नेपालमा उत्पादित कफीको माग अन्तरराष्ट्रिय बजारमा राम्रै रहे पनि उत्पादन बढाउन नसक्दा यसको आयात बढिरहेको छ । पछिल्लो ८ वर्षको तथ्यांक हेर्दा यसको उत्पादन उतारचढावपूर्ण देखिन्छ भने आयातको आँकडाचाहिँ प्रत्येक वर्ष बढ्दो छ । यसले नेपालले कफी खेतीको सम्भावना उपयोग गर्न नसकेको देखाउँछ ।
मुलुकभित्र कफी उत्पादनको सम्भावना उच्च देखिन्छ । एनलाइसिस अफ ह्याबिट्याट सुइट्याबिलिटी अफ कफी इन नेपाल २०१८ को एक अध्ययन प्रतिवेदनले नेपालका ६२ जिल्लाका झन्डै १२ लाख हेक्टर जमीनमा कफी खेतीको सम्भावना देखाएको छ । त्यस्तै राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको एक अध्ययनले पनि ८ सयदेखि १६ सय मीटरसम्म उचाइ भएका सबै स्थानमा कफी खेतीको सम्भावना देखाएको छ । तर, कफी खेती मात्रै गरेर टिक्न सकिने अवस्था नभएकाले यो मुख्य खेती नभएर सहायक खेती बनेको छ जसले गर्दा प्रचुर मात्रामा कफी उत्पादन हुन सकेको छैन ।
किसानलाई लगानी, बजारीकरणलगायत समस्यामा सरकारले इमानदारीपूर्वक सहयोग गर्यो भने नेपालमा कफी उत्पादनमा वृद्धि भई निर्यात पनि बढ्छ । यस्ता उत्पादन बढाउँदै जाँदा किसानको पनि आम्दानी बढ्छ ।
कफी निर्यात गर्ने राष्ट्रहरूमा नेपाल १०९औं ठूलो मुलुक मानिन्छ भने आयात गर्ने मुलुकमा १५२औं ठूलो देश मानिन्छ । नेपालबाट जर्मनी, स्वीटजरल्यान्ड, जापान, अस्टे«ेलिया आदि मुलुकमा कफी निर्यात हुन्छ भने नेपालले भारत, मलेशिया, थाइल्यान्ड, इटली आदि देशबाट कफी आयात गर्छ । नेपालमा मुख्यतया अरेबिका जातको कफी उत्पादन हुन्छ । यो अन्य प्रजातिको कफीभन्दा उच्च गुणस्तरको मानिन्छ । नेपालको हावापानी कफी खेतीका लागि उपयुक्त छ । त्यसमाथि पनि यहाँको भिन्न हावापानीले गर्दा नेपाली कफीमा विशिष्ट गुण र बास्ना भएको कफी पारखीको भनाइ पाइन्छ । अग्र्यानिक भएकाले पनि नेपाली कफीको माग उच्च रहेको छ । कतिपय देशको दाँजोमा नेपाली कफीले उच्च मूल्य पाएको समेत बताइन्छ । पर्याप्त मात्रामा उत्पादन भए यो विदेशी मुद्रा आर्जनको राम्रो माध्यम बन्न सक्छ ।
कफीखेतीलाई व्यावसायिक बनाउने हो भने ठूलो परिमाणमा यसको खेती गर्ने वातावरण सरकारले बनाइदिनुपर्छ । नेपालको कफी उत्पादन साना किसानले गरिरहेका छन् । यसमा ठूला व्यावसायिक घरानाले लगानी गर्नु आवश्यक छ । त्यसो त नेपालमा बाँझो जमीनमा पनि कफीखेती गर्न सकिन्छ । त्यस्तै सामुदायिक वनभित्रै खेती गर्ने प्रशस्तै सम्भावना छ । यी सबै सम्भावना हुँदाहुँदै पनि कफीको उत्पादनमा अपेक्षित वृद्धि नहुँदा केही न केही समस्या छ भन्ने कुरा सरकारी निकायमा बस्नेहरूले बुझ्नुपर्छ । कफी नगदे बाली भएकाले यसबाट पैसा कमाउन सकिन्छ, यति मात्र नभई विदेशमा कफी बेचेर वैदेशिक मुद्रा आर्जन गर्न सकिन्छ । अर्कोतर्फ नेपालमा कफीको उत्पादनमात्र होइन उत्पादकत्व पनि एकदमै कम छ । भारतमा प्रतिहेक्टर ९ सय किलोग्रामभन्दा बढी उत्पादकत्व रहेकामा नेपालको उत्पादकत्व १८९ किलोग्राम मात्रै छ । त्यसैले एकातिर उत्पादन बढाउन आवश्यक छ भने अर्कातिर उत्पादकत्व बढाउने चुनौती पनि छ ।
साना किसानले उत्पादन गरेका कफीको दाना विक्री नभएर किसानहरू चिन्तामा परेको समाचार पनि बेलाबखतमा आउने गरेको छ । अर्थात् नेपालमा कफी विक्री गर्न त्यति सजिलो छैन । कफी प्रशोधन गर्न पर्याप्त तालीम दिने हो भने किसानले बढी लाभ लिन सक्छन् । सरकारले कफीको बजार खोजीमा सहयोग गर्ने हो र सहज प्रशोधन तथा बजार उपलब्ध भयो भने किसानहरूले व्यापक मात्रामा कफी खेती गर्न सक्छन् । एकातिर किसानलाई कफीखेतीको विस्तारमा उत्प्रेरित गर्न जरुरी छ भने अर्कोतर्फ सरकारले कफीखेतीको क्रममा आइपर्ने विभिन्न समस्याको समाधान गर्न पहलकदमी लिनुपर्छ । किसानलाई लगानी, बजारीकरणलगायत समस्यामा सरकारले इमानदारीपूर्वक सहयोग गर्यो भने नेपालमा कफी उत्पादनमा वृद्धि भई निर्यात पनि बढ्छ । यस्ता उत्पादन बढाउँदै जाँदा किसानको पनि आम्दानी बढ्छ । अहिले कफी तथा चिया विकास बोर्डले कफी खेती र निर्यातका लागि काम गरिरहेको छ तर यो पर्याप्त छैन ।