको बताइएको छ ।
विश्वले जलवायु संकटको बढ्दो गम्भीर प्रभावको सामना गरिरहेको बेला प्रतिबद्धतामा मात्र सीमित भई कार्यान्वयनमा ढिलाइ भएको अभियन्ताहरूले गुनासो गरे । अभियन्ताले ग्लोबल नर्थले यो अवस्थामा विशेष कदम चाल्नुपर्ने र जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावितलाई सहयोग गर्न आवश्यक वित्तीय प्रतिबद्धता गर्नुपर्ने बताए ।
सो अवसरमा अभियन्ताहरूले ग्लोबल नर्थका नेताहरूलाई जलवायु ऋण तिर्न आह्वान गरिएको बताए । ‘यो एक न्यायपूर्ण, दिगो भविष्यका लागि क्षतिपूर्ति हो, जसले उनीहरूको विगतका कार्य र निष्क्रियताको परिणामस्वरूप भएका घोर असमानता र अन्यायहरूलाई सम्बोधन गर्छ,’ अभियन्ताले भने ।
जलवायु संकट सबैका लागि समान चुनौती नभएको उनीहरूको भनाइ छ । विश्वव्यापी रूपमा बढ्दै गएको जलवायु संकटले नेपालसहितका देशले कठोर प्रभावको सामना गरिरहेको बताइएको छ । वल्र्डस युथ फर क्लाइमेट जस्टिसका विख्यात खत्रीले नेपालका १६ शहरमा जलवायु सङ्कटबाट सबैभन्दा बढी प्रभावितको न्यायको माग गर्दै उभिएको बताए । ‘हामीलाई अरूको अपराधका लागि सजाय दिइन्छ र ग्लोबल नर्थको दोहोरो मापदण्ड रोक्नुपर्छ,’ उनले भने, ‘ग्लोबल नर्थले आफ्नो जलवायु वित्तीय दायित्व पूरा गर्नुपर्दछ ।’
अर्का अभियन्ता आभुषण खड्काले जलवायु सङ्कटसँग लड्न जलवायु वित्तको पर्याप्त, निष्पक्ष र पारदर्शी वितरणमार्फत जलवायु न्यायलाई प्राथमिकता दिनुपर्ने बताए । युथ इनिसिएटिभकी अलिशा ढुंगानाले भविष्यको सुरक्षाका लागि जलवायु वित्त महत्त्वपूर्ण रहेको बताइन् । ‘कमजोर समुदायलाई सहयोग गर्न र जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्न तत्काल लगानी चाहिन्छ, विश्व नेताहरूले दिगो र लचिलो संसार सृजना गर्न जलवायु कार्यका लागि कोषलाई प्राथमिकता दिनुपर्दछ,’ उनले भनिन् । नेपाली युथ फर क्लाइमेट एक्सनका झरना गिरीले नेपाल जस्ता देशको अस्तित्व र भविष्यका लागि जलवायु वित्तमा पहुँच आवश्यक रहेको बताइन् ।